logo
२०७७ कार्तिक ६ बिहीवार

हाम्रो रगत पानी हो ?

कला |


2020-10-16-24830


सोना खटिक

खुसीको सीमा थिएन २०६६ साल वैशाख १ का दिन । त्यो दिन कपिलवस्तु जिल्लामै रेडियोबाट आवाज दिने पहिलो महिला बन्न सफल भएकी थिएँ । दिउँसोे १ बजे मैले थारू भाषाको समाचार पढेँ र कपिलवस्तु जिल्लालगायत आसपासका समुदायको रेडियो सेटमा महिला, मधेसी दलितको आवाज पुगेको थियो । त्यो आवाज प्रसारण गर्नेे जिल्लाकै प्रथम रेडियो स्टेसन थियो सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगाहर्ज । जातीय, सामाजिक, आर्थिक तथा शैक्षिक समस्याबाट ग्रसित भई म घरबाट निस्केकी थिएँ । प्रमाणित गरेकी थिएँ, मधेसी दलित छोरीले पनि केही गर्न सक्छन् । घरबाट निस्केको एक वर्ष बितिसक्दा पनि गाउँमा मेरो कुनै लतापाता थिएन । उक्त समयमा समाजको नजरमा पोइल गइसकेकी एक चरित्रहीन महिलाको दर्जा पाएकी थिएँ । त्यति बेला घरपरिवारको समेत साथ थिएन । वैशाख १ गते रेडियोमा बोल्दा आफूलाई सही सलामत रहेको साबित गर्न पाएकी थिएँ । त्यसकारण खुसीको सीमा थिएन । अर्को खुसी थियो, अब मेरो जीवन पनि उज्यालो हुनेछ । जीवनमा केही गर्न सक्नेछु । म पनि एक रोजगारी छोरी बन्नेछु । म, मेरो परिवार र समुदायले भोगेको उत्पीडनका लागि केही गर्न सक्ने आस पलाएको थियो । मेरो कारण मजस्ता धेरै छोरीहरूको बाटो खुलेको छ भनेर खुसी लागेको थियो । घरबाट भागेको पीडाभन्दा ठूलो खुसी थियो रेडियोमा काम गर्न पाउँदा । सुरुमा म रेडियोमा बोल्दा सबैले मलाई हेर्न आउँथे । मेरो बारे म र स्टेसनका अरू कर्मचारीमार्फत जानकारी लिन सुरु भयो । कहिले फोनमा त कहिले प्रत्यक्ष भेटेर । केहीले खटिकलाई थारू भाषाको समाचार किन पढ्न दिएको भनेर प्रश्न तेस्र्याए । यी प्रश्नको जबाफ कहिले आफैले दिएँ त कहिले रेडियोका अध्यक्ष र स्टेसन म्यानेजर लगायत अरू कर्मचारीले दिए ।
मलाई हेर्न पनि समुदायका मानिसहरू कहिले
रेडियोमै आउँथेँ । समुदायको आवाज लिन जाँदा ठूलो
सङ्ख्यामा मानिसको भिड लाग्थ्यो । भिड लाग्नुमा धेरै रहस्य थिए । यतिका वर्षसम्म जिल्लामा रेडियो नेपाललगायत अरू रेडियो सुनिएका थिए । तर ती नेपाली भाषा बुझ्नेहरूको पहुँचमा मात्रै थियो । रेडियोले आफूले बुझ्ने भाषामा नबोल्ने हुँदा समुदायलाई रेडियो, टीभीको बारेमा त्यति चासो थिएन । रेडियो नेपाललगायत अरू रेडियो जिल्लामा रहेका निजामती कर्मचारी, पहाडी मूलका मानिस र राजनीतिमा लागेका केही पुरुष पात्रले मात्रै रेडियो सुन्ने गरेका थिए । सूचनामा उनीहरूको मात्र पहुँच थियो । बाँकी नागरिकलाई देशमा के हँुदैछ, केही वास्ता थिएन । राज्यको कुरा नागरिकसँग र नागरिकको कुरा जनतासम्म पुग्न सकेको थिएन । यस्तो हुनुमा मुख्य कारण थियो, जिल्लामा रेडियो स्टेसन नहुनुभन्दा पनि यहाँका मानिसले बुझ्ने भाषामा प्रसारण थिएन ।
जिल्लामै पहिलो पटक २०६५ साल फागुन ८ गते बिहीबार राति ८ बजे अवधी भाषामा आफ्नो परीक्षणकालीन प्रसारण सुरु गरियो । उक्त दिन वरिपरिका मानिस खाना खान छाडेर रेडियो कसरी बजिरहेको छ भनी हेर्न आएका थिए । त्यति मात्र होइन कपिलवस्तु जिल्लालगायत भारतका केही बजारमा समेत रेडियो सेटको हाहाकार भएको थियो । बजारमा भएका सबै रेडियो सेट बिक्री भएर सेट पाउनै गाह्रो भएको थियो । करिब दुई महिनाको परीक्षण प्रसारणपछि २०६६ साल वैशाख १ देखि नियमित प्रसारण सुरु भयो । लगभग सबैको घरमा एक सेट रेडियो अनिवार्यजस्तो भएको थियो । रेडियो कपिलवस्तु जिल्लामै लोकप्रिय भयो । यससँगै मधेसी दलित महिलाको आवाज समाचारमार्फत सर्वसाधारणको घर घरमा पुगेको थियो । त्यसपछि दलितको आवाज भएकै कारण मलाई विवादमा पार्न थालियो । झन् मानिसमा कौतुहल सुरु भयो । कथित उपल्लो जातिका कानमा मेरो आवाज पनि अछुत हुन थाल्यो र त्यहाँबाट धपाउने प्रत्यक्ष तथा अप्रत्यक्ष दुष्प्रयास भए । मेरो जातको बारेमा सोधीखोजी हुन लाग्यो ।
रेडियोमा १ बजे बोल्ने केटी को हो ? कहाँकी हो ? खटिक कुन जात हो ? खटिक जाति पनि रेडियोमा बोल्ने ? कसरी रेडियोमा आई ? कति पढेकी छ ? किन आई ? किन काम गर्न दिएको लगायतका प्रश्न तेर्सिए । कहिले म बस्ने सम्पर्क कार्यालयको कोठाको साँचो जफत गरेर त कहिले म सुत्ने कोठामा तालाबन्दी गरेर । कहिले कार्यालयमै विभिन्न काम बिगारेको आरोप लगाएर । कहिले तिमी तल्लो जातले छोएकोे पानी खान हुँदैन भनेर । यस्तो जातिभेदी कार्य कार्यालयकै कथित उच्च जातका जिम्मेवार व्यक्तिले गरे भने कहिले मान्छे लगाएर गराए । कहिले महिलालाई उक्साएर महिलाद्वारा नै विभेद गर्न लगाए । समुदायमा आफू सम्मानित हुन नसक्दा मलाई चरित्रहीनको दर्जा दिएर, अपमानित गराएर आफू सम्मानित हुन खोजे । यहाँ कार्य अनुभव र मिहिनेत हेरिँदैन । तर जात, उमेर र समुदायका आधारमा मूल्याङ्कन हुँदो रहेछ । त्यसकारण म उनीहरूसँग सोध्न चाहन्छु, कसरी तिमीले गर्दा व्यवसाय, मैले गर्दा छोइछिटो ? तिम्रो काम ‘चोखो’ र मेरो काम ‘अछुत’ ?
मैले गाउँदा म गाइने, तिमीले गाउँदा तिमी गायक ? तिमी बोल्दा चरित्रवान् आरजे, म बोल्दा चरित्रहीन पेसेवर ?
मेरा यी प्रश्नमा के स्पष्ट गर्न चाहन्छु भने स्टेसनभित्र र समुदायमा मैले काम गर्न थालेको एक वर्ष नबित्दै मेरो जातको बारेमा सबैलाई जानकारी भयो । जातीय हिसाबले म दलित, सामुदायिक हिसाबले मधेसी महिला । मेरो बसाइ कपिलवस्तुको सदरमुकाम तौलिहवामा थियो । त्यहीँबाट आउने जाने गरेकी थिएँ । बाटो–बाटोमा मानिसलाई म दलित भएको थाहा भयो । केही मधेसी ब्राह्मण महिलाले मलाई मेरो जातबारे सोधे । अनि मैले निर्धक्कसाथ भनेँ, खटिक जाति, दलित समुदायकी हुँ । अनि त दुवै जनाले एकअर्काको मुखमा हेराहेर गरे ।
‘के भयो दिदी ? किन चुप लाग्नुभयो ?’ मैले सोधेँ । अनि दुईमध्ये युवती देखिने महिलाले भनिन्, तिम्रो तल्लो जातमा त छोरीलाई यसरी घरबाट बाहिर यस्तो काम गर्न दिन्छन् । ब्राह्मणका छोरी इज्जतदार हुन्छन् । यस्ता काम गर्न दिँदैनन् । रेडियोमा बोल्नु त राम्रो काम होइन । पढेलेखेकी केटी तिमीले इज्जत हुने काम गर्नुपर्छ । उनले यति के भनेकी थिइन्, सँगैकी अधबैँसे महिलाले भनिन्, ‘हामी त सुनेका छौँ, रेडियोमा काम गर्ने केटीहरूको चरित्र राम्रो हुँदैन । अनि यस्तो बाहिर हिँड्ने, केटा मान्छेसँग हिँड्ने काम त तल्लो जातिले मात्र गर्न सक्छन् । मेरो पनि एउटा छोरी छ । म त खानाबिना मर्छु तर यस्तो काम गर्न दिन्नँ ।’ सुरुमा त मैले यस्ता कुरामा कुनै प्रतिक्रिया जनाइनँ । म कार्यालय गएँ । पछि ती महिलाबारे बुझ्दै जाँदा अधबैँसे महिला स्वास्थ्य स्वयंसेविका र युवती चाहिँ सीएमए पास गरेका स्थानीय स्वास्थ्यकर्मीकी श्रीमती रहिछन् । उनको श्रीमान् र रेडियोका कर्मचारीको सम्बन्ध राम्रै रहेको थाहा पाएँ । त्यो सम्बन्ध मेरा लागि घातक भयो । एक दिन म बस्ने कार्यालयको सम्पर्क कक्षमै स्टाफ बैठक बसेका थियो । बैठक नसकिँदै मरो स्वास्थ्यमा अचानक समस्या आयो र केही समय बेहोस भएँ । त्यही सीएमए गरेको पुरुषलाई बोलाई मेरो उपचार गरियो । म होसमा आएँ । यो खबर ती दुई महिलाको कानमा प¥यो । मेरो पेट दुखाइ कम भएन अनि आफ्नी भाउजूसँगै अस्पतालमा औषधि गराउन गएँँ । अस्पताल जाँदा किड्नीमा पत्थरी रहेको औषधि खाँदै केही दिन विश्राम गर्न भनेर म कार्यालय नगई कोठामै बसेँ । दिदीको छोरीले खानपिनमा सहयोग गरिन् । म पाँच दिनको बिरामी बिदापछि कार्यालय गएँ । पुनः काममा लागेँ । बिरामी भए पनि बिदा सकिएको हुनाले गएँ । कोठाबाट निस्केपछि उनीहरूकै घरको बाटो भएर जाने हुँदा सबै जना बाहिर निस्केर मेरै मुख हेर्न थाले । जति जति रेडियो पुग्छु त्यति सबै जना मेरो अनुहार हेर्छन् । कानेखुसी गरेको देख्छु । कार्यालय पुग्दा पनि सबै जना मेरै अनुहार हेर्छन् । उनीहरू पनि अचम्भित थिए कि यति छिटो कार्यालय कसरी आइन् ? कति छिटो सन्चो
भयो ? म पनि अचम्भित थिएँ, सबै जना मेरै अनुहार किन हेर्छन् ? मैले के गरेकी छु ? मेरो अनुहारमा केही भएकोे छ कि ? के अपराध गरेकी रहेछु ? बाटो, बाटोका, गाउँका मानिस मेरै अनुहार हेर्थे । मसँगै काम गर्ने मेरो अर्को साथी पनि पहाडी मूलकी दलित थिइन् । उनी तिनै महिलाको टोलमा बस्थिन् । त्यसपछि मैले उनीसँग सोधेँ, किन सबै जना मेरै अनुहार हेर्छन् ? मलाई देख्दै अचम्म मान्छन् ? आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘सोना तपाईं–हामी दलितका छोरी यस समाजका वेश्या हौँ रे । हाम्रो कुनै इज्जत छैन रे । त्यही भएर आज रेडियोमा काम गर्न आएका रे । इज्जतदार भएको भए हामी घरमै बस्ने थियौँ रे । गर्भ तुहाउने थिएनौँ रे ।’
‘तिमीले यो गर्भ तुहाउने कुरा के गरेको ? कसले यस्तो गरेको छ ?’ मैले सोधेँ । उनले आँखाभरि आँसु भरेर भनिन्, ‘सोना, यो काम तपाईंले नै गर्नु भएको छ रे । तपाईंको किड्नीमा समस्या थिएन रे । तपाईंले त गर्भवती भएर गर्भपतन गराएको रे ।’ यति सुनेपछि मेरा आँखा बन्द भए । छतबाट खसेजस्तै भएँ । संसारबाट अहिले नै बिदा लिऊँ जस्तो भयो । न मर्न, न बाँच्न सक्ने अवस्थामा पुगेँ । पछि थाहा पाएँ, यस्तो दुष्प्रचार गर्ने अरू कोही नभएर तिनै दुई ब्राह्मण महिला, तिनका श्रीमान् र कार्यालयकै दुष्ट केही पुरुष थिए । प्रमाण त मेरो मेडिकल रिपोर्ट नै थियो । किड्नी दुखाइभन्दा पनि दुष्प्रचारको दुखाइ सुरु भयो । गाउँ, सामाज, टोल, छरछिमेक, रेडियोलगायत सबैतिर प्रचार भएको रहेछ । त्यसपछि फर्केर कोठामा आएँ । पेट भरिएको थियो चरित्रहत्याकोे विज्ञापनले । बेलुकी खाना पनि खाइनँ । कतिखेर त्यही कोठामा आत्महत्या गरूँझैँ मनमा आउँथ्यो । कतिखेर यस्तो प्रचार गर्नेसँग बदला लिऊँ भन्ने लाग्थ्यो । दिदीकी छोरीलाई सुताएर रातभरि रोएँ । आँखा बन्द भएनन् । उठेर राजीनामा लेखेँ । बिहान छोरीलाई खाना खुवाएर फेरि त्यही बाटो कार्यालय गएँ । आँसु रोकिएको थिएन । रुँदै स्टेसन म्यानेजरको हातमा राजीनामा पत्र दिएँ । अध्यक्ष र म्यानेजरले पढ्नुभयो । मेरै अगाडि च्यातेर डस्टबिनमा फाल्नुभयो । त्यसपछि मेरो मुटु ७२ त के दुई गुना चलेजस्तो भयो । बिरामी अनि खाना नखाएको शरीर थरथरी कामिरहेको थियो । अब के हुन्छ भनेर मनमा त्रास भयो । आँसु बगिरह्यो, शरीर कामिह्यो ।
‘सोना, यो राजीनामा कसका लागि हो ? यसबाट तिमीलाई के फाइदा छ ? कहाँ जान्छौ ? यति दिनसम्म मात्रै काम गर्ने इच्छा थियो ? तिमी घरबाट निस्कँदा भोगेको पीडा यति छिटै बिर्र्सियौ ? आमाबुवाले यति मिहिनेतसाथ पढाएको यतिका लागि हो ? किन हार खाएर जादै छौँ ?’ उहाँहरूको यस्तो प्रश्न सुनेपछि म झन् भक्कानिएँ । भनँे, ‘सर, मैले समाजमा कसरी मुख देखाउनु ? रेडियोमा काम गर्ने भनेको गरिब, दलित चरित्रहीन छोरीबेटी हुन् रे । त्यसैमाथि मलाई यस्तो दुष्प्रचार गरेर मर्नु न बच्नु गराएका छन् । म कसरी बाँच्नु ? म चरित्रयुक्त भएको कसरी साबित गरूँ ? के प्रमाण पेस गरूँ ? ककसलाई प्रमाण पेस गरूँ ? यति गर्नुभन्दा मर्नु वा यहाँबाट छाडेर जानु नै ठीक हो ।’ त्यसपछि तत्कालीन अध्यक्ष परशुराम यादव र म्यानेजर तुलसीराम यादवले भन्नुभयो, ‘हामी तिम्रो तर्फबाट यो पापी समाजसँग लड्न त सक्दैनौँ । हामी कतिसँग लड्न जानुँ ? क–कसको जिब्रो समात्न सक्छौँ ? तिमी चरित्रवान् भएको प्रमाण किन र कसलाई दिन्छौ ? कति जनालाई दिन्छौ ? के आवश्यकता छ ? को हुन् तिनीहरू ? तिमी चरित्रहीन कि चरित्रवान् भएको साबित गर्ने त तिम्रो सफलताले हो । तिम्रो कामले हो । छाडेर गए झन् तिमीमाथि आरोप ओइरन्छ । हामी अरू त केही गर्न सक्दैनौ तर तिम्रो सफलताका लागि सहयोग गर्न सक्छौँ । यो समाजिक भ्रम, दानवीय व्यहार तथा दृष्टिकोणलाई तिम्रो सफलताले चिर्नेछ । होइन भने तिमी मात्र होइन तिमीभन्दा तलका छोरीबेटीले पनि यही भोग्नुपर्ने हुन्छ । तिमी त समाजका आँखाको ज्योति हौ । तिमीलाई सहयोग र साथ हामी दिन्छौँ, फैसला तिमी नै गर ।’ यति सुनेपछि बाँच्ने र कामलाई निरन्तरता दिने साहस आयो । दानवहरूको गालामा सफलताको झापड हान्नेछु । मनमनै आफैसँग सम्झौता गरेँ ।
समाजका ती दानवलाई सम्झिन्छु जसले विगतमा घरमै आएर मेरा आमा–बुबा, दाइलाई कुटपिट गरे । धारामा पानी भर्न जाँदा कहिल्यै सुरुमा पालो आएन । पानी खाँदा गैरदलितले माथिबाट खसाल्ने र हामी हात थापेर खाने ! उनीहरूको घरमा जाँदा ढोकाभन्दा बाहिरै बस्नुपर्ने ! विभिन्न बहाना बनाएर हाम्रा परिवारलाई फसाएको, जालझेल रचेर दण्ड दिएको सम्झेँ । यस युद्धको मैदानमा उत्रिने अठोट गरेँ । रेडियोका अध्यक्ष र म्यानेजरले दिएको आँट, सहयोग र साथ पाएँ । उहाँहरू जस्ता सकारात्मक सोच भएका व्यक्तित्वको हौसला पाएँ र आज पत्रकारिताको १३ वर्षेको दौडमा छु ।
कति ठाउँमा म अनुहारले पनि विभेदमा परेकी छु । मेरो अनुहार कालो वर्णको । प्रायजसो म रेडियोको कामले सधँै समुदाय वा नेपालकै अरू ठाउँमा पनि हिँडिराख्नुपर्छ । धेरै जनासँग भेट हुन्छ । भेटमा परिचय हुन्छ । त्यसपछि सोध्छन्, ‘खटिक कुन जात हो ? म नेपाली हो अनि तिमी ?’ सुनेर रगत उम्लन्छ जब अनुहार र जातका आधारमा गैरनगारिक बनाइन्छ । रेडियो कार्यक्रमका लागि अन्तरवार्ता लिनुअघि फोनमा कुराकानी हुन्छ । परिचयको त्यति मतलव हुँदैन । तर उनीहरूले दिएको समयअनुसार जब कार्यालय स्थानमा प्रत्यक्ष भेट हुन्छ, अनि सुरु हुन्छ खटिकबारे एक घण्टे अन्तरवार्ता । कोही तपाईं भनेर सम्बोधन गर्छन् । कोही तिमी । आश्चर्य मान्दै ‘यो मधेसी दलित पनि यहाँसम्म पुगेको ! यो खटिक कस्तो जात हो ? म त भक्खर सुन्दै छु । यो जातको पेसा के हो ? अनि यो पेसा भएकी केटी कसरी मिडियामा ? अनि रेडियोमा कुन कार्यक्रम चलाउँछ्यौँ ? तिमी कसरी यहाँसम्म पुग्यौ ? तिम्रो जातले पनि यस्तो काम गर्छन् ! घर कहाँ हो ? कता पर्छ ? कोको घरमा छन् ? बस्ने कहाँ
हो ?’ लगायत नानाथरीका प्रश्नोत्तर झन्डै घण्टाभर चल्छ । म रेडियोको स्टेसन म्यानेजर हुँ भन्न बाध्य हुन्छु । यी सबै प्रश्नको जबाफ दिन्नँ । किनभने यस्तो पदमा अक्सर यिनकै जातका मान्छे हुन्छन् । यस्तो अनभिज्ञ बनेर जबाफ माग्ने अरू कोही हुँदैन । तिनै कथित उच्च जातका मान्छे । अनि कहिले आलटाल गरेर अहिले समय छैन, अर्को दिन आउनु भन्छन् ।
कोही फेरि आउँदा पनि पनि फेरि अर्को पटक आउनु भन्छन् । अनि फेरि आउन गाह्रो हुन्छ । भोलि नै कार्यक्रम हुन्छ । मलाई आजै अन्तरवार्ता दिएर सहयोग गरिदिनुप¥यो भनी जीहजुरी गरेपछि बल्ल अन्तरवार्ता दिन्छन् । कार्यक्रम बन्छ । बज्छ । छुटिने बेला भन्छन्, तपार्इं त कति सीधा, कति टाठी ! यसो आउनु होला, कहिलेकाहीँ सँगै बसेर चिया खाउँला, डिनर पनि खाउँला नि । हामीसँग पनि डिनर खाँदा के हुन्छ र ? भनेर प्रस्ताव गर्छन् । पहिला अनेक सोधेर हैरान पार्ने, अन्तरवार्ता समेत दिन नखोज्ने व्यक्तिले पछि डिनरको प्रस्ताव राखेको देख्दा के हामी महिला, दलित यसै दर्जाका हौँ ? डिनरमा जाने खालका हौँ ? भन्ने लाग्छ । अरू महिलालाई पनि यी प्रश्न र प्रस्ताव नआएको होइन होला । तर हामी मधेसी, महिला, दलितप्रतिको नजरमा पक्कै केही फरक हुन्छ ।
मलाई चरित्रहीन भनी दुष्प्रचार गर्ने तिनै युवती र उनका श्रीमान् लगायतले रेडियो स्थापना गरे । तिनै ब्राह्मण युवती र अधबैँसे महिलाकी छोरी तथा अरू गैरदलित छोरीबेटीले पनि रेडियोमा काम गर्न थाले । अनि तिनीहरू कसरी इज्जतदार भए ? कसरी चरित्रवान् बने ? जिल्लामै पहिलो पटक स्थापना भएको रेडियो कपिलवस्तुपछि धेरै रेडियो स्टेसनहरू खुले ।
पचासौँको सङ्ख्यामा गैरदलित मधेसी तथा पहाडी मूलका महिलाले रेडियोमा काम गर्ने अवसर पाए । तर तिमी र तिम्रा छोरीबेटीलाई कसले चरित्रहीन भन्ने ? के तिम्रा छोराछोरीलाई कुनै पुरुष वा महिलाको साथ र सहयोग थिएन ? हो, म पनि यी शब्द भन्न सक्थेँ तर त्यस्तो निच सोचाइ र व्यवहार मेरो रगतमै थिएन । हामीले त अरूलाई सम्मान गर्न सिकेका थियौँ । अनि त तिमी र तिम्रा छोरीबेटीको सम्मान गरेँ । यी कुरा यसरी लेख्दा तपाईंलाई पनि लाग्न सक्छ, सोनाले आफ्नै इज्जत उडाउँदै छ । महिलाको विरोध गर्दै छ तर होइन । यो केबल तिनकोे अमानवीय व्यवहार, अहम् र तिनको गलत दृष्टिको विरोध हो ।
मेरो यति कामना, यो विरोधले मसँग भएको व्यवहार मेरा अरू मधेसी, दलित महिलासँग नहोस् । म कार्यालयका कुनै पनि पुरुष कर्मचारीसँग समुदायमा काम गर्न जाँदा मलाई ती पुरुषसँग गलत दृष्टिले जोडेर हेर्ने यही समाजका व्यक्ति हुन् । म अविवाहित केटी यसरी समुदायमा काम गर्दा छाडा, चरित्रहीनको दर्जा पाएकी । अरू अविवाहित छोरीहरूलाई यस्तो व्यवहार नगरियोस् । सहयोग गर्ने पुरुषसँग गलत दृष्टिले जोडेर अरू महिलालाई बदनाम नगरियोस् । हाम्रो पेसा बदलिएको छ भने हामीसँग हुने व्यवहार पनि बदलिनु पर्छ । हामीले पनि आत्मसम्मानसाथ बाँच्न पाउनुपर्छ । समाजमा केही मानवीयता पलाउँदै छ तर पर्याप्त छैन । संविधानमै छुवाछुत र विभेद दण्डनीय मानिएकाले पनि होला, समाज रूपान्तरणमा केही प्रयास भएका पनि छन् । तर गाउँ, सहर अझै साह्रै निर्दयी छ । कर्मका आधारमा जात निर्धारण भएको हो भने आज धेरै दलितको कर्म, पेसा र सीप फेरिएको छ । तर व्यवहार फेरिएको छैन । यहाँ अनुहार हेरेर व्यवहार हुन्छ । दलितले गर्दै आएको कर्म, पेसा र सीप गैरदलितले अपनाउँदा व्यवसायी बन्ने । उनीहरू चरित्रवान् हुने । तर हामी दलित त्यही काम गर्दा कसरी चरित्रहीन ? यो सम्झँदा भारतीय फिल्म ‘यहुदी’मा सोहराव मोदीले बोल्ने संवाद सापटी लिएर मलाई पनि सोध्न मन लाग्छ–

तुम्हारा गम गम और हमारा गम कहानी है ?
तुम्हारा खुन खुन और हमारा खुन पानी है ? 

(खटिक रेडियो कपिलवस्तुको स्टेसन म्यानेजर हुन् ।)  

मधुपर्क असोज कात्तिक २०७७

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?