logo
२०७७ असार २९ सोमवार

मान्छेको स्वाद (कथा)

कला |


2020-06-17-16653


रत्न प्रजापति

बिहानको उज्यालोसँगै इन्द्रायणी सामुदायिक वनको आकाशमाथि कागको बथानले फन्का मार्न थाले । मर्निङवाकमा निस्केको सूर्यमान श्रेष्ठले एकछिन् रोकिएर त्यतातिर हे¥यो । उसँगै मर्निङवाकमा निस्केको चन्द्रमणि विष्टले पनि उसैगरी एकछिन् रोकिएर त्यतातिर हे¥यो ।
‘के भएछ त वनमा ?’
जिज्ञासा बोकेर सूर्यमान श्रेष्ठ र चन्द्रमणि विष्ट वनभित्र पसे ।
वनको बाटो हिँड्दैहिँड्दै कागले फन्का मारेको ठाउँसम्म पुगे । कागका एक बथान रुखमा बसेरै कराइरहेका थिए । थप जिज्ञासासहित ती दुवै जना काग कराएको नजिक पुगे । नजिक पुगेर तिनले जुन दृश्य देखे, त्यो देखेर दुवै अवाक भए, स्तब्ध भए । पत्याउनै गाह्रो दृश्य देखेका थिए तिनले । रुखको एउटै हाँगामा एउटै डोरीमा केटा र केटीको दुइटा शरीर तुन्द्रुङ्ग झुन्डिरहेको थियो ।
‘जिउँदै छन् कि मरिसके ?’
यस्तो सोच्दै सूर्यमान श्रेष्ठ अलिकति अगाडि गयो । तिनलाई वन पुग्नै झन्डै आधा घण्टा लागेको थियो । भर्खरै झुन्डिएका हुन् भने पनि यतिबेलासम्म त प्राण उडिसक्यो होला ।
‘अब के गर्ने ?’
चन्द्रमणि विष्टले भन्यो । खोइ के गर्ने भनेझैँ गरी सूर्यमान श्रेष्ठले चन्द्रमणि विष्टतिर हे¥यो ।
‘एकपल्ट हेरौँ न त ।’
यसो भन्दै चन्द्रमणि विष्ट अलि अगाडि स¥यो । सूर्यमान श्रेष्ठ पछिपछि गयो । मान्छे झुन्डिएको रुखनजिकै पुगेर नियालेर हेरे । अहँ, कुनै चलहल छैन । दुवै शरीर निष्प्राण झुन्डिरहेका थिए, रुखमा लौका झुन्डिएजसरी । रुखमा मान्छे फलेजस्तो ।
‘कालजमाना ठीक छैन । त्यसैले यहाँ बसिरहनु उचित होइन ।’ सूर्यमान श्रेष्ठले भन्यो ।
‘डरछेरुवा ।’ चन्द्रमणि विष्टले जिस्कायो ।
‘यतिखेर अरू कसैले हामीलाई देखे भने ?’ सूर्यमान श्रेष्ठले झन् डराएर भन्यो ।
‘हो है । हामीमाथि नै शङ्का हुन्छ ।’ अब भने चन्द्रमणि विष्ट पनि डरायो ।
त्यसपछि दुवैजना हतारहतार घर फर्किए अर्थात् गाउँ फर्किए । ती गाउँ पुगेपछि एक कान दुई कान हुँदै धेरैले थाहा पाए इन्द्रायणी सामुदायिक वनमा जोडी मान्छे झुन्डिएको कुरा ।
अब मानिसहरू हुलै बाँधेर वनतिर लागे । वनमा वनभोजमा जस्तै मानिसहरूको भीड लाग्यो । प्रहरी पनि आए । डोरी काटेर लासलाई भुइँमा झारे । मुढाझैँ तनक्क तन्किए दुवै लास । मान्छेको भीडबाट आवाज आउन थाल्यो, ‘च्वच्व.. । किन यस्तो अपहत्ते गरेका होलान् ? के पीर प¥यो होला ? के पाप गरेका होलान् ? समाजमा मुख देखाउन नहुने के काम गरे होलान् ? किन मर्नैप¥यो ? को होलान् ? कहाँका होलान् ? आदि, इत्यादि ।
एउटी आइमाईले केटीको लासनजिक गएर भनी, ‘यिनलाई त मैले हिजो साँझ मेरै घरको बाटो हुँदै गाउँमा आएकोे देखेकी थिएँ ।’
लासको मुचुल्का उठाउँदै गरेका प्रहरीका कान ठाडा भए । तिनले पहिलो बयान उही आइमाईसँग लिए । उसले पनि आफूले देखेको कुरा सविस्तार बताई । प्रहरीले उसको बयान कागजमा टिपे ।
फेरि अर्को लोग्नेमान्छे अगाडि सरेर भन्यो, ‘यो केटा त चारदोबाटोका चन्द्रबहादुर विकको छोरा होइन र ?’ अरू पनि अगाडि सरे । तिनले त्यही कुरा भने । सबैले चिने त्यो केटा त्यही गाउँको चन्द्रबहादुरको छोरा कृष्णको रहेछ ।
सूर्यमान श्रेष्ठ र चन्द्रमणि विष्ट केही नबोली हेरिरहे ।
केटासँगै झुन्डिएर मरेकी केटीलाई भने कसैले चिन्न सकेनन् । ढिलो गरी हेर्न आइपुगेकी एउटी महिलाले निकै नियालेर हेरिसकेपछि भनी, ‘यो केटीलाई त पल्लो गाउँमा देखेकी थिएँ । त्यतैकी हुनुपर्छ ।’
प्रहरीले दुवै लासलाई ओल्टाइपल्टाई हेरे । दुवैका साथबाट परिचयपत्र भेटियो । केटाको नाम कृष्ण विक । केटीको नाम सम्झना खड्का बस्नेत ।
दुइटा थर देखेपछि सबैले लख काटे, केटी विवाहिता हो । तर केटा भने अविवाहित छ ।
चन्द्रबहादुरले पोहोरसालै छोराको बिहे गरिदिन खोजेको थियो । तर केटाले मानेको थिएन । केटाको यस्तो सम्बन्ध रहेछ ।
रुँदारुँदैको चन्द्रबहादुरले रिसाउँदै भन्यो, ‘कहीँ नभा’की राँड । आफू त मरीमरी । मेरो छोरालाई पनि मारी ।’
चन्द्रबहादुरको कुरा सुनेर उपस्थित सबैको मनमा त्यो केटी बिग्रिएकी हो भन्ने लाग्यो । बिहे भएर अर्को केटासँग लाग्ने केटीलाई बिग्रिएकै भन्छन् । चन्द्रबहादुरको घरसम्म खबर पुगिसकेछ । चन्द्रबहादुरका परिवारै रुँदै, कराउँदै आइपुगे । वनै थर्किनेगरी आलापविलाप गर्न थाले । मान्छेको आलापविलाप सुनेर अब वनका अरू चराचुरुङ्गी पनि वनै थर्काउने गरी कराउन थाले । शोकधुन बजेजस्तो सुनियो चराचुरुङ्गीका आवाज पनि ।
केटासँगै मर्ने केटीका तर्फबाट कोही पनि आएनन् । सायद उसका कोही आफन्त थिएनन् त्यहाँ । मुचुल्का उठाउने काम सकेर प्रहरीले दुइटै लास लिएर गयो । तमासा हेर्न भेला भएकाहरू एकछिन् स्तब्ध भए । प्रहरीको भ्यान गइसकेपछि गाइँगुइँ गर्न थाले ।
‘अचेलको अन्धो प्रेम !’
‘लोग्ने विदेशमा होला !’
‘कति चाहिने रै’छ त्यसलाई लोग्नेमान्छे !’
‘केटाले मोज गर्न पा’को !’
‘तिनको गुप्ती सम्बन्ध परिवारले थाहा पाए होलान् !’
‘मर्नैपर्छ त ? काँतरहरू...!’
सम्झनाको बिहे गाउँकै केटासँग भएको थियो । बिहे हुनलाग्दा सम्झना दस कक्षामा पढ्दै थिई । सम्झनाले पढ्छु, बिहे गर्दिनँ भन्दा बाबुआमाले मानेनन् । राम्रै घरबाट कुरा आएको छ । बाढीमा बल्छी नथापे पछि पछुताउनुपर्ला । यसो भन्दै बाबुआमाले उसको बिहेको कुरा छिने ।
भरत बस्नेत । बमबहादुर बस्नेत र विष्णुकुमारी बस्नेतका एक्लो छोरा । त्यही गाउँमा जन्मी हुर्केको । बीएसम्म पढ्यो । तर जागिर खान सकेन । जागिर त्यति सस्तो थियो र उसले सजिलै जागिर पाउनु ।
धेरै ठाउँमा दरखास्त दियो । धेरै ठाउँमा जाँच दियो । कतै लिखितमै फेल । कतै अन्तरवार्ताबाट आउट । बाबु बमबहादुरले चिनेजानेकालाई भनसुन पनि ग¥यो । धेरैलाई भन्यो । तर कसैले सुनेनन् । उसले भोट हालेको राजनीतिक दलको गाउँले नेतालाई पनि भन्यो । गाउँले नेतामार्फत् केन्द्रीय नेतालाई पनि भन्न लगायो । तर उसले कतै जागिर पाउन सकेन । सबैले आश्वासन मात्रै दिए । जागिर कसैले दिएनन् ।
ऊ बेरोजगार बन्यो । ऊ बेरोजगार बन्नु भनेको बमबहादुर र विष्णुकुमारीका लागि ऊ बोझ बन्नु थियो । बमबहादुर र विष्णुकुमारी खेतीकिसानी गर्ने तर ऊ नगर्ने । पढेको मान्छेले पनि खेतीकिसानी गर्छन् भन्ने उसको मान्यता । खेतीकिसानी नै गर्ने भए त्यत्रो वर्ष किन पढ्नुपथ्र्यो भन्ने उसको सोचाइ ।
‘पढेको मान्छेले खेतीकिसानी गरे उब्जनी अझै बढ्छ ।’ बमबहादुर सम्झाउँथ्यो छोरोलाई ।
उसको सोचाइ सही थिएन र गलत पनि थिएन । गलत थियो त सरकार । सरकारले रोजगारी दिन सकेन । रोजगारी बढ्ने उद्योगधन्दालाई प्रोत्साहन दिन सकेन । त्यसैले देशमा शिक्षित बेरोजगारको सङ्ख्या बढ्यो । हातमा डिग्री बोकेर जागिर खोज्नेहरूको लाइन लामो भयो । कोरिया जान रातभर लाइनमा बसेर दरखास्त बुझाउने युवाको भीडले पनि यही भन्छ । बेरोजगारीको कहालीलाग्दो अवस्था । देशको अँध्यारो भविष्यको सङ्केत ।
अब ऊ जागिर खोज्ने लाइनमा बस्न छाडेर विदेश जाने लाइनमा बस्यो । म्यानपावर कम्पनी धाएर विदेश जाने प्रक्रिया मिलाउन थाल्यो । कम्पनीले भन्यो, ‘अब दुई महिनामा भिसा आउँछ । त्यसपछि उड्ने हो । उड्नलाई तयार रहनू ।’
उसले विदेशको सपना देख्न थाल्यो । घरीघरी विदेशमा पुगेर काम गरेको सपना देख्न थाल्यो । सयौँ तला अग्ला घरमा डोरीमा झुन्डिएर रङ लगाएको । पचास डिग्री तापक्रममा डन्डी बोकेको । आँखा झिमिक्क नगरी मेसिन चलाएको । एसीजडित कोठामा सुतेको । आदिइत्यादि ।
विदेश जाने प्रक्रिया चल्दै गर्दा उसको बिहेको कुरा चल्यो । उसलाई विदेश पठाउनुअघि घरमा बुहारी भिœयाउने सपना देख्न थाले उसका बाबु बमबहादुर र आमा विष्णुकुमारीले । बुहारी भिœयाउने सपना देखाई उसकै फुपू शकुन्तलाले ।
‘छोरा विदेश गएपछि कहिले फर्कन्छ कहिले । घरमा बूढाबूढीलाई स्याहार्ने बुहारी चाहिएन ?’ शकुन्तलाले दाइभाउजुलाई उचाली ।
बमबहादुर र विष्णुकुमारीलाई बहिनीको कुरा मनासिब लाग्यो । विदेश जानुअघि छोराको बिहे गरिदिने निधो गरे । तर भरतले बिहे गर्न इन्कार ग¥यो । विष्णुकुमारीको आँखामा आँसु टिलपिल भयो । उसले आमाको आँखामा आँसु देख्न सकेन र भनिदियो हुन्छ म बिहे गर्छु ।
शकुन्तलाले आफ्नो भदाका लागि आफ्नै छिमेकी अर्जुन खड्काकी छोरी सम्झना खड्काको हात मागी । केटा विदेशमा कमाउन जान लागेको थाहा पाएपछि तुरुन्तै छोरी दिन तयार भए खड्का परिवार ।
बिहे भयो । यता सम्झनाको पढाइ छुट्यो । उता भरतको त देशै छुट्यो । बिहेलगत्तै ऊ विदेश उड्यो । भर्खर बिहे गरेकी श्रीमतीलाई माया गर्ने धोको पनि पूरा नगरी ऊ विदेश उड्यो ।
यता सम्झनालाई पनि त्यस्तै भयो । भर्खरै लोग्नेमान्छेको मायाको अनुभव गर्दै थिई, छुटिहाल्यो । एउटा मीठो सपना, देख्दादेख्दै बीचैमा टुटेजस्तो । तनमा असङ्ख्य काउकुती र मनमा असङ्ख्य छटपटी मात्रै छोडेर गयो भरतले । झट्टै न कसैलाई भन्न मिल्ने, न त कसैलाई देखाउन मिल्ने । एउटा अनौठो व्यथा ।
सम्झनालाई लोग्नेमान्छेको बानी परिसकेको थियो । भरतलाई पनि स्वास्नीमान्छेको बानी परिसकेको थियो । भरतलाई आइमाईको स्वाद । सम्झनालाई लोग्नेमान्छेको स्वाद । साँच्चै अचम्मको छ यो मान्छेको स्वाद । यो स्वादमा भुलेपछि मान्छेले जे पनि गर्छ ।
यता सम्झनाले भरतको तस्बिर हेरेर चित्त बुझाइरही । उता भरतले पनि सम्झनाको तस्बिर हेरेर चित्त बुझाइरह्यो । तर कत्ति हेर्नु तस्बिर मात्रै ? त्यही तस्बिरलाई पनि बारम्बार चुम्यो भरत र सम्झनाले पनि । तर तस्बिरलाई चुमेर मायाको स्वाद आउँदैन । तस्बिर चुम्नु सम्झनाको नरम गाला चुमेजस्तो होइन । अनि भरतको कसिलो छाती चुमेजस्तो पनि होइन । तस्बिरलाई सुमसुम्याउनु सम्झनाका पोटिला स्तन सुमसुम्याएजस्तो होइन । अनि भरतको छातीको रौँ खेलाएजस्तो पनि होइन ।
टाढा बसेर पनि नजिक हुने उपाय सोच्यो भरतले । अलिकति पैसा जोहो हुनासाथ उसले एउटा गतिलो मोबाइल किनेर पठायो सम्झनालाई । मोबाइल उपहार पाएर सम्झना खुसी भई ।
अब भरत र सम्झनालाई समय बितेको पत्तो हुन छाड्यो । मौका मिल्नासाथ फेसबुक र भिडियोच्याटमा रम्दारम्दै दुवैले भौतिकरूपमा टाढा र अलग रहेको पनि बिर्से । आआफ्ना गोप्य कुरा भन्ने, गोप्य कुरा सुन्ने र कहिलेकाहीँ गोप्य अङ्ग हेरेर उनीहरूले आनन्द अनुभव गरिरहे । तर साँच्चैको मीठो स्पर्शजस्तो कहाँ हुन्थ्यो र मोबाइलको स्क्रिनमा हेरेको र छोएको ! झन्झन् बढ्यो तिर्सना मायाको, दुवैलाई ।
सम्झना भन्छे, ‘हजुर कहिले आउनुहुन्छ ? यहाँ मलाई कस्तो भइसक्यो ।’
उसैगरी भरत भन्छ, ‘छिट्टै आउँछु । यहाँ मलाई पनि त कस्तो भइसक्यो ।’
भरत आएन । अरू नै कोही आयो सम्झनाको जीवनमा । एक दिन कृष्ण विक नामको अपरिचित केटामान्छेले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठायो । एसेप्ट गरूँ कि नगरूँ भन्ने दोधारमा पर्दापर्दै अनायासै एसेप्ट गर्न पुगी सम्झना । उताबाट तुरुन्तै मेसेज आयो, ‘हाइ, सन्चै हुनुहुन्छ ।’ साथी बनिसकेपछि साथीको प्रश्नको जबाफ नदिनु कसरी ? जबाफमा उसले लेखी, ‘हजुर, सन्चै छु ।’ त्यसपछि उताबाट अ‍ेनक प्रश्नका वर्षा हुन थाले । सम्झनाले कुनै प्रश्नको जबाफ दिई, कुनैको दिइन । सबै प्रश्नको जबाफ दिनु आवश्यक ठानिन उसले ।
एक पटक दुई पटक, एक दिन दुई दिन गर्दागर्दै कृष्ण र सम्झना फेसबुकमा अलि धेरै नै व्यस्त हुन थाले । यति धेरै व्यस्त कि सम्झनाले भरतलाई पनि बिर्सन थाली । हरेक क्षण हरेक पल भरतलाई सम्झिरहने सम्झनाले उताबाट भरतले फोन गरेपछि मात्रै झसङ्ग भएर उसलाई सम्झन थाली ।
भरतले प्रेमपूर्वक सोध्थ्यो, ‘कता हराएकी ?’
सम्झनाले झुटो पनि बोल्न थाली, ‘घरको काममा व्यस्त भएँ ।’
घरमा कति काम हुन्छ, त्यो भरतलाई पनि थाहा छ । पहिलेभन्दा अहिले सम्झनाको काम बढ्ने कुनै कारण छैन । हिजो जति थियो, आज पनि उसको काम उति नै हो । यो भरतलाई थाहा छ । तैपनि उसले थप खोजीनिती गरेन । बरु प्रेमपूर्वक भन्यो, ‘जिउको पनि ख्याल गर । काम–काम मात्रै नभन ।’
‘हजुर पनि आफ्नो ज्यानको ख्याल गर्नू । पैसा–पैसा मात्रै नभन्नू ।’ उसले पनि उसैगरी प्रेमपूर्वक भनी । सम्झनाको मीठो बोलीले त्यो पचास डिग्रीको तापक्रममा पनि भरतलाई छाती शीलत भएजस्तो लाग्यो ।
समय बित्दै गयो ।
सम्झनालाई भरतको फोन कम आउन थाल्यो । कृष्णको बढी आउन थाल्यो । यता सम्झनाले पनि भरतसँग भन्दा कृष्णसँग बढी समय बिताउन थाली । कहिले फोनमा । कहिले मेसेन्जरमा । कहिले प्रत्यक्ष भेटघाटमा । पहिलो पटक निकै डराइडराई भेटेका भरत र सम्झना पछि नडराइकन भेट्न थाले । समाजले उनीहरूलाई हरिरह्यो ।
कहिलेकाहीँ घरबाट निस्कने बेलामा सासूले सोध्थी, ‘कहाँ जान लाग्या’ बुहारी ?’
ऊ भन्थी, ‘साथीकहाँ आमा ।’
को साथी, कस्तो साथी र कहाँको साथी भनेर सासूले कहिल्यै सोधिन । मनमा शङ्का चाहिँ लाग्थ्यो नै सधैँ बुहारी कहाँ जान्छे भनेर । कलियुगका बुहारी सासूको खटनमा बस्दैनन् भन्ने थाहा पाएरै सासूले थप चासो लिइन ।
सम्झनाको बाटोमा कुनै छेकबार छैन, कतै तगारो छैन । ऊ निश्चिन्त र निष्कन्टक आफ्नो बाटोमा हिँडिरही ।
परदेशबाट फोन आउन कम हुँदै गयो । तर सम्झनालाई यसको हेक्का नै भएन । उसले पनि सम्झन छोडी परदेशीलाई । यो पनि उसलाई हेक्का भएन । ऊ वर्तमानमा रमाउन थाली र वर्तमानमै बाँच्न थाली । समाजले हेरिरह्यो मात्रै सम्झनाको बाटोमा । सम्झनाले भने समाजलाई देखिन ।
एक दिन कृष्ण घरमै आयो सम्झनालाई भेट्न । सम्झनाकी सासू विष्णुकुमारीले प्रश्नवाचक नेत्रले हेरी । सम्झनाले कुरा बुझी र भनी कि ऊ स्कुल पढ्दाको साथी हो ।
कृष्ण र सम्झना कोठाको ढोका लगाएर बसे । कोठाको ढोका नखुलुन्जेल विष्णुकुमारीलाई चैन भएन । ऊ छटपटाइरही, के भन्ने, कसलाई भन्ने । खुसुक्क लोग्नेलाई भनी । बमबहादुर केही बोलेन । टोलाइरह्यो । नबोलेरै उसले धेरै कुरा भन्यो । विष्णुकुमारी चुप लागी ।
‘बुहारीको चाला निको छैन ।’ विष्णुकुमारी धेरैबेर चुप लाग्न सकिन ।
‘छोरालाई खबर गर् ।’ बमबहादुरले अलि बेवास्तापूर्वक भन्यो ।
खबर पाएर पनि छोराले त्यति वास्ता गरेन । भन्यो, ‘निगरानी गर्दै गर्नू ।’
के निगरानी गर्ने ? कति निगरानी गर्ने ? सासूससुराको कुरा खाँदैनन् अचेलका बुहारी । यो कुरा बमबहादुर र विष्णुकुमारीलाई पनि थाहा छ । त्यसैले उनीहरू चुप लागिरहे । निगरानीमात्रै गरिरहे ।
सम्झना घरबाट निस्किने क्रम रोकिएन । दुई चार दिन बिराएर कृष्ण घरमा आउने क्रम पनि रोकिएन ।
एक दिन । कृष्ण आएको दिन । बुहारीले कोठाको ढोका लगाउन लाग्दा विष्णुकुमारीले अलि रिसाउएर भनी, ‘यो त अत्ति भो बुहारी ?’
‘के गरेँ र मैले ?’ सम्झनाको पनि स्वर ठूलो भयो । विष्णुकुमारी त्यसैत्यसै काम्न थाली । बमबहादुरले केही भनेन । उनीहरूको चर्को आवाज सुनेर बाहिरका दुईचार जोडी आँखाले उनीहरूतिर चियाए । त्यसको मतलब भएन सम्झनालाई र कृष्णलाई पनि ।
परदेशबाट फोन आउन ठ्याम्मै बन्द भयो । सम्झनाले पनि चटक्कै बिर्सी । सायद उसले आफ्नो लोग्ने छ भन्ने पनि बिर्सी । कृष्ण उसको लोग्ने होइन । तर उसले कृष्णलाई नै लोग्नेजस्तै ठान्न थाली । लोग्नेसँग जे गर्थी त्यहीत्यही कृष्णसँग गर्न थाली । कृष्ण साँच्चिकै कृष्णजस्तै बनिरह्यो । सम्झनाजस्ता धेरै गोपिनीलाई वशमा पार्नसक्ने सामथ्र्य छ कृष्णमा । त्यसैले त सम्झनाजस्ता गोपिनीहरू छिट्टै झुम्मिन्छन्, मोहित हुन्छन् कृष्णसँग । कृष्ण आफ्नो लीला देखाइरहन्छ । गोपिनीहरू लठ्ठिइरहन्छन् ।
कृष्णलीलाका बारेमा कृष्णको घरमा पनि थाहा भयो । चन्द्रबहादुरले चिन्तित हुँदै छोरालाई सम्झायो, ‘के गरेको छोरा तैँले यस्तो ? समाजले हाम्रो उठिबास लाउँदैनन् ?’
कृष्णले केही बोलेन । ऊ सम्झनाको प्रेममा पागल भइसकेको थियो । सित्तैँमा सम्झनाको शरीरसँग खेल्न पाएको छ उसले । त्यो किन छोड्थ्यो र उसले ।
समाजमा गाइँगुइँ चल्न थाल्यो कृष्ण र सम्झनाको सम्बन्धका बारेमा । कुरा फर्केर सम्झनाकी सासू विष्णुकुमारीको कानसम्म पुग्यो । बेलाबेलामा घरमा आउने र सम्झनासँग ढोका लगाएर कोठामा बस्ने केटाको जात थाहा पाएर ऊ आगो भई ।
‘कामीलाई घरमा हुलेर तैँले के गर्न आँटेकी बुहारी ?’
यस पटक सम्झनाले केही भनिन । ऊ कृष्णको प्रेममा अन्धी भइसकेकी थिई । कृष्ण उसका लागि आवश्यकता भइसकेको थियो ।
समाजले प्रश्नवाचक दृष्टिले हे¥यो सम्झनाको घरलाई । बमबहादुर र विष्णुकुमारी चिन्ता र ग्लानिले गल्न थाले ।
‘इज्जत फाल्ने भई बुहारीले ।’ एक दिन बमबहादुरले थाप्लामा हात राखेर भन्यो ।
छोरालाई खबर गर्दा केही बोलेन । बमबहादुरले रिसाएर भन्यो, ‘यस्तो बेलामा तँ घर आइज र स्वास्नीलाई तह लगा ।’
‘अब त्यसको र मेरो कुनै सम्बन्ध बाँकी छैन बा ।’ भरतले यति भन्यो । उसले यसो भने पनि समाजको नजरमा त सम्बन्ध बाँकी नै थियो । किनभने सम्झना उसकै घरमा छे । सम्बन्धविच्छेद पनि त भएको छैन । कानुन पनि सम्झनाकै पक्षमा छ । उसले चाहे मात्रै सम्बन्धविच्छेद हुन्छ । भरतले चाहेर मात्रै हुँदैन । अथवा बमबहादुर र विष्णुकुमारीले चाहेर पनि हुँदैन ।
अचानक सम्झना घरबाट हराई । माइत गएकी होली, फर्कली भनेर बसे बमबहादुर र विष्णुकुमारी । तर ऊ फर्किन । चार दिनसम्म कुर्दा पनि नआएपछि बमबहादुरले बुहारीको घरमा खबर पठायो । खबर सुनेर सम्झनाको माइतीमा भुइँचालो गयो ।
सम्झनालाई कृष्णले घरमा लुकाएर राखेको छ भन्ने पत्ता लाग्यो । सम्झनाका दाइ र केटाहरू आगो बनेर चन्द्रबहादुरको घरतिर हान्निए ।
‘हाम्रो इज्जतमा हात हालिस् चन्दबहादुर । अब तँ यो गाउँमा रहँदैनस् ।’ सम्झनाका दाइ परैबाट डुक्रियो । उसको हुङ्कारले परपरसम्म धुलो उड्यो ।
‘खोइ कहाँ लुकाएर राखेको छ तेरो छोरोले मेरी बहिनीलाई ? बाहिर निकाल् ।’ सम्झनाको दाइ पाखुरा सुर्कंदै चन्द्रबहादुरको घरभित्र पस्न खोज्यो ।
‘हाम्रो लासलाई कुल्चेर मात्रै भित्र पस्नुस् हजुर ।’ चन्द्रबहादुर दैलामै उत्तानो प¥यो । उसकी बूढी दैलामै
कङ्कलास्वरमा रुन थाली ।
‘हाम्रो उठिबास नगर्नोस् हजुर ।’
गाउँले भेला भए । सम्झाए सम्झनाका दाइलाई । ‘गुलाई छोए आफ्नै हात गनाउँछ ।’
‘यसको छोराले गद्दी नै ताक्यो । म त्यसलाई जिउँदो छोड्दिनँ ।’ सम्झनाको दाइ फेरि गर्जियो ।
–––
हिजैको त कुरा हो यो । आजै वनमा लास भेटियो कृष्ण र सम्झनाको । हिजै राति चन्द्रबहादुरको घरमा पनि रडाको मच्चिएको थियो । चन्द्रबहादुर, उसकी बूढी, कृष्ण र सम्झनाको चर्को आवाज सुनिएको थियो ।
‘तैँले हामीलाई चैनले बाँच्न दिने भइनस् । अब हामी दुवै अपहत्ते गरेर मर्छौं ।’ चन्द्रबहादुरकी बूढीले रुँदै घुक्र्याएकी थिई । तर मर्नमा उनीहरूभन्दा छोरा नै अगाडि भइदियो ।
कृष्ण कलेज पढ्दै थियो । चन्द्रबहादुर र उसकी जहानले सपना देखेका थिए छोराले पढेर सुखले पाल्नेछ । उही पहिला हिँड्दियो । अब उनीहरूले आँखैअगाडि दुःखको पहाड देखे र अत्तालिए । अब कसरी बाँच्ने ? चन्द्रबहादुरको मनमा चिन्ता बढ्न थाल्यो ।
भरत बस्नेतले पनि थाहा पायो उसकी स्वास्नी अर्कै केटासँग लागेको । अनि दुवैले सँगै आत्महत्या गरेको पनि थाहा पायो । तर यो कुराले उसलाई खासै दुःखी बनाएन । तैप्नि दुःखी चाहिँ नभईकन रहन सकेन ऊ । उसकी स्वास्नी मरी । तर पिर मानेन उसले । किनभने अब उसकी स्वास्नी अर्कैकी भइसकेकी थिई ।
केही दिनपछि भरत बस्नेत घर फक्र्यो । बमबहादुर र विष्णुकुमारी छक्क परे । स्वास्नीलाई तह लाउन आइजभन्दा नआउने छोरो आज आफैँ टुप्लुक्क घरमा आउँदा उनीहरूले अचम्म माने । तर त्यो अचम्ममाथि झन् बढी अचम्म त्यतिखेर भयो, जतिखेर उनीहरूले भरतसँगै आएकी स्वास्नीमान्छेलाई देखे । त्यो भरतकी अर्की स्वास्नी थिई । ऊ पनि कमाउनकै लागि लोग्नेलाई छोडेर विदेश गएकी थिई । 

मधुपर्क असार २०७७

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?