logo
२०७७ कार्तिक ६ बिहीवार

सर्जकको मानवीयकरण

कला |


2020-10-17-24900


 शिवहरि ज्ञवाली

सुनकोसीमा
पहिले पानी बग्थ्यो
अहिले आँसु बग्छ
तर बजारलाई
फरक पर्नेवाला केही छैन
किनभने पुँजीवादमा
आँसुको तस्बिर पनि बिक्री हुन्छ
–भूपाल राई
साहित्यलाई बजारले थिचेपछि कविले
भनेझँै दलितको आँसु बजारमा बिक्री हुने वस्तुका रूपमा फिँजाइन्छ । दलित समुदाय सदियौँदेखिको असमानता र विभेदविरुद्ध अझसम्म लड्दा पनि पुँजीवाद किन थाकेन ? उनीहरूलाई निरन्तर सङ्घर्षका लागि केले प्रेरित गरिरहेको छ ? प्रेमको सम्मानका लागि दलित किन बलिदानी दिन तयार छ ? पुँजीवादका लागि यी विषय कुनै विषय होइनन् । बरु सीमान्तीकृत समुदायको मुद्दालाई जब रोमान्टिसाइज गरिन्छ बजारका लागि यो बिकाउ बन्छ । अहिले साहित्यको ‘दक्षिणी बाटो’ गरिब र दलितहरूको आँसु कचौरा जम्मा गरेर पिउन तयार छ ।
नेपाली साहित्यको प्रगतिवादी धाराको मूल सैद्धान्तिक आधार माक्र्सवादी सौन्दर्यशास्त्रलाई मानक मानेर दलित साहित्य लेख्नुपर्छ भन्ने छ । यद्यपि यस धारले पनि जात व्यवस्था र यसले सिर्जना गरेका सौन्दर्य मूल्यहरूलाई उपेक्षा गर्छ । प्रगतिशील साहित्य लेखनका संस्थागत संरचना मात्र होइन माक्र्सवादी वैचारिक आधारका राजनीतिक तथा साङ्गठनिक संरचनाहरू समेत गैरदलितहरूको पकडमा रहिरहे । यसले त्यस्ता संरचनाहरूबाट अभिप्रेरित दलित चिन्तकहरूलाई समेत प्रभाव पारिरह्यो । वर्ग र जात व्यवस्थाविरोधी वैचारिक दृष्टिकोणको अभावमा प्रगतिशील साहित्यकारहरू पनि बारम्बार दलित साहित्य लेखनका सन्दर्भमा चुकिरहे ।
कुनै पनि सर्जकको एउटै सिर्जनाबाट उसको मूल्याङ्कन सम्भव छैन र गर्नु पनि हुँदैन । तर यहाँ हामीले दलित साहित्यमा पनि मानक मानिएका गैरदलित साहित्यकारहरूको सिर्जनालाई नमुनाका रूपमा लिन सक्छौँ । दलित साहित्य लेखनको इतिहास कोट्याउँदा योगमायाको नाम अग्रपङ्क्तिमा आउँछ । उनको कृति ‘योगवाणी’मा एउटा श्लोक छ “कुल ता हाम्रो बह्मण हो छैनौ कुलैमा, जात ता सत्य छैन राख चुलैमा ।” यो
पढ्दा तत्कालीन समयमा कविताले बोकेको वैचारिक पक्ष निकै सशक्त लाग्छ । तर सोही कविताको अर्को श्लोक छ, “मेरो जात ता शङ्करजीमा शरण पर्न गो, तìव खोलौँ मर्जी छैन बुझ्न सक्ला को ।” अब यसलाई अघिल्लो श्लोकसँग तुलनात्मक रूपमा हे¥यो भने के यो कविता दलित समुदायको आँखाबाट लेखिएको हो ? के अहिले पनि हामी हिन्दु धर्मिक परम्पराभित्रै रहेर दलित समस्याको समाधान सम्भव देख्छौँ ? भन्ने प्रश्नहरू उठ्छन् ।
‘नैकापे सर्कीनी’ । प्रगतिशील चेत र लेखनको एक मानक मानिएकी पारिजातको यो कथा तत्कालीन समयमा क्रान्तिकारी मान्न सकिन्छ । दलित महिलाका आँखाबाट हेर्ने हो भने यस कथाको वैचारिक पक्षमाथि धेरै प्रश्न उठ्छन् । ‘थुपारिएको बालुवाको खात जस्तै, रसहीन र रुखो’ भनी गरिएको दलित महिलाको चित्रणले कुनै पनि हालतमा दलित महिलाको श्रम र अन्तरनिहित क्षमताको सम्मान गर्दैन । तर नैकापे सर्कीनीले पितृसत्ताविरुद्ध गरेको सङ्घर्षलाई कथाको महìवपूर्ण वैचारिक पक्षका रूपमा लिनेहरूको पनि कमी छैन ।
लक्ष्मीप्रसाद देवकोटाको मुनामदनसम्म आउँदा “मानिस ठूदो दिलले हुन्छ जातले हुँदैन”ले नेपाली समाजमा पारेको प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन । तर यसले बोकेको भावार्थ हो “जात हुँदैन” । सुन्दा जात छैन भन्ने कुरा जति प्रिय लाग्छ, दिनदिनै जातका आधारमा अपमान भोग्न बाध्य पारिएकाहरूका आँखाबाट हेर्दा हामी बेग्लै देख्छौँ । जब अवसर र शोषणको शृङ्खला सदियौँदेखि जातकै आधारमा भइरहेको छ भने जात छैन भन्ने भाष्यले कस्तो असर पार्छ ? पक्कै पनि यस्तो भाष्यले राज्य प्रणालीमा जातका आधारमा केही व्यक्तिले पाएको लाभांशलाई नजरअन्दाज गर्छ ।
माथि उठाइएका प्रश्नहरू यतिमै सीमित छैनन् । नेपाली साहित्यमा एक से एक प्रगतिशील गैरदलित लेखकहरूका साहित्य लेखन दलित समुदायका आँखाबाट लेखिएको छैन भन्ने अर्को प्रमाण हो त्यस्ता कृतिभित्रका पात्र विधान । त्यस्ता कृतिहरूबीचको एउटै समानता दलित पात्रको नामको अपमानीकरण हो । दलित सवालमा लेखिएका कथामध्ये अब्बल मानिएका यज्ञप्रसाद आचार्यको ‘चतुरे सार्की’, देवमणि ढकालको ‘सार्की’, ऋषिराज बरालको ‘बल्ल थाहा पायो सुन्दरे कमरेडले’, विजय चालिसेको, ‘काले गाइने’, रमेश विकलको ‘वीरेकी आमा’, विवश वस्तीको ‘पिपिरे दमाई’, शरद पौडेलको उपन्यास ‘लिखे’, केपी ढकालको ‘जुठेको नयाँ घर’ । प्रश्न यहीँ उठ्छ, दलित समुदायको साहित्यमा ‘एकारान्त’ पात्र विधानबाट दलित समुदायको पाठकले ती पात्रहरूसँग अन्तक्र्रिया गर्दा ‘आत्मसम्मान’ कायम भएको अनुभूति गर्न सक्छ ? निश्चय नै सक्दैन ।
दलित समुदायलाई साहित्यमा किन अपमानित सन्दर्भमा उभ्याइन्छ ? यो बुझ्न नेपाली समाजको बनोटलाई नियाल्नुपर्ने हुन्छ । दलित पात्रलाई साहित्यमा ल्याउँदा पनि निरीह पात्रका रूपमा उभ्याउनुपर्छ भन्ने चेतना सर्जकमा कसरी विकास भयो ? यसको सीधा सम्बन्ध जात व्यवस्थासँग जोडिन्छ । पिँधको मान्छे पनि महान् होलान्, उत्तम काम गरेका होलान् भनेर उच्च जातिका साहित्यकारले सोच्दै सोचेनन्, किनकि साहित्यमा दलितलाई निरीह रूपमा उभ्याउँदा यसले जात व्यवस्थालाई नै टेवा पु¥याउने हुन्छ । यद्यपि दलितका बारेमा साहित्य लेख्न उनीहरूलाई बजारले समेत निर्देशित गरिरहेको छ । सीमान्तीकृत समुदायको सहानुभूतिसँग उनीहरूको फाइदा जोडिएको छ । जब बजारमा साहित्यका रूपमा त्यो सहानुभूति पुग्छ त्यसको उपभोक्ता पनि बहुसङ्ख्यक सीमान्तीकृत समुदायहरूको तप्का हुन पुग्छ ।
यस्तो साहित्यले व्यक्ति वा समुदायको पहिचानलाई निषेध गर्ने र यस्तो समुदायमाथि घृणा सिर्जना गर्छ । प्रश्न उठ्छ, के गैरदलित साहित्यकार दलित विरोधी हुन् ? यो प्रश्न मुख्य प्रश्न होइन । प्रश्न के हो भने कुनै पनि समुदायका विषयमा यथार्थको नाममा लेखिएका गलत तथ्य र भाष्यहरूले कालान्तरमा ‘शक्ति–सम्भ्रान्त’ र ‘सर्वसाधारण’ बीचको तीव्रतर आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक वर्ग विभाजनमा मद्दत पु¥याउँछ कि पु¥याउँदैन भन्ने हो । किनाराकृत समुदायको भोगाइ आफैमा संरचनागत विभेदको जरो पत्ता लगाउने शक्तिशाली माध्यम हुन सक्छ । उनीहरूको जीवनका कथाहरूले समाज र विश्वबारे उनीहरूको भोगाइलाई पुस्तौँसम्म सञ्चार गर्ने माध्यम बन्न सक्छन् । व्यक्तिगत कथा जागरुकताको पहिलो स्रोत पनि हो । तर उनीहरूको कथा उनीहरूकै आँखाबाट लेखिएको छ कि कुनै कथाकारका आँखाबाट ?
प्रतिरोधको सुरुवात
दलित साहित्यमा गैरदलित सहभागिता मात्र होइन दलित सहभागिताको पनि मूल्याङ्कन हुनै पर्छ । यसका लागि मुख्य प्रश्न साहित्यकार र उसको साहित्यलाई कसरी हेर्ने ? भन्ने दृष्टिकोण हो । रोलान्ड बार्थेजले जस्तै ‘सर्जक मृत छ’ भनेर सिर्जनाको अस्तित्व सर्जकबाट स्वतन्त्र हुन्छ भन्ने मान्यता राख्ने बीसौँ शताब्दीको पश्चिमा साहित्यको ‘नयाँ आलोचना’ अभियानले जस्तै तर्क राख्ने ? अथवा ‘नयाँ ऐतिहासिकतावाद’बाट प्रशिक्षित समालोचकहरूले भनेजस्तै “कलालाई इतिहास, सन्दर्भ र सर्जकबाट छुटाएर हेर्न मिल्दैन” भन्ने ?
साहित्य वा कलालाई पनि सर्जकको सामाजिक, आर्थिक, राजनीतिक अवयवहरूबाट टाढा राखेर हेर्न मिल्दैन । त्यसो भए दलित सवाल के दलितको मात्रै वा महिलाको सवाल महिलाको मात्रै हो त ? भन्ने प्रश्न उठ्छ । यसको जबाफ त्यति सहज छैन । दलितले लेख्दैमा दलित साहित्य हुने पनि होइन । त्यसका लागि सर्जकको सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशले पनि प्रभावित पार्छ ।
दलित समुदायको पछिल्लो पुस्ता कलालाई कलाको रूपमा मात्र स्वीकार्न तयार छैन । करिब दुई वर्षअघि बादी समुदायमा आधारित रहेर लेखिएको भनिएको उपन्यास ‘नथिया’ र ‘ऐलानी’ एवं चलचित्र ‘पण्डितबाजेको लौरी’ विरुद्ध बादी समुदायका युवा सर्वोच्च अदालत पुगे । बादी समुदायको आत्मसम्मानमा उल्लेखित कृतिहरूले ठेस पु¥याएको ठहर गर्दै बादी युवा अदालत पुगेको यो घटना साहित्यमार्फत दलित समुदायमाथि सामाजिक नियन्त्रणको ब्राह्मणवादी प्रयासविरुद्ध सशक्त प्रतिकार थियो । र थियो, साहित्यमार्फत सम्मानको खोजी ।
यस घटनाले सिर्जना गरेको बहसमा चिनिएका लेखक र बौद्धिकहरूको मौनता अपेक्षित थिएन । तर अदालतको १५ फागुन, २०७५ को निर्देशनात्मक आदेशपछि एकाएक प्रगतिशील लेखक, प्रकाशक र निर्माताहरूको एक समूहले कला र लेखकीय स्वतन्त्रता कुण्ठित पार्ने काम भएको जिकिर मात्र गरेन बादी अभियन्ताहरूलाई एनजीओको पैसामा चलखेल गरेको आरोपसमेत लगाए । यस विषयमा अदालतको कारण देखाऊ आदेशको प्रतिवादमा नथियाका प्रकाशकले तर्क गरेका छन्, “साहित्य लेखन तथा प्रकाशन, प्रसारणलाई प्रतिबन्ध लगाउने गरी नेपालको संविधान २०७२ ले कहीँ कतै व्यवस्था गरेको छैन ।” प्रकाशकको दाबी सही छ, किनकि नेपालको संविधानले दलितमाथिको साहित्यिक अपमानलाई चिन्दैन । उनकै तर्कलाई साथ दिँदै लेखक सरस्वती प्रतीक्षाले “उपन्यायमा प्रयुक्त शब्द बदेनी, रन्डी, वेश्याजस्ता शब्दहरू बादी समुदायलाई अपमानित गर्न होइन यथार्थ चित्रण गर्न प्रयोग गरिएको हो” भनेकी छन् । ‘ऐलानी’का लेखक विवेक ओझाले पनि “...उपन्यासमा प्रयोग भएका शब्दहरू... बदेनी, पातर, वेश्या आदि... परिवेश र पात्रहरूले यथार्थ समात्न बोलेका छन् ।” यो यथार्थ देखाउने नाममा निश्चित समुदायमाथिको साहित्यिक अमानवीकरणको निरन्तरताभन्दा अरू केही होइन ।
दलित महिलाहरूको यथार्थ चित्रणका नाममा उनीहरूको आत्मसम्मानको प्रश्नलाई दलित महिलाका आँखाबाट हेर्नु जरुरी छ कि छैन ? भन्ने प्रश्न उठ्छ । साहित्य र सत्ताको गठजोडले शक्तिहीन समुदायलाई
निरन्तर तिमी र तिम्रो समुदाय अझै पनि मूलधारमा आएको छैन भन्ने सन्देश दिन चाहन्छ । यसलाई सैद्धान्तीकरण गर्दै समता फाउन्डेसनले प्रकाशित गरेको ‘दलित सौन्दर्यबोध’ पुस्तकमा राजेन्द्र महर्जनले भनेका छन्, ‘कुनै पनि समाज र राज्य कुन वर्ण, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको प्रभुत्वभित्र रहेका छन् भन्ने तथ्य सौन्दर्यशास्त्रभित्र झल्किन्छ । दलित विषयका साहित्यमा पनि दलितलाई नै होच्याउने, उनीहरूका श्रम, सीप, कलालाई अपमानित गर्ने तथा उनीहरूका सङ्घर्ष र जिजीविषालाई भुत्ते बनाउने तथा सवर्ण सौन्दर्यशास्त्रको वर्चस्व रहेको तथ्य जगजाहेर नै छ ।’
दीर्घकालीन बाटो
पुलित्जर पुरस्कार विजेता लेखक इसावेल विल्करसनले गत जुलाईमा न्युयोर्क टाइम्समा एउटा लेख लेखिन् ‘अमेरिकाको स्थायी जात व्यवस्था’ । उनले संसारभर तीन किसिमका जात व्यवस्था विद्यमान भएको औँल्याएकी छन् । पहिलो, शताब्दीऔँदेखिको भारतीय जात व्यवस्था, दोस्रो जर्मनी नाजी सत्ताले लादेको बीभत्स, दुःखद् र क्रूर जात व्यवस्था र तेस्रो संयुक्त राज्य अमेरिकामा परिवर्तनशील, मौन र रङ्गमा आधारित जातीय पिरामिड । उनले यी तीनै किसिमका जात व्यवस्थाको विशेषता औँल्याउँदै भनेकी छन्, “तीनै प्रकृतिका जात व्यवस्था भुइँतहमा रहेका आम मानिसलाई भुइँतहमै राखिराख्न र उनीहरूमाथिको नीतिगत अमानवीय व्यवहारलाई जायज ठह¥याउन त्यस्ता मानिसलाई कलङ्कित बनाइराख्ने कार्यमा निर्भर थियो । यस्तो व्यवस्था प्रायः ईश्वरले पवित्र ग्रन्थ वा प्रकृतिको नियमअनुसार भएको भन्दै यसलाई न्यायसङ्गत भएको ठह¥याइन्छ । त्यसैले जात व्यवस्था सांस्कृतिक रूपमा पुस्तौँ–पुस्तासम्म स्थायी रह्यो ।’
विल्करसनको यस आलेखले कला, साहित्य र विश्व राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ । जात व्यवस्था अब भारतीय उपमाहाद्वीपको मात्र समस्या रहेन ।
त्यसैले दलित साहित्य अब विश्व साहित्यको एक विधा हो । यसका पाठक अब दक्षिण एसियाली हिन्दु समाजको एउटा तप्का मात्र होइनन् । त्यसैले नेपाली दलित साहित्यलाई नेपाली समाजको एक तप्काको साहित्यका रूपमा मत्र लिनु सर्वथा गलत छ । यो त संसारका आम मानिसका विशिष्ट क्षमताको सम्मान र सर्जक स्वयंले आफैलाई मानवीयकरण गर्ने प्रक्रिया हो । त्यसैले नेपाली साहित्यमा दलितको सवाललाई मूल्याङ्कन गर्दा यी दुई तथ्यलाई केन्द्रमा राख्नैपर्छ ।
जात व्यवस्थाले शारीरिक श्रम र श्रमिकको अपमान मात्र होइन मानसिक श्रममाथि समेत वर्चस्वशाली समुदायको एकाधिकार निश्चित गरिरहन्छ । यसले प्रकृतिसँग मानवीय अन्तक्र्रिया तथा शारीरिक श्रमसँग जोडिएका दलितका ज्ञान, सीप, कला, दक्षताको अवमूल्यन गर्छ र त्यस्ता दक्षतालाई साहित्य र कला मान्दैन । राज्य शक्ति, स्रोत र सत्तामाथिको यस्तो वर्चस्व नेपाली साहित्यको वर्तमान प्रतिबिम्ब पनि हो । यो विशेषतः ज्ञान उत्पादन, सौन्दर्य चेत र ज्ञानको लोकतन्त्रीकरणको प्रश्न हो । त्यसैले ज्ञानको लोकतन्त्रीकरणका लागि जात व्यवस्थाको अन्त्य पहिलो सर्त हो ।

(लेखक दलित तथा किनारीकृत समुदायको अधिकार अभियन्ता हुन् ।)

मधुपर्क असोज कात्तिक २०७७

 



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?