logo
२०७७ श्रावण २८ बुधवार

अनुभूति: रिहर्सल

कला |


2020-07-28-19343


 प्रकाश सायमी

म चढेको बसको पछाडि कुनै सिट थिएन । म
बसेको सिट नै अन्तिम थियो । लास्ट सिटमा बस्ने रहर मलाई स्कुल डेदेखि नै थियो ।
क्लासमा पनि म लास्ट सिटमै बस्थेँ तर क्लास
टिचरले फस्र्ट ब्वाई एट लास्ट बेन्च भनेर जिस्क्याएपछि अघिल्लो सिटमा आएर खुट्टा तन्काउन थालेको थिएँ त्यो बेला ।
बस गुड्यो, अँध्यारोलाई छल्दैछल्दै ।
बसको लाइटले बाटोबाहेक केही देखिँदैनथ्यो । मलाई त त्यो बाटो पनि सानो गल्लीजस्तो लाग्दै थियो पछाडिको सिटबाट हेर्दा । बाटो छेउछाउका घरका स्ट्रिट ल्याम्प निभिसकेका थिए । बाटो त पूरा सुनसान थियो । सुटिङ गर्न तयार पारिएको कुनै क्लाइमेक्सको सेटजस्तो ।
बस बजार छाडेर भित्री गाउँ हुँदै उकालो चढ्दै गर्दा बसले लामो लामो सास धिमाधिमा गतिमा छाड्न थाल्यो । त्यतिबेला मैले बसको झल्याकझुलुक उज्यालोमा मेरो पछाडि हेरेँ । मेरो पछाडि अरू दुई सिट रहेछन् तर त्यहाँ बोराका बोरा सामान कोचिएको थियो ।
मैले ह्यान्डी ब्वाईलाई सोधेँ, के हो भाइ यो ? उसले बसको आवाजलाई म्युट गर्न खोजेजस्तै गरी
बोल्यो, रिमोट हातले दबाएजस्तो अभिनयमा उसले भन्यो, अलैँची हो सर, अलैँची ।
अलैँचीको भव्य खेती हुने यो पहाडी भेगमा अलैँचीको व्यापार खुब चल्छ । अलैँची, अदुवा, चिया यहाँको विशेष खेती हो । यसको व्यापार भारतको दूरदिगन्तसम्म पुग्छ भन्ने सुनेको छु । सिङ्गताम बजारबाट अलैँची बोकेर हिँडेको यो बस राबाँग्ला भएर अझै कता जाने हो मलाई थाहा थिएन । बसको अघिल्लो सिटमा एक्लो ड्राइभरबाहेक कोही थिएन ।
बसको ढोकाछेउको सिटमा ह्यान्डी ब्वाई अर्को एउटा साथीसित खैनी माड्दै खाँदै थिए । मानौँ, त्यो बसले मलाई किडन्याप गरेर कतै लाँदैछ... डल्लै बसमा म एक्लै ।
यतातिर सिङ्गैलाई डल्लै भन्ने चलन छ, दार्जिलिङतिरको प्रभाव । बस डङ्गुर धुवाँ फ्याँक्दै राबाँग्ला बजारमा आएर रोकियो । म झोलासहित उत्रेँ, अन्धकार त्यो बस्तीमा । ठूलो आवाजको बसबाट म ओर्लिंदा त्यो बस्ती शान्त भएर सुतिरहेको थियो ।
मलाई यो बस्ती वा गाउँमा आउँदा जहिले पनि हुनु नहुुनुको प्रेमको आभास हुन्छ । मेरो जीवनको पहिलो
प्रेमको अन्तिम पाठ यहीँ लेखिएको छ, त्यो मलाई थाहा थियो । जसलाई म प्रेम गर्थें उनको नाम थाहा नपाईकन मैले श्वेता भनेको थिएँ तर उनको नाउँ श्वेता होइन भन्ने कुरा मैले दुई वर्षपछि मात्र थाहा पाएँ । कति शान्त प्रेम थियो हाम्रो, मौन र शान्त । कुनै विरोध र असन्तुष्टि नै थिएन ।
श्वेता मलाई जीवनमा बर्तोल्त ब्रेख्तको किताब पढ्न दिने पहिलो महिला थिइन् तर मैले ब्रेख्तका उदास पङ्क्तिहरू धेरै पहिल्यै बम्बईका बर्सादी दिनहरूमा
पढिसकेको थिएँ ।
अब फेरि पढ्दैछु ब्रेख्त र ब्रेख्तका कविताका
पङ्क्तिहरू ।
बम्बईको सार्वजनिक पुस्तकालयबाट यो किताब साभार गरेर पढ्दा मसित पैसा कम समय बढी हुन्थ्यो । अहिले समय छ तर पढ्ने फुर्सद छैन ।
बम्बई भर्खरै मुम्बईमा रूपान्तरण हुँदै थियो तर पनि मलाई बम्बई नै भन्दा चखिलो स्वाद लाग्थ्यो किनकि बम्बई बम्बई नै हुँदा म सन् १९८४ मा बम्बई पुगेको थिएँ । बम्बईको नाउँ मैले काठमान्डुबाट भागेर भारत जाने क्रममा वीरगञ्जमा देखेको थिएँ । होटल बम्बे थियो त्यहाँ ।
त्यसपछि मैले साङ्गीतिक कार्यक्रम गर्न जाने क्रममा इलाम जाँदा आइतबारे बजारको एउटा मिठाई दोकानमा सुनेको थिएँ, बम्बईसान भन्ने मिठाइको नाउँ । इलामको आइतबारेमा हामी ०३९ सालमा गायक सुनिल उप्रेती, विज्ञान श्रेष्ठ, अनुराधा शाह, सुरेन्द्रसिंह सुवाल, वीरेन्द्र सुवाल, भूपालमान सिंह, दीप तुलाधर, मधुशेखर मानन्धर, रवि खड्का, रोशन कुँवर आदि पुगेका थियौँ ।
कार्यक्रम फ्लप भएर हामी आइतबारेमा बास बस्दा मैले राईजीको घरको अगाडि बम्बईसान निकै खाएँ ।
अङ्ग्रेजीमा भन्छन् नि, वन्स अपन अ टाइम । त्यो मेरा लागि त्यस्तै अनुभव थियो । त्यसपछि मैले आजसम्म बम्बईसान खाएको छैन । बम्बई पुगेर पनि खाइनँ ।
बम्बई नाउँ मैले फिल्मउँदो देखेको हुँ तर अझै मलाई यो नाउँ अमेरिकाको फ्लोरिडा काउन्टीको डेढ दुई लाख जनसङ्ख्या भएको गाउँको नाउँ ब्रिटिसहरूले सापटी लिएर राखेको भनेर थाहा पाएपछि खुब मन परेको हो ।
बम्बईबाट आएको फिल्मी ब्वाईको आजको रात श्वेतासितको भेट अपेक्षा गरिएको भन्दा दुई घण्टापछि भयो । कुराकानी चल्यो । दुःखपूर्ण सम्झनामा विछोड, वियोगका दिनहरूको कुरा गरियो ।
त्यो रात म पाहुना नै थिएँ । भोलिपल्ट मात्र प्रेमी भएँ । भोलिपल्ट प्रेमीलाई प्रेमिकाले सुनाइन्, अब मेरो बिहे हुँदैछ हजुर । घरीघरी मलाई भेट्न नआउनुस् । पहिलो प्रेमको अन्तिम सिक्वेन्स थियो । एक्जिटको सिन मेरो थियो । चुपचाप सुनेँ, चुपचाप फर्कें । फैज अहमद फैजको नज्मको पङ्क्ति सम्झिँदै ... ।
और भी गम है
जमाने में मुहब्बत के सिवा ।
ब्याक टु बम्बई ।
त्यसपछि श्वेताको बिहा भयो दार्जिलिङतिर वा सिक्किमतिर कतै । म गइनँ । बे्रख्तको किताब पढ्ने दिन पहिलो प्रेमिकासित कुनै प्रेमपत्र नलेखी छुटानामा भयो ।
त्यसपछि आजसम्म म राबाङ्ला गएको छैन । देखेको पनि छैन । मेरो पहिलो प्रेमको अन्तिम चिहान यहीँ बन्यो ।
मैले प्रेम गर्दैगर्दा त्यहाँका एक स्थानीय भाइ याप्चुङ भुटियाले मलाई एक दिन भनेको थियो, तपाईंको जस्तै यहाँ एक्टर राज बब्बरको स्मिता पाटिलसँग लभ परेको थियो ।
राभाँङ्लामा राज बब्बर र स्मिता पाटिलको शपथ फिल्मको सुटिङ भएको मलाई थाहा थियो तर ती दुई बम्बैया कलाकारको हुस्न भी आप है, इस्क भी आप है भन्ने गीत छायाङ्कन गर्दा लभ परेको कुरा मलाई स्कुले कान्छा भन्ने मेरा हितैषीले राबाङमै सुनाएका थिए । सामाजिक सञ्जालतिर आजकाल राबाङको फोटो देख्छु, त्यो चारधाम बनेछ, पवन चाम्लिङको एसडीएफ सरकार आएपछि ।
मेरो प्रेम धाम अहिले चार धाम बनेको खबरले म आल्हादित पनि भएको छु ।
श्वेताले मलाई ब्रेख्तको पोयट्ररी पढ्न दिँदाको समय, काल र दिक अर्कै थियो, सिक्किममा नरबहादुर भण्डारीको मुख्यमन्त्रित्व थियो । उनको पार्टी सिक्किम सङ्ग्राम परिषद् सरकारमा आफ्नो झन्डा र डन्डा फैलाउँदै थियो । त्यही पार्टीमा पवन चाम्लिङ पनि थिए, उनी त्यही सरकारमा सडक निर्माण यातायात मन्त्री थिए । त्यतिबेला चाम्लिङ निर्माण नामक पत्रिका पनि निकाल्थे, नाम्चीबाट ।
नेपालको नाम्चेबजार जस्तै सिक्किममा पनि नाम्ची छ भन्ने कुरा मैले सिक्किम गएर नै थाहा पाएँ ।
नाम्चीको गल्र्स होस्टलमै त्यतिबेला श्वेता बस्थिन् । उनको आउटिङको समय बेलुका चार बजेपछि पथ्र्यो । नाम्चीको हेलिप्याडतिर उनी आउटिङमा आउँदा हाम्रो भेट हुन्थ्यो ।
सुनेअनुसार अब त्यो हेलिप्याड पनि छैन । अहिले त भण्डारी पनि छैनन् । उनको पार्टी पनि सायद विलय भइसक्यो । अनि हाम्रो प्रेम पनि फ्लप भएर उपन्यासमा कतै नलेखिइने विषय भइसक्यो । प्रकाश कोविदलाई भेटेको भए यसको राम्रो उपन्यास उनले लेख्थे सायद ।
कोविदलाई मैले सन् ८० को दशकमा काठमान्डुमा भेट्दा गीतकार कर्ण लामाका छोरा यादेशको कथामा अनुरोध उपन्यास लेख्दै थिए । उनी यसरी उपन्यास लेख्न खप्पिस थिए । यो रचनागर्भ उनले आफ्ना साथी पारिजातलाई भेट्न म्हैपी जाँदै गर्दा मलाई सुनाएका थिए तर मेरो पहिलो प्रेमकथा त प्रकाश कोविद बितेपछि पो सुरु भयो ।
मेरो प्रथम प्रेमकथाको अन्त्य हुँदा नारायणगोपालले उनको ऐतिहासिक कार्यक्रम स्वर्णिमसन्ध्यामा भूपिको गीत गाइसकेका थिए,
धेरै हाँसे जिन्दगीमा रुनु पर्दोरहेछ
हाँसोलाई आँसुले धुनु पर्दोरहेछ
नरोऊ नरोऊ भन्दा पनि के रुक्थे
यी मेरा आँसुहरू...
यस्तो लाग्थ्यो, नारायणगोपालको गीत वास्तविक हो, मेरो प्रेमचाहिँँ रिहर्सल । स्वर्णिम सन्ध्यामै नारायणगोपालसितै उभिएर खिचेको कोडाक कलरका फोटो बोकेर प्रेमीको प्रोक्सी रोलमा सिक्किम पुगेको थिएँ, रिहर्सल गर्न ।
त्यो भेटमा उनले मलाई बे्रख्तको ककेसियन चेक सर्कल मेरो हातमा दिइन् र मैले त्यही फोटो दिएर हामी छुट्टियौँ ।
प्रथम प्रेमको बेला तिनले भनेकी थिइन्, तपाईंकी हुन सकिनँ भने म मेरो नाम नै बदलिदिन्छु । तर त्यो भेटपछि तिनले नाम होइन, थरचाहिँ बदलिन् । ब्रेख्तको ककेसियन चेक सर्कल मसितै रह्यो । किताप फ्याँक्न मन थिएन तर कसैलाई दिन पनि सकिनँ । आफूले बोकेर हिँड्दा सम्झना र यातना दुवै बोकेजस्तो लाग्न थाल्यो ।
संयोगले एक दिन मेरो हातबाट त्यो किताब रङ्गकर्मी सुनिल पोखरेलले सापटी लिए, मैले पनि त्यसको बदला उनीसित स्वैन बन्धु लिखित फिल्म स्क्रिप्टराइटिङ खोसेर लिएँ । उनी ब्रेख्त नफर्काउने थिए । म स्क्रिप्टराइटिङ ।
मेरो प्रेम अन्त्य हुँदा सुनिल त्यतिबेला जोड प्रेममा थिए । भविष्यको ससुरालीमा गएर उनी केभिन कोस्टनरको द फिल्ड अफ ड्रिम्स हेर्थे । म मेरा मित्र नूतन सिंहले लेखेको प्रथम प्रेमको खोजमा कथा पढ्दै थिएँ । मलाई थाहा थिएन, लेखिकाको रूपमा नूतनको यो पहिलो रचना थियो । मलाई यो पनि थाहा थिएन, मधुपर्कका सम्पादक नारायणबहादुर सिंहले आँकुरामा प्रकाशित नगरीकनै उनलाई कथाकारका रूपमा लन्च गर्दै थियो । नूतन त्योबेला जर्मन भाषा केन्द्र गोयथे इन्स्टिच्युटमा जनसम्पर्क हेर्थिन् । मैले अलि अलि ब्रेख्त उनका कारणले पनि पढिसकेको थिएँ । काठमान्डुमा पहिलो पटक बे्रख्तको नाटक ‘अब बाँकी नै के छ र !’ चल्दा म नूतनसित दर्शकदीर्घामा थिएँ । आफू एक
रङ्गकर्मी भए पनि मैले ब्रेख्तको नाटक गरेको थिइनँ । यहाँ कसैले पनि गरेका थिएनन् । ब्रेख्तको त्यो नाटक हुँदा म नूतनसित रिहर्सलमा पनि जान्थेँ । ती पात्रहरूलाई हेर्न जुन पात्र मभित्र थिएन ।
बे्रख्तको नाटक नेपालीमा पहिलो पटक मञ्चन हुँदा न बे्रख्तसित प्रेममा थिएँ न आफै प्रेममा । होटल वज्रमा सेभेन थिएटरले थ्री पेनी अपेरा मञ्चन गर्दा भने म भरपूर प्रेममा थिएँ । मलाई नाटककी निर्देशक सविना लेहमनले एउटा भूमिकामा चयन पनि गरेकी थिइन् । लुद्मिला, मेरी इभान्स, स्याँग्बोबाहेक म सबै रिहर्सलमा दिनभरि बस्थेँ । अनि राति म त्यही होटलमा ड्युटी गर्थें ।
नाटक मञ्चन हुने बेला म आउट भएँ । अर्को एकजना कलाकारले प्रवेश पाए । मेरो रोल यहीँ सकियो । म रिहर्सलमा थिएँ । ब्रेख्त नाटक कसरी लेख्थे मलाई थाहा थिएन तर कविता कसरी लेख्थे त्योचाहिँ मैले फ्रेन्च फिल्मकर्मी ज्याँ रेनुको आत्मकथामा पढिसकेको थिएँ । उनले लेखेका छन्, ‘बे्रख्त मलाई भेट्न प्रायः मेरो म्युडेनको निवासमा आउँथे जहाँको भेट उनलाई खुब जम्थ्यो । ब्रेख्त आफ्ना सहयोगी बर्लिन महिलासित आउँथे । ती महिला टाइपराइटरजस्तो देखिने हेक्सागोनल एकोर्डिन लिएर आउँथी । मलाई लाग्छ, त्यसलाई कन्सिर्टना भनिन्छ सायद । हान्स एज्लर, कर्ट वेइल र लोट्टे लेन्या पनि उनीसँगै आउँथे । ब्रेख्त मलाई पुराना फ्रान्सेली गीत गाउन लगाउँथे । मलाई सुरतालको ज्ञान थिएन । म राम्रो गाउँदिनथेँ । कमसेकम ब्रेख्तलाई यसले केही असर पार्दैनथ्यो । उनकी सहायिकाले त्यो धुन कन्सिर्टनामा टिप्थिन् । ब्रेख्त पछि त्यही धुन पक्रेर कविता लेख्थे । ब्रेख्त र कोचमा यस्ता धेरै समानता थिए ।
...म यी पङ्क्ति पढ्दै गर्दा बे्रख्तबाट धेरै टाढा र
ब्रेख्तको नाटकसित धेरै नजिक थिएँ । एक दिन यस्तै समय ब्रेख्तको उदास नगरमा आफ्नो प्रथम प्रेमको अवसानको कथा बुन्दै गर्दा साथी सुनिल कापी र कलम लिएर मलाई भेट्न आइपुगे । उनी कहिले फर्केर भारतको दिल्ली जान्छु भन्थे, कहिले विराटनगर । कहिले पत्रिका चलाउँछु भन्थे, कहिले के ! उनलाई प्रज्ञा प्रतिष्ठानका एक जना प्राविधिकले ट्रकमा हालेर थानकोटबाट कटाइदिउँला भनेको कुरा उनी दुःखका साथ मलाई सुनाइरहन्थे ।
यसपालि उनी मेरो अन्तर्वार्ता लिन आएका थिए, छयालीस सालको जनआन्दोलनको उभार थियो । सुनिलको फ्रस्ट्रेसन अहिले आफ्नो कोलममा देखिन्थ्यो । मैले सामाजिक हिंसा, समलैङ्गिकताको समस्या र नेपाली नाटकमा ब्रेख्तको जस्तो नाटकको अभावका कुरा गरेँ । त्यो छापियो देशान्तर साप्ताहिकको उनको स्तम्भ सूत्रधारमा ।
नेपालमा टेलिभिजन थियो तर टीभी सिरियल राम्रा थिएनन् । नेपालमा सिनेमा बन्थे बजार राम्रो थिएन । एक दिन सुनिलले मलाई ब्रेख्तको नाटक बोकेर भेट्न आए र भने, ‘प्रकाश, काठमान्डुमा तिम्रो राम्रो जानपहिचान छ, यो नाटक काठमान्डु चोकचोक र डबलीमा गर्नुप¥यो, तिमीले मलाई फुल्ली हेल्प गर्नप¥यो यार !’
सुनिल मेरो साथी मात्र होइन, सहपाठी पनि हो । ऊ र म प्रज्ञा प्रतिष्ठानको कलाकार प्रशिक्षणको परियोजनामा सँगैसँगै थियौँ तर ऊ एक वर्षअघि पास आउट भएर गइसकेको थियो । दिल्लीको एनएसडीमा परीक्षा दिएर आएपछि बद्री अधिकारी र उसलाई मैले मरुढोकाको सुलक्षणाको पसलमा माल्पुवा र चिया खाँदै गर्दा भेटेर सोधेको थिएँ, के भयो एनएसडीमा ?
काफ्काका पात्र जस्ता लाग्ने ती दुवै मेरो प्रश्नले त्रसित भए । मलाई लाग्थ्यो, दिल्ली जाने आइडिया बद्रीजीकै थियो तर बद्रीजी फेल भए सायद । त्यसपछि उनी नाचघरका जागिरे कलाकार हुँदै ‘जीवनरेखा’ चलचित्रमा कलाकारको रूपमा प्रवेश भए ।
सुनिल फिल्मबाट फालिएका थिए । त्यसपछि सुनिलले चेतन कार्कीको फिल्म ‘विश्वास’मा कोसिस गरे । उनी त्यहाँबाट पनि फालिए । पछि उनी आफ्नो पहिलो प्रेम थिएटरमै अडे ।
सुनिलले ब्रेख्तको ‘सेँचुआको असल मान्छे’ गर्छु भनेपछि म उसलाई लिएर काठमान्डुका गल्ली गल्ली घुमेँ । असनका मेरा साथीहरू यज्ञरत्न तुलाधर, चरण प्रधान, शीलरत्न तुलाधरले खुब सघाए । नेपालभाषाका कवि नाति वज्रले आफ्नो टोल दुगँबहिलमा मञ्चन गर्ने व्यवस्था मिलाइदिए भने ईनापका सम्पादक मल्ल के सुन्दरले थायमरुमा मञ्च दिए ।
काठमान्डुमा सर्वत्र यो नाटक मञ्चन भयो तर म रिहर्सलमा बाहेक मञ्चमा भइनँ । यो मैले सुनिललाई भरपूर सहयोग गरेको एउटा विशेष नाटक थियो । मेरो प्रथम प्रेमिकाको ब्रेख्त अब्सेसनका कारण । यो सकियो त्यसपछि ।
त्यसपछि सुनिलसित आरोहण शनिबारका निम्ति मैले मोहन राकेशको आषाढका एक दिन र ज्याँ पल सात्र्रको ‘म्यान विदाउट स्याडोज’ पनि अनुवाद गरेँ । दुवै पाण्डुुलिपि अझै मसित सुरक्षित छन् । सात्र्रको म्यान विदाउट
स्याडोज मैले बम्बईबाट ल्याएको थिएँ । यसको नेपालीकरण भएर मञ्चमा आउँदा बिना चिहानको मृत्यु भएर प्रस्तुत भयो । खोई, के कारणले हो यसको अनुवादमा सुनिलले मेरो नाउँ दिन चाहेनन् । आएन पनि । तर उनले मलाई एउटा रोल गर न दिल्लीमा देखाउन जाँदा घुम्न जान पाइन्छ भने ।
भ्रमणको लोभले भारी बाक्ने एउटा रोल भए पनि गरौँ कि भन्ने पनि लाग्यो तर गरिनँ किनकि मेरो अभिनय गर्ने भोक पहिलो प्रेमसँगै सेलाइसकेको थियो ।
अभिनय गर्ने सोखमा एक पटक म मेरा मित्र ध्रुव श्रेष्ठको सहयोगमा एउटा सभामा पुगेँ । त्यहाँ कैलाश कार्की, हरि रोकाजस्ता साथीहरू भेट भए । जहाँ नाटक मञ्चन गर्ने कामका लागि बोलाइएको थियो त्यहाँ हामी पुग्दा एकजना वृद्ध पुरुषले सबैलाई शपथ खुवाउँदै थिए । म झस्केँ र उठेँ ।
‘ध्रुवजी, यो त पार्टीको शपथ ग्रहण पो रहेछ ।’
ध्रुवजीले स्पष्ट भन्नुभयो, फेडरेसनको आज ... ।
त्यो सभाबाट म हिँडेपछि मैले ती पात्रहरूलाई अखबारमा बाहेक आजकाल कतै भेटेको छैन ।
त्यो पनि मेरो रिहर्सल मात्रै थियो ।
यो सम्पूर्ण रिहर्सलपछि पनि म आजकाल रेस्टुराँमा खाजा वा केही खान जाँदा नुन र खुर्सानी राखिएको डब्बामा पी र एस लेखिएको डब्बा देखिएपछि श्वेतालाई सम्झिन्छु । तिनी भन्ने गर्थिन्, हेर्नोस् यो पी तपाईंको नाम र एस मेरो नाउँ । यो दुइटा डब्बा जबसम्म रहन्छ हाम्रो प्रेम अमर छ ।
क्याफे, रेस्टुराँतिर यस्तो रिहर्सल पनि हामीले धेरै पटक ग¥यौँ । हामीले प्रेमको रिहर्सल गरेको समय फेसबुक हुँदो हो त हाम्रो प्रोफाइलमा हाम्रो आईडी नेम पीएस नै हुन्थ्यो कि ! 

मधुपर्क, साउन २०७७

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?