logo
२०८१ बैशाख १३ बिहीवार



बालबालिकालाई सिर्जनशील काममा कसरी लगाउने भन्ने चिन्तामा हुनुहुन्छ ?

कला |
फिचर |
पढ्नै पर्ने |


बालबालिकालाई सिर्जनशील काममा कसरी लगाउने भन्ने चिन्तामा हुनुहुन्छ ?


शान्ति लामा

काठमाडौँ, चैत २१ गते । कोरोना भाइरस संक्रमण रोक्न सरकारले अत्यावश्यक बाहेक बाहिर निस्कन निषेध गरेको छ । सबै विद्यालय पनि बन्द हुँदा बालबालिका घरमै छन् । यस्तो बेला बालबालिकालाई सिर्जनशील काममा कसरी लगाउने भन्ने चिन्तामा हुनुहुन्छ ?

त्यस्तो अभिभावकको चिन्ता मेटाउने गज्जबको काइदा निकाल्नुभएको छ, कलाकार तथा चित्रकलाका गुरु अजय देसारले । उहाँ हरेक दिन अनलाइनमार्फत बालबालिकालाई चित्रकला सिकाउनुहुन्छ । हरेक दिन अपराह्न २ बजेदेखि ३ बजेसम्म फेसबुक लाइभमार्फत बालबालिकाले प्रशिक्षक अजय देसारसँग चित्रकला सिक्न सक्नेछन् । योङ पिकासो कम्युनिटी स्कूल अफ फाइन आर्टस्का सञ्चालक समेत रहनुभएका देसार अरु बेला दैनिक कक्षाकोठामा साना बालबालिकालाई चित्रकला सिकाउनुहुन्थ्यो । अहिले भने उहाँ अनलाईनमार्फत कक्षाकोठाभन्दा बाहिरका विद्यार्थी माझ पुग्नुहुन्छ ।

‘सधैँ स्कूल जाने विद्यार्थी घरमा कसरी राख्ने भन्नेमा धेरै अभिभावक अन्यौलमा रहेको आफ्नै छिमेकमा पाएँ । त्यसपछि अनलाइनमार्फत चित्रकला सिकाउन थालेँ ।’ उहाँले भन्नुभयो । आफ्ना वरपरका छिमेकका बालबालिकालाई व्यस्त बनाउन थालेको अनलाइन कक्षामा अहिले अन्य सयौँ बालबालिकासमेत सामेल हुन थालेको प्रशिक्ष देसारले बताउनुभयो ।

अनलाइन चित्रकला कक्षामा उहाँले बालबालिकालाई विद्यालयमा चित्रकला सिक्दा आउन सक्ने समस्या र त्यसको समाधानका उपायहरु समेत सुझाउनुहुन्छ । फेसबुकमा अजय देसार नामको आइडीमार्फत दिउँसो २ बजे लाइभमार्फत कक्षा सुरु हुन्छ । त्यस अघि १२ बजे त्यस दिन सिकाइने विषयबारे जानकारी गराई सिसाकलम, कागज, रङ जस्ता आवश्यक सामग्री तयारी गर्न सानो भिडियो पोस्ट गर्नुहुन्छ । त्यसअनुसार बालबालिका आफ्नो घरको कम्प्युटर अगाडि ठीक २ बजे तयार बस्छन् ।

अहिले दैनक पाँच सय जनाभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाइभको समयमा कक्षामा भाग लिने गरेको प्रशिक्षक देसारले बताउनुभयो । त्यसमध्ये दैनिक तीनदेखि चार सय जना विद्यार्थीले आफूले घरमा बनाएको चित्रकलाको फोटो वा भिडियो खिची पठाउँछन् ।

आफ्ना बालबालिकाले बनाएको चित्र कस्तो भयो अथवा कुनै चिज अप्ठेरो भयो भनी अभिभावकले प्रशिक्षक देसारलाई अनलाइनमा नै सन्देश पठाउनुहुन्छ । ती सबै गृहकार्य हेरी सच्याउन आवश्यक सुझाव दिने काममा आफू पनि व्यस्त हुँदा लकडाउनको समय निकै सदुपयोग भएको उहाँले बताउनुभयो ।

यो फेसबुक लाइभ इटालीमा कलर फर पिस नामक संस्थाले पनि अनलाईन प्रशारण गर्ने गरिएको देसारले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?