logo
२०७७ कार्तिक १२ बुधवार

सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णविराम

कला |
मुख्य समाचार |


2020-08-18-20800


त्रिभुवनचन्द्र वाग्ले
‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा गर्नेछु । त्यसो त उहाँको सम्पूर्ण जीवन नै ऋतम्भराको यात्रा थियो, चित्तवृत्ति निरन्तरता र सत्य स्वीकार । कविजीले सत्य स्वीकार गर्नुभयो । कालसँग पराजित हुनुभएन तर सम्झौता गरिदिनुभयो ‘इतिसम्बत् २०७७ भदौ २ गते ।’ बाहुनडाँडाको पुस्तुनबाटमा सुरु भएको ऋतम्भराले लैनचौरमा महापरिनिर्माण लियो ।

राष्ट्रकवि माधव घिमिरेकाे निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे आज (भदौ २ गते मङ्गलबार) साँझ आफ्नै निवास लैनचोरमा निधन भएको खवरले नेपाल र नेपाली स्तब्ध छन् । परिष्कारवादी सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णबिराम लागेको छ । देवकोटा र लेखनाथ जोड्ने साँघु भत्केको छ । शताब्दी पूर्व १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा उम्रिएको बिरुवा राजधानीमा झाङियो । फुल्यो र फल्यो । फल्नुको सत्य झर्नु पनि थियो । झ¥यो ऋतम्भराको सन्देशमा । सत्यको अठोटमा र विश्वासमा ।
माधवप्रसाद सिर्जित हरियो वन थियो निर्मित वाटिका मात्र होइन । अथाह क्षेत्रफलमा फैलिएको पुस्तुनको हरियो वनमा के उपलब्ध थिएन ? कविता, गीत, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध, संस्मरण । अक्षरका लता रहरामै पहराले गाइएका स्वर थिए घिमिरे । नेपाली स्वाद थिए घिमिरे । वि.सं. १९९२ को गोरखापत्रमा १४ वर्षे लोर्के जोबानमा छपाएको कविता ज्ञानपुष्पबाट लेखकीय यात्रा गर्नुभएका कविजी वि.सं. २००१ सालमा गोरखापत्रमै सहायक सम्पादक भएर अक्षरको किसानीमा थप सक्रिय हुनुभयो । जीवनको अन्त्यसम्म पनि अक्षर कै अक्षांशमा उहाँको यात्रा चलिरह्यो । निरन्तर, एकाग्रता, चित्ताग्र अर्थात् ऋतम्भरा ।
आँशुले लेखिएको गौरी वा आत्माले बोलेको ‘नेपाली हामी रहूँला कहाँ..’कालजयी मात्र छैनन् लोकगेय पनि छन् । ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ जस्ता कविता सङ्ग्रहले नेपाली साहित्यको भकारी भरेका मात्र छैनन् सिंगारेका पनि छन् । स्वच्छन्द मा परिष्कारको पुट हालेर नेपाली छन्दको चुचुरो उचाल्ने उहाँले ज्योतिको पङ्खमार्फत् सुन्दर शान्त नेपाललाई लयदार बनाउनुभयो । गेय बनाउनु भयो । नेपालीका लागि साझा गीत मात्र होइन रीत पनि सिकाउनु भयो–
थुतिन्छ पत्ता,जब खातबाट
सिध्दिन्छ शोभा,अनि फूलबाट
पारिन्छ सत्ता,जब खण्डखण्ड
रहन्छ के राज्य,त्यहाँ अखण्ड ?

मालती मङ्गलेमा नेपाली समाजलाई लल्कार्नु हुने गीति नाटककार घिमिरेले हिमालपारि हिमालवारिमा देशको सौन्दर्य गाउनु भएको छ । माटोको सुगन्धलाई मुटुले स्पन्दन गर्ने चैतन्य पुरुष घिमिरेले राष्ट्र निर्मातामा दोह¥याउनु भयो–
खोलेर ऐरा, मृग एक मारी
बाँडी कलेजो, जति छन् शिकारी
बिलो लिएझैं सरमा उनेर
यो राज्य बाँडने चिज हैन हेर ।

किन्नर–किन्नरी, राजेश्वरी, इन्द्रकुमारी, चारुचर्चा, आफ्नो बाँसुरी आफ्नै गीत नेपालीका लागि छाडेर जानुभएका घिमिरे आशावादी र सकारात्मक सोचका स्रष्टा र स्रोत हुनुहुन्छ । केही नयाँ काम गर्न उत्सुक कविले युवा पुस्तालाई पे्ररणा दिनुभएको छ । बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन भन्दै हाम्रो भेटमा उहाँले भन्नुभएको थियो ‘म लेख्नकै लागि बाँचेको हुँ ।’ निधन हुनु मर्नुको घटना मात्र होइन । मरेर पनि बाँच्नेहरूलाई निधन साख घटना हुनसक्दैन । नेपालीका स्वरमा, आँखा र मुटुमा छाइरहने, गाइरहने राष्ट्रकविले मृत्युलाई जित्नुभएको छ । फरक अबका दिन शरीरमा होइन सन्देशमा उहाँलाई भेट्न सकिने छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?