logo
२०८० चैत्र १६ शुक्रवार

  एकान्तबासकाे समाजशास्त्र–१० 



पढ्ने किताव छैन पीर नगर्नुहाेस् निःशुल्क डिजिटल पुस्तकालय छ

मुख्य समाचार |


पढ्ने किताव छैन पीर नगर्नुहाेस्   निःशुल्क डिजिटल पुस्तकालय छ


शान्ति लामा

काठमाडौँ, वैशाख १७ गते । देश अहिले बन्दाबन्दी (लकडाउन)मा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ । पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन पुस्तकालयको सदुपयोग गरी पनि पठनपाठनको दायरा बढाउन सकिन्छ ।
बन्दाबन्दीको फुर्सदको समय बिताउन गाह्रो भइरहेको अवस्थामा पनि धेरैलाई ई–लाइब्रेरीहरू सहयोगी बनेका छन् । समय र पैसाको किफायती उपयोगका लागि भर्चुअल लाइब्रेरी धेरैले रोज्न थालेका छन् । इन्टरनेटको पहुँच भएका ठाउँमा गुगलमा खोजी गरेपछि सबै थाहा पाइन्छ भन्ने धेरै युवा पुुस्तालाई थाहा भइसकेको छ ।
अनलाइन लाइब्रेरी यस्तो प्लेटफर्म हो, जहाँ तपाईं डिजिटाइज्ड अक्षरहरूसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ । कति निःशुल्क त कति शुल्क तिरेर पढ्न सकिने लाइब्रेरीहरू छन् । साहित्य, समाज, विज्ञान, धर्म, संस्कृति, इतिहास, दर्शन, राजनीति जस्ता धेरै विषयका हजारौँ किताब इन्टरनेटबाट निःशुल्क डाउनलोड गरी आफ्नै घरमा कम्प्युटर वा मोबाइलमा पढ्न मिल्ने भएपछि किन लिने पुस्तकालयको चिन्ता ? केही निःशुल्क डिजिटल लाइब्रेरीबारे थाहा पाइराख्दा लकडाउनलाई अध्ययनमय बनाउन सकिन्छ ।

वल्र्ड डिजिटल लाइब्रेरी
यसलाई संसारको उत्कृष्ट निःशुल्क अनलाइन लाइब्रेरी भन्दा फरक नपर्ला । अमेरिकाको लाइब्रेरी अफ कंग्रेसको पहलकदमीलाई युनेस्कोले सहयोग गरेपछि यसको निर्माण भएको हो । यो लाइब्रेरीमा संसारभरका लाइब्रेरीको सहकार्य छ ।
सन् २००९ को अप्रिलमा खुला गरिएको यो डिजिटल लाइब्रेरीमा संसारका लगभग सबै देशका किताब पाइने उल्लेख छ । पुस्तक, पाण्डुलिपि, नक्सा, पत्रपत्रिका, फोटो लगायतका विशाल डिजिटल सङ्ग्रहमा संसारका सात भाषामा मेटाडाटा र विवरणसमेत दिइएको छ ।

बिब्लियोमेनिया
बिब्लियोमेनियामा निःशुल्क अनलाइनमै पढ्न सकिने हजारौँ पुस्तक राखिएका छन् । यसमा दुई हजारभन्दा बढी शास्त्रीय पठन सामग्री रहेको उल्लेख छ । विश्वमा निकै रुचाइएका र पढिने स्रष्टाका आख्यान, गैरआख्यान, नाटक, कथा, कविताको भण्डार यसको भर्चुअल सङ्ग्रहमा उपलब्ध छन् । लेखक र विधा छानेर चाहेका किताब तुरुन्तै पढ्न सकिन्छ ।

मेनी बुक्स
सन् २००४ मा स्थापना गरिएको मेनी बुक्स निकै पुराना किताबका लागि लोकप्रिय ई–लाइब्रेरी हो । कथा, इतिहास, आत्मकथा, रोमान्स, साइन्स फिक्सनलगायत विभिन्न विधाका पुस्तक निःशुल्क पढ्न सकिन्छ । पुस्तक डाउनलोड गरी आफूले चाहेको समयमा अफलाइन पनि पढ्न सकिन्छ ।

लेट्स रिड
एसिया फाउन्डेसनले विकास गरेको लेट्स रिड डिजिटल लाइब्रेरी विशेष गरी साना नानीहरूका लागि निकै उपयोगी इलाइब्रेरी हो । विभिन्न देशका राष्ट्रिय मात्र नभई स्थानीय भाषाका समेत रोचक पुस्तकहरू यसमा राखिएका छन् ।
सचित्र कथाहरूका भर्चुअल किताबले केटाकेटीलाई किताबको संसारमा हराउन मद्दत पुग्छ । नेपाली भाषाका दर्जनौँ सचित्र पुस्तक डाउनलोड गरी बालबालिकालाई दिएमा उनीहरू चित्रसँगै अक्षर र धेरै शब्दसँग समेत परिचित बन्न सक्छन् ।

ई–पुस्तकालय
विशेषगरी बालबालिकाका लागि उपयोगी ई पुस्तकालयमा विद्यालय स्तरका प्रशस्त शैक्षिक सामग्री भेट्टाउन सकिन्छ । छ हजार आठ सयभन्दा बढी किताब, दुई हजारभन्दा बढी अडियो बुक, पाँच सय जति भिडियो सामग्री यसमा उपलब्ध छन् । सन् २००९ देखि निःशुल्क उपलब्ध यहाँका सामग्री निःशुल्क प्रयोग गर्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?