logo
२०७७ असार २९ सोमवार

घर भाडा

कोरोना कथा

कला |


2020-06-17-16655


 गोविन्द गिरी प्रेरणा

काठमाडौँको आकाश सफा थियो । घनश्याम बरन्डामा काठको मेचमा बसेर खुलेको आकाश हेरिरहेको थियो । बिहानको नित्यकर्मपछि ऊ घर पछाडि गएर केही बेर अल्मलिएर आएको थियो । टोल सुनसान थियो । अलिपरको एउटा रूखमा चराहरू भुर्र भुर्र उड्दै बस्दै गरिरहेका थिए ।
राधिका स्टिलको थालमा दुई कप चिया लिएर टुप्लुक्क उसको सामु झुल्किँदा घनश्याम झन्डै झस्कियो तर सम्हालियो ।
सँगैको अर्को मेचमा बस्दै राधिकाले चियाको थाल स्टुलमा राखी ।
‘कालो चियाले पनि वाक्कै हुन लागियो । दूध कहिले सजिलो गरी पाइएला !’ राधिकाले भनी ।
घनश्यामले राधिकाको मुखमा पुलुक्क हे¥यो मात्र । जबाफमा केही बोलेन । बन्दाबन्दी सुरु भएको डेढ महिना नाघिसकेको थियो । घरमा बस्दा बस्दा वाक्क ब्याक्क भएका थिए दुवै । बिहे भएको दसौँ वर्ष बित्दा पनि उनीहरू यसरी १० दिन कहिल्यै सँगै बसेका थिएनन् । बिरामी पर्दा पनि यसरी सँगै १० दिन बसेका थिएनन् । बुढाले बुढीको अनुहार, बुढीले बुढाको अनुहार कति हेर्न‘ । कुन विषयमा कति कुरा गर्न‘ । चुप लागेर पनि कति बस्नु । दुवै आआफ्नै किसिमले आजित भएको महसुस गर्दै थिए ।
“हैन, यिनीहरूले घरभाडा दिने नामै लिँदैनन् त ! हिजोदेखि त चालचुल पनि केही छैन ।” राधिकाले भनी ।
“देलान् नि । अहिलेसम्म बेइमान गरेका छैनन् । ढिलो पनि गर्दैनथे,” घनश्यामले भन्यो ।
त्यसपछि दुवै चिया सुरुप सुरुप पार्न थाले ।
‘यसो ढोका ढकढकाएर भन्नु पर्छ कि !’ राधिकाले भनी ।
“पर्ख न । लक डाउन छ । कतै जान पाएका छैनन् । किन आत्तिरहनु प¥यो ?” घनश्यामले भन्यो ।
“खै, सरकारले घरभाडा नलिनु भनेको छ रे घरबेटीलाई । त्यसै भएर त हैन ? हात हातमा मोबाइल छ, सबै कुरा थाहा पाएर त हैन नदिन खोज्या !” राधिकाले भनी ।
“खै हामीलाई कसले भनेको छ र ! नियम बनाए त हामीले थाहा पाउनु पर्दैन र ?” घनश्यामले भन्यो ।
“लौ मन्त्रीले भनेको भनेर छ्याप्छ्याप्ती हल्ला छ । मेरा साथीहरू पनि पनि त्यसै भन्दै थिए फोनमा,” राधिकाले भनी ।
“अब नियमै बनेछ, नलिनू भन्छ सरकारले भने त हामीलाई मात्र नहोला । सबैले मान्छन्् भने हामीले मात्र नमान्ने कुरा भएन क्यारे !” घनश्यामले भन्यो ।
“खै के हो के हो ! बुझिनसक्नु छ सरकारको चाला पनि ! फेरि कति घरबेटीले त घरभाडा माफ गरेको भनेर फेसबुकमा फोटो हाल्न थालेका छन्् । पुगिसरी आउनेले त गरे भो नि ! हाम्रो त घर बनाएको सापटी तिरिभ्याउन पाएको छैन । सञ्चयकोषको ब्याज अर्कोतिर छ । “राधिका एकोहोरो फतफत गरिरही ।
घनश्याम चुप लाग्यो र चियाको कप रित्यायो ।
“लौ है यसो मौका हेरेर भन्न पर्छ ! चुप लागेर मात्र कहाँ हुन्छ ?” राधिका यसो भन्दै चियाको रित्ता कपहरूसहितको थाल बोकेर भित्र गई ।
के भन्नु यस्तो बेलामा पनि ! काममा जान पाएका छैनन् । घरमा पैसा थिएन कि ! नत्र त महिना मर्न नपाउँदै मुसुक्क हाँसेर घरभाडा ल्याएर दिन्थे । घनश्यामले आफूले आफैंलाई भन्यो र कम्पाउन्डको छेउको सानो ग्रिलको गेटमा गएर टोलको के छ चहलपहल टाढासम्म आँखा पु¥यायो । चारैतिर सुनसान थियो । हिजो राति परेको पानी सुकिसकेको थिएन र खाल्डाखुल्डीमा जमेका थिए । सिर्सिरे हावा मीठो लाग्ने खालको थियो । गणेश हिमाल पनि
टड्कारो देखियो । सफा कञ्चन ।
मीना र सावित्री भन्थे नाम । उमेरदार युवतीहरू थिए । डेरा खोज्दै आइपुगेका थिए । सुरुमै यौटीले भनेकी थिई, “हेर्नुस्, हामी काम गरेर खाने मान्छे हौँ । तपाईंहरूलाई हामी डेरा भाडा समयमै दिन्छौँ । हामी दुवैको बिहा भएको छैन । तर हामी कोठामा कोही पनि ल्याउन्नौँ । हाम्रा कोही केटा साथी छैनन् । केटी साथीहरू पनि ल्याउन्नौँ । तपाईंको घरको मर्यादाको हामी कदर गर्नेछौँ । आफ्नै घरजस्तो सफा सुग्घर गरेर बस्छौँ । नाईं नभनीकन हामीलाई डेरा दिनुहोस् । खोज्दा खोज्दा सारै हत्तु भइयो । काठमाडौँमा बिहे नगरेका केटीहरूले कोठा पाउनै महाभारत !”
घनश्याम र राधिकाले एकआपसमा मुखामुख गरेका थिए ।
“काम चैँ के गर्छौ नि नानी ?” राधिकाले सोधेकी थिई ।
“यो सावित्री गाउँबाट आएकी ३ महिना भो । मलमा सेल्सको काम थालेकी छ । म चाहिँ बिहान कलेज जान्छु, बेलुकी रेस्टुराँमा काम गर्छु । तर काठमाडौँमा कामको के ठेगान र ! प्राइभेट कामको टुङ्गो नै हुँदैन । कतिखेर निकाल्दिने हुन्, पत्तै हुन्न ! मेरो यो पाचौँ जागिर हो यो ! ढाँट्ने कुरै छैन ।” मीनाले एकै सासमा भनेकी थिई ।
“कालबेला यही हो नानी ! हाम्रो लागि घरभाडा नै महिना चलाउने कमाइ हो । अलि महँगो छ । फेरि भाडा ढिलो यताउति गर्न पाइँदैन,” राधिकाले प्वाक्क भनेकी थिई ।
‘‘कति होला ?” मीनाले नै सोधेकी थिई ।
“सानो ठूलो गरी दुई कोठाको नौ हजार ! तर हामी बिजुली पानीको अलग्ग लिन्नौँ । हिटर चाहिँ बाल्न पाइन्न,” राधिकाले नै भनेकी थिई ।
सात हजारमा दिने गरेको दुई कोठा राधिकाले नौ हजार भनेकी थिई । कोठा दुईवटा भए पनि एउटा चाहिँ कोठा भन्न मिल्ने नै थिएन । साँघुरो, यसो सामान राख्न वा भान्सा बनाउनसम्म मिल्ने खालको थियो ।
राधिकाको कुरा सुन्ने बित्तिकै मीनाले भनेकी थिई, “भैहाल्छ नि । भाडा छिट्टै त बढाउनु हुन्न नि ! हामी आफ्नै घरजस्तो गरेर बस्ने हो । ..बरु मेरो कामबाट फर्कंदा कहिलेकाहीँ राति ढिलो पनि हुन्छ, डिस्टर्ब त हुँदैन नि ! के गर्नु अहिले यस्तै काम पाइएको छ ।”
“हल्लाखल्ला नगरी आफ्नो कोठामा आउँदा केको डिस्टर्ब हुनु नि !” राधेश्यामले भनेको थियो ।
घनश्याम बीचमा बोलेको राधिकालाई मन नपरेको भावले ठाडो आँखाले हेरेकी थिई । त्यसपछि ऊ चूप लागेर कोठाभित्र गएको थियो । अनि
एकछिन्मा राधिका हजार हजारको नौवटा नोट हल्लाउँदै भित्र पसेकी थिई ।
“लौ गएन त कोठा नौ हजारमा ! यस्तो कोठा दस हजारमा पाइँदैन आजकाल । अझै यिनीहरूलाई एक हजार सस्तो भयो ।” राधिका एक्लै फत्फताई । घनश्याम चाहिँ उसलाई हेरेर मुसुमुसु हाँसिरहेको थियो ।
भाडामा बस्नेहरू कतिबेला उठ्छन्, कतिबेला बाहिर जान्छन्, कतिबेला आउँछन््, चासो नै भएन । घनश्याम आफ्नो जागिरमा नियमित रूपले जान्थ्यो । आउँथ्यो । ६ वर्षको छोरो थियो । बेलाबेलामा ऊ भने तिनीहरूको कोठामा जाने गथ्र्यो र कहिले चकलेट कहिले बिस्कुट हातमा लिएर रमाउँदै आउँथ्यो । उनीहरू त्यसलाई सामान्य रूपमै लिन्थे । प्रायः मीना नै महिनाको एकपल्ट ढोका ढकढक्याउन आइपुग्थी र राधिकाको हातमा नौ हजार बुझाएर जान्थी । राधिकाले चिया पिएर जाऊ न नानी भनेर हरेकपल्ट भन्थी तर कहिल्यै एक कप चिया पिइन ।
एक दिन राति छोरो निदाइसकेपछि राधिकाले भनी,” यिनीहरू त बजारु केटी भनेर टोलमा कुरा काट्दा रहेछन्् नि ! हेर्दा त त्यस्तो केही देखिन्नन् । बोली व्यवहार पनि त्यस्तो देखिन्न ।”
“खै, म के जानूँ । सबथोक व्यवहार तिम्रै जिम्मा हो क्यारे । भाडा पनि तिमीले नै तय गरेकी हौ । दुई हजार भाडा बढाएर तिमीले नै राखेकी हौ । अब अर्काको कुरा सुन्ने होइन, चुपचाप राम्ररी बसुन्जेल बस्न दिने !” घनश्यामले भन्यो ।
“तर एउटा समस्या चाहिँ पर्ने भो नि !” राधिकाले भनी ।
“के समस्या ?” घनश्यामले सोध्यो ।
“अब रात बस्ने गरी माइत, आफन्त यताउती जान नपाउने भएँ !” राधिकाले भनी ।
“किन र ? किन नहुने ?” उसले सोध्यो ।
“म नभएको बेला ढोका ढकढक्याउन जानु होला भनेर नि !” राधिकाले कटाक्ष गर्दै भनी ।
“धत् लाटी” भन्दै घनश्यामले राधिकाको गाला टोक्न थाल्यो ।
पछि घनश्यामले पनि टोलेहरूबाट सुन्यो, आजकाल दुवैजनाले डान्स बारमा काम गर्न थालेका छन्् । तर गर्छन भने गरून् । के गर्न सकिन्छ त्यसमा ? डान्सबारमा काम गर्ने भन्दैमा किन दुव्र्यवहार गर्न‘परेको छ र ! घरमा केही नराम्रो काम गरेका छैनन् । व्यवहार नराम्रो गरेका छैनन् । कोठामा धन्दा गरेका छैनन् । किन यी टोलेहरूको टाउको दुखाइ ? बरु डान्सबारमा काम गर्ने कुरा यिनीहरूले कहाँबाट थाहा पाए ? पक्कै गएका होलान् डान्स बारमा र पो देखे होलान् । भने, टोलेहरू चाहिँ ठीक, यी काम गरेर खानेहरू चाहिँ बेठीक ! वाहियातहरू ! घनश्यामलाई झोँक चल्यो टोलेहरूसँग तर केही भनेन । उनीहरूको कुरा सुन्यो मात्र ।
अचानक आएको यो कोरोनाको महामारीले साराका सारा अस्तव्यस्त पा¥यो । समाचार हेर्न भनेको मृतकको सङ्ख्या थपिएको सुन्नु हुन्छ । सङ्क्रमितहरूको सङ्ख्या थपिएको सुन्नु हुन्छ । अस्पतालले बिरामी फर्काएर अर्को अस्पतालमा चहार्दा चहार्दै बिरामीको दर्दनाक मृत्यु भएको सुन्नु हुन्छ । बन्दाबन्दी पालना नगर्नेलाई दण्डित गरेको हेर्नु हुन्छ । पूर्व मेची पश्चिम काली लालाबाला लिएर पैदल जानेहरूको लर्को हेर्न‘ हुन्छ । हरे, के समय आयो ? यतिसारो दुःखका बीच, मानवीयताको दयनीय अवस्थाको बीच काठमाडौँको प्रदूषण घटेकोमा रमाउनुपर्ने ? घनश्याम आफैँसँग प्रश्न गर्न लाग्यो र घरको उत्तरतर्फको सेपमा भएको थोरै खाली जमिनमा लगाएको करेसाबारीतिर पुग्यो ।
दुई तीन बोट सिमी थियो, लटरम्म फुलेछन्् । पाँच सातवटा गोलभेँडा त पाकेर रहरलाग्दा रातै भएछन्् । धनियाँ पनि हलक्कै बढेर चुँड्न मिल्ने भएछन्् । लौ रामतोरिया त दुई बोटमा १२ वटा, आठवटा त टिप्न मिल्ने । साग पनि सप्रिएछ । घनश्यामले तरकारीका बोट छेउमा सप्रेका घाँस उखेल्यो । अनि नजिकै बनाएको सानो खाडलमा हाल्यो । कुहिएपछि मल बनाउन । त्यसपछि ऊ बरन्डामा गयो र एउटा प्लास्टिकको झोला टिपेर तरकारी लिन फेरि करेसाबारीतिर लाग्यो ।
०००
घनश्यामले तरकारी टिप्दै प्लास्टिकको झोलामा राख्दै गर्दा नजिकैबाट सुँक्क सुँक्कको आवाज आयो । यो आवाजले घनश्यामका कान ठाडाठाडा भए । चनाखा भए । उसले सुस्तरी सुन्यो, रुवाइको आवाज त उसकै घरबाट आएको छ । ऊ झ्यालछेउ पुग्यो । झ्याल बन्द थिए तर भित्रबाट साँक्क सुँक्क र घाँक्क घुँक्क आवाज आइरहेको थियो । मीना र सावित्री रुँदै बात मार्दै थिए,” अब यस्तो तालले त भोकै मरिने भयो ! आजदेखि त पकाउन पनि केही छैन !”
“पैसा पनि त छैन । घर भाडा दिन पनि सकिएको छैन । यतिन्जेल त केही भनेका छैनन् । घरभाडा दिन सकेन भनेर निकाल्दिने पो हुन् कि ! कति ठाउँमा त साँझपख गलहत्याएर निकाल्देको रे भनेर फेसबुकमा लेख्या छ !”
“निकाल्दिए रुँदै रुँदै गाउँ जाउँला नि ! हाम्रो कर्मै यस्तो रहेछ !”
“लास्ट दिनको मोरोले पाँच हजार उधारो गरेर पो । अरू पैसा गाउँ पठाइहालियो आमाको उपचारलाई भनेर ।”
“मेरो त डान्स बारको मेनेजरले नै बेइमानी ग¥यो । पछि त फोन उठाउनै छाड्यो ।”
“मेरो त पिसाप पोल्ने भाको छ, खै के भाको हो कुन्नि । औषधि पसल पनि कसरी जानु । त्यसमाथि पैसा न सैसा कसरी जानु । मरिन्छ कि क्या हो नानी ?”
“के उपाय गर्ने होला त ! घरभाडासम्म मुख बुजो हाल्दिन पाए पानी पिएर भए पनि अलि दिन बाँचिन्थ्यो होला ।”
योभन्दा अरू घनश्यामले सुन्न सकेन । ऊ साग टिप्न थाल्यो । साग राम्रै सप्रिएको थियो । यसो अलिकति तरकारी र चामल दिन पाए हुने यिनीहरूलाई । तर राधिका आइमाईका पक्षमा कुरा गरेको सुन्नै चाहन्न । भरे सुत्न जाने प्लान ग¥यौ कि क्या हो बूढा भनी भने के
भन्नू ? घरभाडाको बारेमा पनि के भन्नू ? घरभाडा ढिलो गरे भनेर उसै त गनगन गर्दैछे । यस्तै अनेक सोच्दै, तर्कना गर्दै प्लास्टिकको झोलाभरि तरकारी टिपेर ऊ घरको मुलढोकातिर पुग्यो । घरको गेटबाहिर कल्याङ्मल्याङ आवाज सुन्यो । उसको आँखा त्यतै पुगे । पारिपट्टिका घरवाला दूध पनि पाइएन, तरकारी पनि पाइएन भन्दै गनगन गर्दै रहेछन्् अर्का छिमेकीसँग । यसो फुर्सतमा आफ्नो सानातिना ठाउँको सदुपयोग गरे यसरी घरमै फलेको अर्गानिक खान पाइन्थ्यो नि । कति घर बहालमा बस्नेले गमलामा फलाएर त मजाले खाएका छन्् ! घनश्यामले मनमनै भन्यो र घरभित्र पस्यो । भान्सामा गएर तरकारीको झोला राख्यो अनि बाहिर निस्केर धारामा हातखुट्टा धुन थाल्यो ।
राधिकाले ढोकामा आएर हेरी । घनश्याम हातखुट्टा धुन लागेको देखेरभित्र पसी ।
घनश्याम हातखुट्टा धोइवरी बाहिरै तौलियाले पुछपाछ गरी यसो आङ मर्काउन थाल्यो । उसले फेरि सफा आकाशतिर हे¥यो । आहा बन्दाबन्दीले प्रदूषण भने घटाएकै हो बा ! बल्ल सास फेर्नलायकको भयो काठमाडौँ । फेरि पछि उस्तै त हुने होला नि ! उसले फेरि सोच्यो र हातका औँला पड्काउँदै कोठातिर लाग्यो ।
छोरो उठेर खाटमै धुमधुमती बसेको रहेछ । राधिकाले चार कप चिया बनाएकी रहिछ । उसले भनी,” ती नानीहरूलाई बोलाएकी छु,” उसले भनी ।
“लौ अब राधिकाले के बित्यास पार्ने भई । घरभाडा माग्न बोलाएकी होली । मसँग एक वचन सोधेको भए पनि त हुन्थ्यो । अलि दिन चुप लागौँ भन्ने थिएँ । विचरा तिनीहरूको हालत भर्खरै आफ्नै कानले सुनेको छु । मैले के भन्नु अब ? अघि झ्यालबाहिर सुनेको कुरा पनि कसरी भन्नू ?” घनश्यामलाई भित्रभित्रै उकुसमुकुस भयो, ऊ भित्रभित्रै पाक्न थाल्यो ।
सानो टी टेबलमा उसले चिया राखेकी थिई थालमा । एक पुरिया बिस्कुट पनि खोलेर प्लेटमा राखेकी थिई । मीना र सावित्री आए र नमस्कार गरे । छोरो झ्याम्मिदै मीनासँग टाँस्सिन पुग्यो । “हैन दिदीलाई दुःख नदेऊ,” भन्यो घनश्यामले । मीनाको हातबाट एउटा चकलेट पाउनेबित्तिकै ऊ दगुर्दै कोठा बाहिर गयो ।
राधिकाले चिया र बिस्कुट दिँदै भनी “खाऊ न नानीहरू ।”
उनीहरूले चिया लिए । बिस्कुट पनि टिपे । घनश्यामले पनि लियो । ऊ त्यसै त्यसै उकुसमुकुस भइरहेको थियो । राधिकाले पनि चियाको कप समाती ।
मीनाले मलिनो स्वरमा भनी, “हामीले यसपालि घर भाडा दिन ढिला गरेर यहाँहरूलाई दुःख भो हगि । तर हामीसँग नभएरै हो । बन्दाबन्दीले आपतै पा¥यो नि । काम पनि बन्द भो । हामीसँग यही छ,” भनेर एउटा आधा तोला जतिको सुनको औँठी दिँदै भनी, यो राख्नुस् न है ।
राधिका एक्कासि च्याँठई “लौ के भनेको ? यस्तो दुःख परेको पनि नबुझ्ने हौँ र हामी । मैले अघि तिमीहरूले कोठामा गरेको सप्पै कुरा सुनिसकेकी छु । हामी पनि मान्छे हौँ नानी । हामीभित्र पनि हरि छ । हाम्रो त रिन गरेर बनाएको भने पनि घर त छ टाउको लुकाउन । तातो पानी तताएर खान । यो बन्दाबन्दीभरिको डेरा भाडा दिन पर्दैन । पछिको चाहिँ काम सुरु भए दिँदै जानू । ल यो तरकारी, दाल चामल छ, लैजाऊ, बाँडीचुँडी खाने हो । आफ्नै घर सम्झिनू ।”
राधिकाले त घनश्यामले अघि टिपेको तरकारी आधा जति, एउटा थैलोमा दाल र पाँच किलोको चामलको प्याकेट पनि तयार पारिसकेकी रहिछ । घनश्याम हुनसम्म छक्क प¥यो । मीना र सावित्रीले खुसीले आँसु खसाले । राधिकाले चियाका रित्ता कपहरू भाँडा माझ्ने ठाउँमा लगेर राखी । दाल, चामल र तरकारी लिएर मीना र सावित्री आफ्नो कोठातिर लागे । राधिका पनि उनीहरूसँगै पछि लागेर गई ।
लौ, मैले राधिकाको भित्री मन आजसम्म बुझ्न नसकेको रहेछु, घनश्यामले भन्यो आफैँलाई । थाहै नपाई उसका आँखा पो रसाएछन्् । उसले हत्त न पत्त आँसु
पुछ्यो राधिका आइहाल्ली र देख्ली भनेर ।

मधुपर्क असार २०७७

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?