logo
२०८० चैत्र १६ शुक्रवार



पहिरोले डोटीमा ३५ घर विस्थापित

प्रदेश |


पहिरोले डोटीमा ३५ घर विस्थापित


डिलबहादुर सिंह
डोटी साउन २६ गते । लगातारको वर्षाका कारण गाउँको माथिल्लो भाग चर्किएपछि डोटीको सायल गाउँपालिका – २ भुर्केलागाउँका ३५ घरधुरी विस्थापित भएका छन् । स्थानीय शेरबहादुर थापाका अनुसार गाउँको सबैभन्दा माथिल्लो भागमा वर्षातका कारणले चर्किएर पहिरोले गाउँ नै बगाउने डरले गाउँका सबै बासिन्दा पाल टाँगेर नजिकैको नानीतोला भन्ने स्थानमा बसिरहेका छन् । स्थानीय थापाले भन्नुभयो, ‘दिनदिनै पानी परेको पर्यै छ, कतिखेर गाउँ नै पहिरोमा बग्छ थाहा छैन । पहिरो आउने डरले गाउँका सबै घर छोडेर जङ्गलमा पाल हालेर बसिरहेका छौँ ।’

भुर्केला गाउँमा ३५ घरधुरीमा ३९० जनसङ्ख्या रहेको छ । गाउँमा सबै जसो परिवारको गाउँका घरहरू जोखिममा छ । पहिरोको जोखिम बढेसँगै स्थानीय घर छाडेर घरभन्दा माथि रहेको नानीतोला भन्ने ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

‘छन त पूरै गाउँ नै जोखिममा छ, सबैजसो घरहरू पहिरोले पुर्ने खतरा छ ।' अर्का स्थानीय रामबहादुर थापा भन्नुहुन्छ,  ‘तर, केही परिवार मरे मरुँला कता जाउँ भनेर गाउँमै पनि बसेका छन् ।'
भुर्केलागाउँ पहिरोले जोखिममा परेको पहिलो यसपटक पहिलो पटक भने होइन । यसअघि २०७२ सालको साउन महिनामा सायल क्षेत्रमा गएको भीषण पहिरोले छ जनाको ज्यान लिनुका साथै व्यापक जनधनको क्षतिसमेत गरेको थियो । जहिँतहीँ आएको पहिरोमा परी छ जनाको ज्यान जादा भुर्केलामा पनि एकको मृत्यु भएको थियो । धेरै जसोका वस्तुभाउहरू बाढीले बगाएको थियो ।
गाउँ स्थानान्तरण गर्नु नै एउटा मात्र विकल्प रहेको स्थानीय बासिन्दाको माग रहेको छ ।

२०७२ सालको पहिरोपछि सायल क्षेत्रको समग्र बाढी पहिरोको प्रतिवेदन बोकेर एउटा प्रतिनिधि मण्डल सिँहदरबारसम्म पनि पुगेको थियो । जसमा भुर्केला गाउँबासीहरूका स्थानान्तरणको मागसमेत समावेश थियो । तर त्यसो गर्दासमेत गाउँवासीको पीडा सरकारले नसुनेको स्थानीयवासीको दुखेसो छ ।

सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल तत्कालीन रुपमा स्थानीयहरूलाई बस्नका लागि पाल उपलब्ध गराएको बताउनुहुन्छ । अध्यक्ष डुम्रेलले भन्नुभयो, ‘स्थानीय सरकारले तत्कालै नयाँ घरहरू बनाएर दिनसक्ने अवस्था छैन । अन्नपात पशुचौपायामा कसैको पनि क्षति भएको छैन । दीर्घकालीन रुपमा के गर्न सकिन्छ भन्ने विषयमा गाउँपालिकाले योजना बनाइरहेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?