logo
२०८० चैत्र १६ शुक्रवार



उपचारको क्रममा मृत्यु भएका तीन जनामा कोरोना सङ्क्रमणको आशङ्का

फिचर |


उपचारको क्रममा मृत्यु भएका तीन जनामा कोरोना सङ्क्रमणको आशङ्का


धीरेन्द्रप्रसाद साह
राजविराज, साउन २१ गते । सप्तरीमा उपचारको क्रममा मृत्यु भएका तीन जना पुरुषमा काेरोना सङ्क्रमणको आशङ्का गरिएको छ । कोरोनाको आशङ्का गरिएका मृतकहरूको पीसीआर परीक्षणको लागि स्वाब लिने कार्य भइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । तीनै जनाको स्वाब सङ्कलन भएपछि मात्र अन्तिम संस्कार गर्न दिइने उहाँले स्वाब सङ्कलनको लागि स्वास्थ्यकर्मी टोली पठाइसकेको बताउनुभयो ।

डेढ महिनाअघि वैदेशिक रोजगारबाट घर आइपुगेका जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै जाँदा थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान पुगेपछि उनको मृत्यु भएको वडा अध्यक्ष जगदीश दासले जानकारी दिनुभयो । उनको शव परिवारजनले घरमा ल्याएर अन्तिम संस्कार गर्न लाग्दा पीसीआर परीक्षणको लागि स्वाब लिन रोकिएको बताइएको छ ।

त्यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचाररत डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको छ । गत १५ गते अस्पताल भर्ना भएका दुवै जनाको गएराति मृत्यु भएको बताइएको छ । दुवै जनामा शङ्कास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकेर स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?