logo
२०८० चैत्र १५ बिहीवार



सिकाइमा अनलाइन प्रभावकारी

मुख्य समाचार |


सिकाइमा अनलाइन प्रभावकारी


शेषकान्त पण्डित

काठमाडौँ, असोज ३० गते । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने आँैल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल्याइएको छ ।
सरकारले पनि अनलाइन माध्यमबाट हुने पठनपाठनलाई जोड दिने नीति बनाएको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने भनी घोषणा गरिएको छ । यस क्रममा इन्टरनेट सेवाको पहुँच नपुगेका विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने कार्ययोजना तयार गरी लागू गर्ने र असोजबाट यसलाई निरन्तर सञ्चालन गरिने उल्लेख छ ।
सरकारी तथ्याङ्कअनुसार हालसम्म १३ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच छ । महासङ्घका अध्यक्ष भण्डारी अब विद्यालयमा रहेको इन्टरनेटको पहुँचलाई विद्यार्थीको सिकाइ उपलब्धिसित जोड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुुन्छ । विद्यार्थीसित इन्टरनरेटको पहुँच वृद्धिका लागि विद्यार्थीको घरसम्म इन्टरनेट पुग्नुपर्ने र कम्युटर तथा डिभाइस जरुरी हुन्छ । यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले वैकल्पिक विधिका माध्यमका रूपमा रेडियो र टेलिभिजनसमेत प्रयोग गरे पनि त्यसमा कति विद्यार्थी सहभागी भए, उनीहरूको सिकाइ उपलब्धि कस्तो रह्यो भन्ने बारेमा खासै केही भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।
राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले सबैभन्दा धेरै विद्यार्थी अनलाइन कक्षामै जोडिएको उल्लेख गर्नुभयो । त्यसका लागि विद्यार्थीलाई विद्यालयका तर्फबाट केही सहयोग गरिएको उहाँ उल्लेख गर्नुहुन्छ । अझै केही विद्यार्थी अनलाइनमा जोडिन बाँकी रहेको जानकारी उहाँले दिनुभयो । विद्यार्थीमा इन्टरनेटको पहुँच पुग्नुअघि विद्यालयमा इन्टरनेटको पहुँच हुनुका साथै शिक्षकलाई यसको प्रयोगमा सक्षम बनाउनुपर्ने आवश्यकता उहाँ औँल्याउनुहुन्छ । अनलाइनकै माध्यमबाट विद्यार्थीलाई पढाउन, गृहकार्य हेर्न, परीक्षा लिन सकिने भएकाले अन्य वैकल्पिक माध्यमको तुलनामा यसको प्रभावकारिता धेरै हुने गरेको जनाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय योजना महाशाखा प्रमुख सहसचिव डा. तुलसी थपलिया सरकारले सामुदायिक विद्यालयमा इन्टरनेट पु¥याउने योजना अगाडि बढाएको स्पष्ट गर्दै विद्यार्थीसमक्ष त्यसको पहुँच पु¥याउने विषय चुनौतीपूर्ण रहेको बताउनुहुुन्छ । सामुदायिक विद्यालयले इन्टरनेटका माध्यमबाट सङ्क्रमणको बेलामा समेत पठनपाठनलाई अघि बढाएको तर अझै धेरै विद्यार्थी यसमा आबद्ध गराउन नसकिएको उहाँको भनाइ छ । सामुदायिक विद्यालयका लागि शिक्षक विद्यार्थीको उपस्थितिमा हुने भौतिक कक्षा नै सबैभन्दा बढी प्रभावकारी देखिएको उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?