logo
२०८० चैत्र १६ शुक्रवार



बाढीले डाइभर्सन भत्कायो, कानेपोखरी– रङ्गेली सडक अवरुद्ध

फिचर |


बाढीले डाइभर्सन भत्कायो, कानेपोखरी– रङ्गेली सडक अवरुद्ध


हरिप्रसाद कोइराला
कानेपोखरी (मोरङ), असार २२ गते । जिल्लाको पहिलो हुलाकी सडक भनेर चिनिने मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलामा आएको बाढीले फेरि डाइभर्सन भत्काएको छ । वारिपारि कालोपत्रे रहेको सडकमा बनेको अस्थायी डाइभर्सन गेउरिया खोलामा शुक्रबार राति आएको बाढीले भत्काएपछि शनिबारदेखि कानेपोखरी–रङ्गेली सडक अवरुद्ध भएको छ । डाइभर्सन भत्काएको यो तेस्रो पटक हो ।

डाइभर्सन भत्किएपछि रङ्गेली क्षेत्रमा निर्माणका सामग्री र खाद्यान्न बोकेर जाने आउने गाडी भित्री बाटो भएर सञ्चालन हुन थालेका छन् । पुल निर्माणको जिम्मा पाएको कम्पनी आधा काम गरेर भागेपछि हालसम्म पुल निर्माणको काम अलपत्र अवस्थामा छ । 'पुल बन्ने स्थानको उत्तर दक्षिण कालोपत्रे सडक छ, तर पुल बन्ने कुनै योजना छैन,' स्थानीय गोपाल खड्काले भन्नुभयो, 'हामीले पटकपटक भनिसक्यौँ । तर, आएर नापजोख गर्नेबाहेक केही काम भएको छैन ।'

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले ठेकदारको घरमै पुगेर पुल निर्माण गर्न अनुरोध गरे पनि ठेकदारले बेवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो, 'राजमार्गको पुल निर्माण गर्ने काम गाउँपालिकाको क्षेत्राधिकारमा पर्दैन । हामीले सम्बन्धित निकायसँग पहल गर्न छोडेका छैनौँ ।' छिमेकी रङ्गेली नगरपालिकाका मेयरसँग समेत पुल निर्माणका विषयमा छलफल भएको काफ्लेको भनाइ छ । तत्काल सडक सुचारु गर्न सडक कालोपत्रे गरिरहेको कम्पनीसँग कुरा भइसकेको अध्यक्ष काफ्लेले बताउनुभयो । डाइभर्सन बनाएर छिट्टै सडक सुचारु गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

पञ्चायत कालदेखि नै कालोपत्रे हुने सूचीमा पर्दैआएको कानेपोखरी–रङ्गेली सडक पटक–पटक ठेक्का लागेर पनि कालोपत्रे हुन सकेको थिएन । हाल यो सडकको कानेपोखरी– दर्वेशासम्मको २० किलोमिटर कालोपत्रे भइसकेको छ । पूर्व–पश्चिम राजमार्गसँग विराटनगर–रङ्गेली सडक जोड्ने जिल्लाकै सबैभन्दा पुरानो उत्तर-दक्षिण सडक हो ।

चार वर्षको अन्यौलपछि २०७४ असार ६ गते लामा-डाँफे-द कन्चनजङ्घा कन्ट्रक्सनले सडक कालोपत्रे गर्ने काम सुरु गरेको हो । कुल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपियाँमा निर्माण हुन लागेको हुलाकी राजमार्ग २४ दशमलव ४ किलोमिटर लम्बाइको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?