logo
२०८० चैत्र १६ शुक्रवार



अल्जाइमर्स रोगबाट दीर्घरोगीलाई बचाउन मन्त्री गुरुङको अपिल

राष्ट्रिय |


अल्जाइमर्स रोगबाट दीर्घरोगीलाई बचाउन मन्त्री गुरुङको अपिल


गोरखापत्र अनलाइन

काठमाडौं, असोज ५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले २७ औं विश्व अल्जाइमर्स चेतना दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुमा स्वस्थ, सम्मानित तथा सुखमय दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री गुरुङले सोमबार शुभकामना सन्देश दिनुहुँदै भन्नुभएको छ, “विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइरहँदा अल्जाइमर्स रोगको बारेमा आमनागरिकलाई सुसूचित गराउनु हामी सबैको प्रमुख दायित्व हो ।”
अंग्रेजी तारेख २१ सेप्टेम्बरको दिनलाई विश्व अल्जाइमर्स चेतना दिवसको रुपमा मनाउने गरिएको छ । यो रोग सबै उमेर समूहमा लाग्ने भए तापनि विशेषगरी ज्येष्ठ नागरिकहरु र दीर्घ रोगीहरु बढी मात्रामा प्रभावित हुने गरेको तथ्यांकले देखाएको मन्त्री गुरुङले प्रष्ट पार्नुभएको छ ।
“नेपालीहरुको औसत आयुमा बृद्धि भई बुढ्यौली उमेरका नागरिकको संख्या बढिरहँदा यो रोगबाट ग्रसित हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ” मन्त्री गुरुङले शुभकामना सन्देशमा भन्नुभएको छ ।
रोगबारे जनमानसमा रहेको भ्रम र अज्ञानता हटाउने, रोगको प्रकृति, उपचार पद्दति, रोगीलाई दिइनु पर्ने उचित स्याहार सुसार, उपयुक्त खानपानको व्यवस्था लगायतको विषयमा जनचेतना जगाउने अभियान संचालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले चर्चा गर्नुभएको छ ।
रोगबाट प्रभावित ज्येष्ठ नागरिकहरुको उपयुक्त स्वास्थ्य सेवाको प्रबन्ध मिलाउनमा सरकार दृढ रहेको बताउनुहुँदै मन्त्री गुरुङले भन्नुभएको छ, “सीमित स्रोत र साधनलाई अधिकतम् उपयोग गर्दै यस रोगबाट पीडित ज्येष्ठ नागरिकलाई सरकारले वार्षिक रुपमा एक लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।”
“ज्येष्ठ नागरिकहरुलाई स्वस्थ, सुखी र सम्मानित एवं सुरक्षित वातावरण सृजना गर्न तथा उनीहरुको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गराउने काममा विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारीरुपले कार्यान्वयन गराउनेतर्फ मन्त्रालय सधैं क्रियाशील छ” शुभकामना सन्देशमा मन्त्रीले उल्लेख गर्नुभएको छ ।
कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको अवस्थामा विशेष गरी अल्जाइमर्स रोगबाट पीडित ज्येष्ठ नागरिक एवम् दीर्घ रोगीहरु महामारीको जोखिम रहेको बताउनुहुँदै मन्त्री गुरुङले रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गराउन व्यक्ति, परिवार, समुदायलगायत सम्वद्ध सबै पक्षलाई अपिल गर्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?