logo
२०८१ बैशाख ८ शनिवार

 बन्दाबन्दीमा खुला छ हेलो सरकार 



मानिस किन हिँडेका छन् देखि, घर जान पाइएन भन्नेसम्म गुनासा

पढ्नै पर्ने |


मानिस किन हिँडेका छन् देखि, घर जान पाइएन भन्नेसम्म गुनासा


शान्ति लामा

काठमाडौँ, बैशाख १८ गते । लकडाउनको बेला हेलो सरकारले गुनासो लिने र सुनुवाईका लागि सिफारिस गर्ने काम निरन्तर गरिरहेको छ । कर्मचारी कार्यालयमा आउन नसकेपनि घरबाटै काम गरिरहेको प्रधानमन्त्री कार्यालयको हेलो सरकार शाखाले जनाएको छ ।

शाखाका अनुसार हेलो सरकारको पैसा नलाग्ने फोन नं. ११११ को फोन कललाई १३ जना कर्मचारीको मोबाइलमा डाइभर्ट गरिएको छ, जहाँ फोन गरी देशको जुनसुकै निकायसम्बन्धी गुनासो दर्ता गर्न सकिन्छ ।
यसअघि दुई सिफ्टमा काम गर्ने कर्मचारीले आआफ्नै सिफ्टमा घरबाटै हेलो सरकारको गुनासो लिइरहेको हेलो सरकार शाखाका प्रमुख शेखर पौडेलले बताउनुभयो । उहाँका अनुसार हेलो सरकारमा टेलिफोनबाट मात्र दैनिक आठ सयदेखि नौ सयवटा गुनासा दर्ता हुने गरेका छन् । गुनासाहरु वेब पोर्टलमार्फत नै दर्ता गर्ने तथा सुनुवाईका लागि सम्बन्धित निकायमा पठाइने भएकोले घरबाटै काम गर्दा पनि हेलो सरकारको सेवामा कुनै असर नपरेको प्रमुख पौडेल बताउनुहुन्छ । सबै प्रदेश र स्थानीय तह हेलो सरकारको वेबमा आधारित सञ्जालमा आबद्ध हुनाले छिनभरमै सम्बन्धित निकायले गुनासो प्राप्त गर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

धेरै गुनासो लकडाउनबारे

बन्दाबन्दी सुरु भएदेखि धेरैजसो गुनासा यसैसम्बन्धी भएको प्रमुख पौडेलले बताउनुभयो । बन्दाबन्दीको बेलामा मानिसहरु हिँडिरहेका छन्, किन भेला भइरहेका छन् ? भन्ने जस्ता धेरै गुनासो प्राप्त भएको उहाँले बताउनुभयो ।
बन्दाबन्दीमा भएको आपूर्ति असहजताका विषयमा पनि सर्वसाधारणले गुनासो गर्ने गरेका छन् । पसलमा बढी मूल्य लिएको, ग्यास पाइएन, कालो बजारी भयो भन्ने जस्ता गुनासाहरु प्राप्त भएको उहाँले बताउनुभयो ।
आपूर्ति र बजार व्यवस्थासम्बन्धी गुनासाहरु वााणिज्य विभागले पनि लिइरहेकोले सिधै वाणिज्य विभागको फोन नं. ११३७ मा फोन गर्न नम्बर दिने गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय गुनासाहरु लकडाउनले गर्दा गाउँ जान पाइएन, बीच बाटामा अलपत्र परियो भन्ने जस्ता आएका छन् । अर्काेतिर मानिसलाई हिँड्न दिएकाले भीडभाड बढ्यो भन्ने छन् । संक्रमणको जोखिमको बेला हिँड्न दिए लकडाउनको के मतलब भयो ? भनी पनि प्रश्न गरेका छन् ।’

उहाँका अनुसार यस्ता गुनासाहरु समाधान गर्न सम्बन्धित प्रदेश र स्थानीय सरकारलाई पठाउने गरिएको छ । अलपत्र परेकालाई गन्तव्यसम्म पु¥याउन सहजीकरण गर्न स्थानीय तहलाई सुझाव दिइएको र यात्रीहरु जहाँ पुग्छन् त्यहाँ सुरक्षित क्वारेन्टाइनको व्यवस्थ ागर्न समेत सिफारिस गर्ने गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

अस्पतालले बिरामी लिन नमानेको, औषधी पसल नखुलेको, औषधी नपाइएको, औषधी किन्न जान नदिइएको जस्ता गुनासाहरु पनि आएको हेलो सरकार शाखाले जनाएको छ । कतिपय औषधी पसलहरु प्रहरीको सहयोगमा खोल्न लगाइएको, नपाइएका औषधी मगाएर प्रहरी कार्यालयमार्फत पु¥याउने काम गर्ने हेलो सरकारमार्फत भएको प्रमुख पौडेलले बताउनुभयो । कतिपय कार्यालयको भने अहिले सेवा बन्द हुँदा र सम्बन्धित अधिकारी उपलब्ध नहुँदा गुनासो सुनुवाई हुन सक्ने अवस्था नरहेको बताउनुभयो ।


लकडाउनका विषयबाहेक विकास निर्माणका विषयमा पनि थोरै गुनासा र सुझाव प्राप्त हुने गरेको शाखाले जनाएको छ । कतिपयले सरकारलाई सुझाव पनि दिने गरेका छन् । लकडाउनपछि अर्थतन्त्र सुधार्न, स्वदेशी रोजगारी सिर्जना गर्न, विदेशमा रहेका युवालाई स्वदेशमा नै कृषिमा लाग्न प्रेरित गर्ने कार्यक्रम ल्याउन हेलो सरकारमार्फत सुझाव दिने गरेको प्रमुख पौडेलले बताउनुभयो ।

सबैभन्दा बढी गुनासो टेलिफोनबाट

हेलो सरकारलाई सबैभन्दा बढी गुनासो टेलिफोनबाट प्राप्त भइरहेको प्रमुख पौडेलले बताउनुभयो । निशुल्क टेलिफोनको समेत व्यवस्था भएकोले हेलो सरकारमा नागरिकको पहुँच बढेको उहाँको ठम्याइ छ ।
टेलिफोनसँगै सामाजिक सञ्जालबाट पनि गुनासो लिइन्छ । फेसबुक पेज, ट्वीटर ह्याण्डल, इमेल, भाइवर लगायतमार्फत पनि सर्वसाधारणकले विभिन्न निकायप्रतिको गुनासा पठाउन सकिने व्यवस्था गरिएको छ । तर सामाजिक सञ्जालका गुनासाहरु अस्पष्ट हुने र गुनासोमा पूर्ण विवरण प्राप्त गर्न नसक्दा तिनको सुनुवाई हुन कठिन रहेको प्रमुख पौडेलले बताउनुभयो । ‘सुनुवाई नभएको कुरा कहिलेकाहीँ आएको तिनै अस्पष्ट, अपूरा विवरण भएका गुनासा हुन् । पूरा विवरण प्राप्त भएका सबै गुनासाहरु सुनुवाईका पठाइएकै हुन्छ ।’ उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गराउँदा विषयको विवरण पूर्ण रुपमा खुलाउँदा सुनुवाई हुने सम्भावना बढी हुने उहाँको भनाइ छ । के विषय हो ? कहाँ भएको ? कहिले भएको ? कोसँग सम्बन्धित ? गुनासो कुन निकाय वा अधिकारीका लागि हो ? जस्ता विवरण स्पष्ट रुपमा उल्लेख गर्न उहाँले आग्रह गर्नुभयो । कहिलेकाहीँ यस्ता विवरणहरु नपुग्दा हेलो सरकारले नै सूचनाको सोधखोज गरेर समेत गुनासो सुनुवाईका लागि पठाउने गरिएको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?