logo
२०७७ श्रावण २८ बुधवार

पोइल जाने धारा (कथा)

कला |


2020-07-28-19342


रत्न कोजू

चुल्होमा हाँडा–हाँडी चढिसक्दासम्म मगर्नी बुहारीले एकाबिहानै धाराबाट ल्याएको एक घैँटो पानी सकियो । नसकिनु पनि कसरी ? त्यही पानीले दैलोदेखि चुल्होसम्म लिपपोत भयो । सासू र लोग्नेले त्यसैले मुख धोए । सासूले तुलसीको मठलाई पनि त्यही पानी चढाएकी हो । बाँकी पानी भात–भान्सालाई बल्लतल्ल पुग्यो मात्र । भात खान बस्दा पिउन, चुठ्न र जुठो मोल्न पानीको फेरि हर्जा नै हुन्छ । त्यसपछि वस्तुभाउलाई कुँडो खुवाउन पनि पानी चाहिहाल्छ । घर–गृहस्थी चलाउन काखीमा कुवा हुनुपर्छ भन्छन्, साँच्चिकै घैँटो–गाग्री च्यापेर हतार–हतार पँधेरातिर सीधा हान्निने चेली बुहारी वा पँधेर्नीहरूको कहावत होला यो । मगर्नी सासूले अह्राउनै परेन, अघिपछिझैँ बुहारी धारातिर हान्निई हाली । महिना दिनअघिसम्म त बुहारीलाई यसरी कुदाकुद गर्नु परेको थिएन । मगर्नीको घरमा
दुईवटा घैँटा थिए । बुहारीलाई सास फेर्न अलिकति होलो थियो । एउटामा पानी थाप्दाथाप्दै पीँधमा फ्याट्ट छुट्टियो । पीँध राम्ररी नपाकेकाले काँचो भाग कमजोर रहेछ । पानी थाप्दाथाप्दै त्यही भागमा चिरा परेर घैँटो दुई टुक्रा भयो । अब सासूको अगिल्तिर कसरी जाने हो ? उसको मनमा सकस सल्बलायो । हिँड्दाहिँड्दै बीच बाटोमा अकस्मात् बाघसित आमुन्नेसामुन्ने भएको बटुवाझैँ ऊ तर्सी । नभन्दै बुहारीको कम्मरमा घैँटो नदेखेपछि सासूका आँखा
रिसाएको भैँसीको जस्तो राताराता भएका थिए । पछि सासूले पँधेराबाट फर्केका अरू गाउँले पँधर्नीहरूसित बुझी– बुहारीले घैँटो कसरी फुटाई ? बुहारीले फुटाएकी होइन ब्यारे ! तेरो घैँटो नै काँचो थियो । धारोले हान्नासाथ प्याट्ट गयो । पँधेर्नीहरूको जवाफले मात्र बुहारीको सातो बल्ल फर्केको थियो । जगेडा घैँटोको कथा सुनिहालियो । घरमा अर्को भाँडोको नाममा एक डेढ माना पानी अट्ने एउटा सानो काँसको करुवा मात्र थियो । भात खानबस्दा पानी सारेको करुवा जुठ्यानसम्म पुग्दा रित्तो हुन्थ्यो । यति हुँदाहुँदै पनि सासूले ठिमीको कुम्हाले दाइ गाउँ पसेको छैन भनेर घैँटो थपिदिएकी छैन । कुम्हाले दाइ खर्पनमा भाँडा बोकेर आउँदा जस्तै गर्मीमा पनि भादगाउँले कालोटोपी लगाएरै आउँथ्यो । पसिनाले निथु्रक्क भएको ऊ खर्पन बिसाएको ठाउँमा त्यही टोपी फुकालेर पसिना पुछ्थ्यो र फेरि त्यसैले हम्केर पसिना ओभाउँथ्यो । त्यही टोपी नै उसको व्यापार विनिमयको माना–पाथी वा ढक–तराजु पनि हुन्थ्यो । ऊ सकेसम्म नगदमा कारोबार गर्दैनथ्यो, जिन्सीमा जोड दिन्थ्यो । गाउँलेहरू घैँटो, हाँडी, चिलिम, मक्कल, गमला, घ्याम्पो उचालेर बजाउँदै भाउ सोध्थे, कति ? ऊ आफ्नो मालको मूल्य लाउँथ्यो , एक, दुई, तीन, ... वा नौ टोपी धान, गहुँ, मकै, आलु आदि । गाउँलेहरू मानापाथीले भरिदिन खोज्थे । ऊचाहिँ आफ्नै टोपीले भरिलिन जिद्दी नै गथ्र्यो । आखिरमा गाउँलेहरू उसैको टोपीले भरिदिन राजी हुन्थे । चार पाँच मानाले भरिएला जस्तो देखिने टोपी अन्न भर्दैगर्दा गर्भिणी आइमाईको पेट जस्तो फुल्दै आउँथ्यो र सितिमिति भरिँदै भरिँदैनथ्यो । यो देखेर गाउँलेहरू आत्तिन्थे । भाँडा लिने कि छोेड्ने, दोमन पनि गर्थे । लिने भनेर अन्न पनि भरिसकेको भाँडोलाई त्यसै छोड्नु पनि भएन । मन कटक्क पारेर अन्ततः भाँडा लिइहाल्थे । यस्तो कटक्क पारेर लिएको भाँडाकुँडासित मन–मुटु गाँसिने भयो नै । मगर्नी सासूको खेतबारीले वर्षदिन चुल्हो धान्न गाह्रो थियो । बीचमा यसरी भाँडा साट्नु पर्दा प्रलय नै हुन्थ्यो । त्यसमाथि वर्षदिनदेखि बुहारीको पेट पनि थपिएको छ ।
त्यसैले मगर्नी बुहारीलाई रातबिरात कुसमयमा पनि धारामा कुदिहाल्नुपर्छ । घरघरमा भान्सा धुवाँउने बेला हुँदा पनि धारामा पँधेर्नीहरूको मेला पातलो भएको थिएन । मेलो दिनभरि छुट्दैनथ्यो । त्यही मध्यरातितिर केही घण्टा खाली हुन्थ्यो । त्यो बेलामा पनि त्यहाँबाट आएको पानी आफ्नो खेत गह्रातिर सोझ्याउन गाउँलेहरू धाइरहेकै हुन्थे । फेरि एकाबिहानैदेखि उस्तै मेला सुरु हुन्थ्यो । यसको अर्थ नजिकै गाउँमा अरू दुई चारवटा धारा पँधेरा वा कुवाहरू नभएका होइनन् छन् । तर तिनीहरू वर्षामा उर्लिने, हिउँदमा सुक्ने खहरे खालका थिए । यसको भने मूलै फुटेकाले होला, एकनासको धारो खसिरहन्थ्यो– हिउँद–वर्षा सधैँभरि । जलजीव मकरको मुख आकारको ढुङ्गे डुँडबाट झर्ने धारो गाउँलेका लागि अमृत थियो । फेरि यसको अर्को विशेषता कस्तो भने यसको धारो हिउँदमा मनतातो, गर्मीमा चिसो हुन्थ्यो, गाउँलेको मनै हर्ने खालको । मगर्नी बुहारीले काँखीमा च्यापेर ल्याएको घैँटो पालोमा बिसाई र आफू एकातिर पुटुक्क डिलमा बस्न पुगी । अब घण्टाभरलाई यताबाट छुट्टिन मुस्किलै छ । पालो सारेर पानी थाप्न कुनै तोह थापेर अलिकति अघिलाग्न ऊ पँधेर्नीहरूसित त्यति भिज्न पनि पाएकी थिइन । दूधे बालकसम्म आफ्नो भइसकेको भए घरमा लाम्टा चुस्दैको बालख छोडेर आएको भनी पालो सारेर पँघेराबाट फुत्किन हुन्थ्यो । कुरा थामथुम मिलाउन सक्नेहरू त आउना साथै फर्की पनि हाल्थे । उसलाई त्यस्तो कुनै जतनजुक्ति पनि आउँदैन । त्यसमाथि ऊ वर्षदिनकी बुहारी मात्र थिई, त्यसैले गाउँले समकालीन चेली बुहारीहरूसित पनि राम्ररी घुलमिल भइसकेको थिएन । पँधेरामा एक दुई जना लोग्नेमान्छेहरू बेलामौकामा हातमुख धुन झरिरहेका थिए । उनीहरूलाई छलेर पँर्धेर्नीहरू रमाइला गफहरू गरिरहेका थिए । लोग्नेमान्छेहरू पनि नसुने जस्तो अथवा पँधेर्नीहरूको गफमा ध्यानै नदिएजस्तो गरी यिनीहरू आखिर के कस्ता कुरा उप्काउँछन् सुनिरहेका हुन्छन् । अस्सी वर्षको बूढालाई पनि तरुनीको कुरा सुन्ने रहर हुन्छ । बूढो पनि आखिर
लोग्ने मान्छे नै हो । लोग्ने मान्छे कहिल्यै बूढो हुँदैन, कमसेकम मन तरुनो रहिरहन्छ । यस्तैमा एक छेउबाट एउटी पँधेर्नीले एउटा प्रसङ्ग उप्काई हाली । सबैका कान त्यतै तेर्सिए । अस्ति शालिग्रामको घरमा गाईले साँढे खोज्दा साँढे लाउन लग्ने लोग्नेमान्छे कोही भएनन् रे ! लोग्नेमान्छे जम्मै बाहिरको बाहिरै परेछन् । साँढे लाउन शालिग्रामकी स्वास्नीलाई नै गाई डो¥याएर जानु परेछ । तै तिनलाई
भक्तपुरको सल्लाघारीको टुँडिखेलसम्म झर्नु परेनछ । बीच बाटोमै जब्बरको साँढेले गाईलाई पछ्याइहालेछ । अकस्मात् साँढे गाईमाथि उक्ली पनि हालेछ । आफैँमाथि साँढे चढेको ठानेर हो कि कसो ? शालिग्रामकी स्वास्नी त भुइँमै थचक्क बस्न पुगेकी रे ! मोरी त लाजले भुतुक्कै मरेकी रे ! पँधेर्नीहरू सबै गलल्ल हाँसे । मगर्नी बुहारी पनि एकछिन त हाँसी । अर्को क्षण भने लाजले भुतुक्कै भई । बादलको कापबाट यसो एकछिन पुलुक्क चियाएर फेरि बादलभित्र नै लुक्न गएको चन्द्रमा झैँ उसको मुखबाट हाँसो हरायो । उसको मानसपटलमा सासूको मुख मात्र झल्झली उदायो । उसले विस्तारै बित्दै गइरहेका आफ्ना कामहरू सम्झी । मनमा ढ्याङ्ग्रो ठोकियो । ऊ निकै हतारिई । तर उसको अगाडिको समयलाई कुनै हतारो थिएन । ऊ आफ्नै गतिमा थियो । पँधेरो पनि आफ्नै गतिमा थियो । तिनीहरूलाई किन आफूलाई जस्तै कुनै हतारो नभएको ? पँधेरो आफ्नै सुरमा घैँटाहरू भरिरहेको थियो । ती घैँटाहरूमा मगर्नी बुहारीको घैँटो अझ पर नै थियो । बल्ल मगर्नी बुहारीको घैँटोको पालो आयो । लामो सास तान्दै उसले आफ्नो घैँटो थापी र भरिसकेपछि उत्नीखेरै माथि बाटोमा उक्लिई । आलीको गोरेटोमा घैँटो र गाग्री छचल्किएर पोखिएको पानीले बाटो अलिअलि चिप्लो चिप्लो बनाएको रहेछ । मगर्नी बुहारी त्यही चिप्लोमा चिप्लिई । उसले थामिनलाई निकै प्रयास गरेकी थिई तर थामिन सकिन । आखिर ऊ एकातिर र उसले आफ्नो कम्मरमा टाँसेर च्यापेको घैँटो अर्कोतिर उछिट्टिएर त्यही चिप्लो बाटोमा अझ चिप्लो थप्नझैँ पानी पोख्दै उँधोउँधो गुड्दै गयो । चिप्लिएर उत्तानो लडिरहेकी मगर्नी बुहारी आफू उठिन । बरु आफूबाट उछिट्टिएको घैँटोतिर नजर दौडाई । घैँटो मगर्नी बुहारी उक्लेको बाटो उँधो लाग्दै धाराबाट गोरेटो उक्लने खुड्किलो हुँदै झ¥यो र पँधेराको भुइँमा ओछ्याएको ढुङ्गामाथि बजारियो । बजारिनु के थियो, घैँटो चकनाचुर भयो । यता मगर्नी सासूको भात पाक्यो । खाने बेला पनि भयो तर पानी आइपुगेको थिएन । आमाछोरा पानी लिन गएको बुहारीको बाटो हेर्दै आँगनबाट बाटोमा उक्ले । समय घर्किंदै थियो । पेटमा मुसा कुद्न थालेका थिए । तैपनि पँधेरो गएकी बुहारी देखिएकी थिइन । यतिकैमा पँधेराबाटै हस्याङ्फस्याङ गरेर आइरहेकी छिमेकी शालिग्रामकी स्वास्नी देखा परी । उसको बाटै छेकेर मगर्नी सासूले सोधी । हाम्री बुहारी त्यहीँ छ कि फर्की ? हैन, ऊ त अघि नै फर्केकी हो ब्यारे ! आइपुगेकी छैन ? उसले सिर्फ यति मात्र भनी र घैँटो च्यापेर आफ्नो बाटो लागी । त्यसो भए बुहारी कता अल्मलिई त ? आमा छोरा दुवैले बाटोमा आँखा विछ्याउँदै मनमनै भने । त्यो दिन साँझसम्म पनि बुहारी फर्किन । दिउँसोसम्म बाटोमा आउजाउ गरिरहेकी पँधेर्नीहरूसित बुहारीबारे सोधिरहेकी थिई मगर्नी सासू । साँझ तिनै पधेर्नीहरूले मगर्नी सासूसित सोधे– खै अहिले त फर्की बुहारी ? हैन, बुहारी त पोइल पो गई कि ! मगर्नी सासूले सुकेको स्वरमा जवाफ दिई । ‘पहिले पहिले त्यो पँधेरो गाउँलेको गर्जो टार्ने धारो मात्र थियो । त्यसको कुनै नाउँ पनि थिएन । त्यसपछि भने उसले परिचय नै पायो । त्यहाँदेखि त्यो पँधेरो पोइल जाने धाराको नामले प्रख्यात भयो ।’ पुनश्चः कालान्तरमा त्यो धाराको प्रख्याति निकै चुलियो । उसको नाम राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सुने । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दौडेर गाउँ पस्यो । उसले गाउँलेलाई त्यसको संरक्षणको खाका देखायो । बजेट पनि ऊ स्वयंले दिने भनेपछि गाउँले पनि मख्ख भए । त्यसपछि पँधेरोको कायापलट भयो । अहिले पँधेरोको धारो दुईवटा रिजर्भ ट्याङ्कीमा झर्छ र जम्मा हुन्छ । पँधेरो अहिले धारोभन्दा पनि पानीट्याङ्की भएको छ । पानी फारो पनि भएको छ । गाउँलेहरूले पँधेरोको नाम शनैःशनैः बिर्सिन थालेका छन् । सम्भवतः फेरि पँधेरो गुमनाम हुँदैछ ।

(यो कथा चाँगुनारायण नगरपालिका वडा नं.–२ दुवाकोटको पँधेरोको लोककथामा आधारित छ ।)

मधुपर्क, साउन २०७७
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?