logo
२०८१ बैशाख १३ बिहीवार

 एकान्तबासको समाजशास्त्र – ८ 



ज्येष्ठ नागरिकलाई खानपान र सक्रिय राख्ने प्रयास गरौं

पढ्नै पर्ने |


ज्येष्ठ नागरिकलाई खानपान र सक्रिय राख्ने प्रयास गरौं


शान्ति लामा

काठमाडौँ, बैशाख १४ गते । ज्येष्ठ नागरिकहरुमा स्वाभाविक रुपमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसकारण उनीहरुलाई संक्रमणले सजिलै छुन सक्छ । अहिले फैलिरहेको कोरोना महामारीले पनि धेरै उमेर ढल्केका र ज्येष्ठ नागरिकलाई संक्रमण भएको र मृत्यु भएको तीतो यथार्थ हामीसामु छ ।

नेपालमा कोरोनाको संक्रमण देखिसकेको छ । यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई यस रोगबाट बचाउनुपर्ने पहिलो दायित्व परिवारकै रहने स्वास्थ्यकर्मी बताउँछन् ।
कोरोना संक्रमणबाट मात्र नभई अन्य खालका रोग र संक्रमणबाट पनि बचाउनु आवश्यक छ । अहिले बाहिर हिँड्नु र अस्पताल जानु समेत जोखिमपूर्ण हुने भएकोले सकेसम्म ज्येष्ठ नागरिकलाई घरमै स्वस्थ र निरोगी बनाईराख्ने प्रयास गर्नुपर्ने चिकित्सक डा. मदनरत्न न्यौपाने सुझाव दिनुहुन्छ ।

डाक्टरलाई फोनबाट सम्पर्क गर्ने

कतिपय दीर्घरोगी ज्येष्ठ नागरिकलाई उनीहरुको रोगको अवस्था र औषधिको नियमिततामा ध्यान दिनुपर्छ । दम, मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोग भएका ज्येष्ठ नागरिकलाई घरमै हेरचाह गरे अस्पताल पु¥याउन नपर्ने हुन्छ ।
डा. न्यौपाने भन्नुहुन्छ, ‘नियमित स्वास्थ्य जाँच गरिरहनुपर्ने ज्येष्ठ नागरिकले अस्पताल जानुको साटो फोनबाट डाक्टरलाई आफ्नो स्वास्थ्य अवस्था र समस्याबारे जानकारी दिने व्यवस्था गर्नुपर्छ । लकडाउन भएको र बाहिर संक्रमण फैलिरहेको अवस्थामा आफूले नियमित खाइरहेको औषधिनजिकको औषधिपसलबाट किनेर केही महिना खुवाउँदा पनि केही हुँदैन ।’

विश्व स्वास्थय संगठनले पनि आफूले नियमित खानुपर्ने औषधि दुई हप्ताका लागि उपलब्ध भएको निक्र्याैल गर्न सल्लाह दिएको छ । आपतकालीन अवस्थामा अनलाइन वा फोनबाट स्वास्थ्यकर्मीलाई घरमै डाकेर स्वास्थ्य सेवा लिनु उपयुक्त हुने डा. न्यौपानेको सुझाव छ ।

बाहिर काम गर्ने व्यक्तिको सम्पर्कमा नराख्ने

कोरोना भाइरसबाट बच्ने एउटै उपाय सामाजिक दूरी नै हो । त्यसकारण ज्येष्ठ नागरिकलाई घरबाहिर निस्कने परिवारका सदस्यसँग सकेसम्म दूरी बनाउन आवश्यक छ ।
डा. न्यौपाने भन्नुहुन्छ, ‘परिवारमा कोही विदेशबाट आएका सदस्य भएमा केही हप्तासम्म ज्येष्ठ नागरिकको सम्पर्कमा नगएकै राम्रो हुन्छ । स्वीडेन र बेलायत जस्ता देशहरुले यतिबेला ज्येष्ठ नागरिकलाई जवानहरुको सम्पर्कबाट टाढा राखेका छन् ।’ नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि भौतिक दूरी कायम गर्न एक वा दुई व्यक्ति मात्र सम्पर्कमा रहन सल्लाह दिइएको छ । ज्येष्ठ नागरिकलाई छुट्टै कोठाको व्यवस्था वा छ फिटको दूरीमा ओछ्यानको व्यवस्था गर्नुपर्छ ।
यात्राबाट आएका व्यक्तिबाट ज्येष्ठ नागरिकलाई कम्तीमा १४ दिन सम्पर्कमा आउन नदिन र रुघाखोकी, ज्वरो आएका व्यक्तिबाट टाढै राख्न सरकारले सूचित गरेको छ ।

पोषिलो खाने कुरा खान दिने

रोग प्रतिरोधी क्षमता बढाउन ज्येष्ठ नागरिकले खाने आहाराको महत्वपूर्ण भूमिका हुन्छ । यस्तो बेला भिटामिन सी, डी जस्ता रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका पोषकतत्व प्राप्त हुने खानेकुरा खुवाउनुपर्ने डा.मदनरत्न न्यौपानेको सुझाव छ ।
एचआइभी एड्स जस्ता संक्रमण भएका ज्येष्ठ नागरिकको विशेष सुरक्षाका लागि पनि पोषिलो खानपान र नियमित औषधीको व्यवस्था गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनस्र्थापना केन्द्र तथा वृद्धाश्रममा रहेका रोग प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिकलाई कोरोना महामारीको समयमा पोषिलो खानपान व्यवस्था गर्न तीन महिनाका लागि मासिक दश हजार रुपैयाँ राहत दिने घोषणा गरिसकेको छ ।

शारीरिक मानसिक रुपमा सक्रिय राख्ने

ज्येष्ठ नागरिकलाई पनि घरभित्रै बसिरहँदा दिक्दारी हुन सक्छ । त्यति मात्र नभई हरेक मानिसको शरीरले सक्रियताको माग गर्छ । त्यसैले घरमै साधारण खालको व्यायाम र कसरत गर्न लगाउनुपर्ने डा. न्यौपाने बताउनुहुन्छ । जसले गर्दा शरीरमा स्फूर्ति आउँछ र मानसिक रुपमा पनि सन्तुलित अवस्थामा रहन सहयोग गर्ने उहाँले बताउनुभयो ।
निश्चित दूरी कायम गरेर घरका ज्येष्ठ नागरिकसँग प्रशस्त समय व्यतीत गर्ने र कुराकानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने स्वास्थ्यकमीहरु सल्लाह दिन्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?