logo
२०८१ बैशाख १३ बिहीवार



एक सय घण्टाको ‘रिले पेन्टिङ’ सुरु

कला |


एक सय घण्टाको ‘रिले पेन्टिङ’ सुरु


शिवा तामाङ
काठमाडौँ, कात्तिक २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र बनाएर एकसय घण्टासम्मको ‘रिले पेन्टिङ’ सुरु भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय जलरङ्ग सोसाइटी–नेपाल च्याप्टरद्वारा आइतबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सो प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले मन्त्री गुरुङको मुहारचित्र बनाउनुभएको हो ।
मन्त्री गुरुङले एकसय घण्टासम्म रिले कला डेमोष्ट्रेसन गरिने सो कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाली कलाले नेपाललाई विश्मै चिनाएको बताउनुभयो ।  उहाँले नेपाली कला संस्कृतिको उन्नयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि समन्वय गर्न तत्पर रहेको पनि बताउनुभयो ।
नेपाली कलाकारले एकसय घण्टासम्म प्रविधिको सहयोगमा भर्चुअल प्रत्यक्ष प्रसारणसहित जलरङ्ग प्रयोग गरी चित्र बनाएर विश्व रेकर्ड राख्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन सत्रमा उहाँको मुहारचित्र बनाइएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले विश्व कोरोनाको महामारीको चपेटामा परेको बेला धेरै जना भेला हुन नहुने परिस्थितिलाई प्रविधिको सहयोगमा आयोजना गरिएको यस प्रत्यक्ष कला कार्यशाला अवस्था अनुसार चल्न सकिने उदाहरणीय कार्यक्रम हो भन्नुभयो ।
त्यसैगरी प्रतिष्ठानका प्राज्ञ रमेश खनालले यस ऐतिहासिक कार्यक्रममा आफु पनि सरिक हुने जानकारी दिनुहुँदै चित्रकलाको क्षेत्रको नौलो प्रयोगप्रति उत्साहित रहेको बताउनुभयो ।
सोसाइटीका अध्यक्ष एनबी गुरुङले कोरोना महामारीको अवस्थामा नेपाली कलाक्षेत्रमै पहिलो प्रयोगका रुपमा आयोजित प्रत्यक्ष कला कार्यशालामा देशभरका ७३ जना कलाकारले आ–आफ्नो तोकिएको समयमा जलरङ्गको माध्यमबाट चित्रकलाको सृजना गर्नुहुने जानकारी दिनुभयो ।
सोसाइटीका सचिव एवं नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कलाक्षेत्रलाई राज्यबाट उपेक्षा गरिएको ठानिए पनि सूचना तथा सञ्चारमन्त्रीले पोट्रेट बनाउन समय दिएर कलाकारको उत्साह जनाउनुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै यस कार्यक्रमको गरिमालाई बुझेर कलाकारले आ–आफ्नो प्रतिभालाई प्रत्यक्ष प्रस्तुत गर्न उहाँले आव्हान गर्नुभयो ।
यस कार्यक्रमको पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति कान्छाकुमार कर्माचार्य, पोखराका कलाकार रमेश श्रेष्ठ, सरोजा खत्री, बुद्धि गुरुङलगायतका कलाकारले आफू रहेकै स्थानबाट प्रत्यक्ष चित्रकला सृजना गर्नुभएको छ ।
प्रत्यक्ष कला कार्यशाला आइतवारदेखि चार दिन, चार रात र चार घण्टासम्म जारी रहनेछ भने कार्यक्रममा रुचि राख्ने सबैले भर्चुअल प्रत्यक्ष हेर्न सक्नुहुनेछ । यस कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?