logo
२०७७ श्रावण २७ मंगलवार

स्वागत (लघु–कथा)

कला |


2020-07-27-19279


पुरुषोत्तम बाँस्कोटा

विदेशी पाहुनाको आगमन हुने कुरा व्यापक प्रचारप्रसार हुन थाल्यो । मुख्य मुख्य सडक र सार्वजनिक स्थानहरू हराभरा गरिन थालियो । सडकका छेउछाउमा कृत्रिम वृक्षरोपण गर्नेदेखि लिएर कतिपय स्थानहरूमा दुबो रोप्ने र स्वागत द्वार बने । सहरका मुख्य मुख्य सडक रातारात कालोपत्र गरियो । सहरका मुख्य मुख्य स्थानहरूमा पाहुनाका ठूला ठूला तस्बिर झुन्ड्याउने काम भयो । सहर झिलिमिली देखियो । सरकारी पदाधिकारीदेखि सर्वसाधारण समेतलाई पाहुनाको स्वागतमा उपस्थितिका लागि आह्वान भयो र स्थान तोकियो ।
सहरमा निकै चहलपहल हुन थालेको देखेर बाबुलाललाई पनि पाहुनाको स्वागतमा गई प्रत्यक्ष रूपमा पाहुना हेर्ने इच्छा भयो । तोकिएको स्थानमा स्वागतका लागि तोकिएको समय अगावै लामबद्ध हुन पुगे बाबुलाल धेरै समयको प्रतीक्षापछि गाइँगुइँ हल्ला हुन थाल्यो ल ल अब आउनै लागे रे । त्यतिकैमा सडक सुनसान भयो । सुरक्षा निकायका गाडी मात्र गुड्न थाल्यो । साइरन बजाएका गाडी र मोटरसाइकलहरू अधिक रूपमा आउने क्रम सुरु भयो । गन्ती गर्नै नसकिने लस्कर बत्ती बाली गाडीहरू हुइँकिन थाले ।
स्वागतका लागि लामबद्ध बसेका सर्वसाधारण थपडी बजाउन थाले । सबैले थपडी बजाएको देखेर बाबुलालले पनि थपडी बजायो । केही बेरमै गाडीका लस्करहरू सकिए । बाबुलाललाई प्रत्यक्ष रूपमा पाहुना हेर्न निकै रहर थियो । नदेखिएला कि भन्ने चिन्ता थियो । सँगै उभिएका एक भलाद्मीलाई सोध्यो, ‘हैन हजुर, हाम्रा पाहुना कतिबेरमा आइपुग्नुहुन्छ ?’
भलाद्मीले मधुरो स्वरमा भने, ‘ए दाइ, पाहुना त आइसके नि ।’ छक्क पर्दै बाबुलालले भन्यो, हैन म अघिदेखि नै आँखा झिमिक्क नगरी हेरिरहेको छु । कता आउनु नि ! भलाद्मी भन्छन्, ‘हैन दाइ, अघि त्यत्रो गाडीको लाइन देख्नुभएन तपाईंले ? गाडीको लाइन त देखेँ नि, हो त्यही लाइनका गाडीमध्ये चारैतिरबाट घेरिएको बीचको लामो कालो गाडी भित्र थिए रे हाम्रा पाहुना ।’ 

मधुपर्क साउन २०७७

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?