logo
२०८० चैत्र १५ बिहीवार



लकडाउनमा इँटा उद्योग सञ्चालित

अर्थ |


लकडाउनमा इँटा उद्योग सञ्चालित


इनरुवा, चैत २० गते । सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ । कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको भएपनि दुहबी ९ र गढी १ मा रहेको इँटा उद्योगले हजार भारतीय मजदूर राखेर काम गराइरहेको छ ।
इँटाभट्टमा भारतीय मजदूरले निर्बाध काम गरिरहेको र गाउँघरमा समेत पस्ने गरेका कारण आफूहरुलाई समस्या भएको स्थानीयवासी मोहमद ताविज हुसेनले बताउनुभयो । उद्योगमा काम गर्नेमा भारत पश्चिम बंगालका मजदूर रहेको र उनीहरुले किनमेल गर्ने बहानामा गाउँ घुम्ने गरेका कारण आफूहरुमा कोरोना भाइरसको त्रास उत्पन्न भएको हुसेनले गुनासो गर्नुभयो ।

दुहबी ९ का वडाध्यक्ष मेहदी हुुसेनले इँटा उद्योग सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउँदै यदि त्यस्तो पाइएमा उद्योगलाई नेपाल सरकारले लागु गरेको नियमानुसार कारवाही गरिने बताउनुभयो ।
छ जना क्वारेन्टाइनमा
भारतबाट आएका ६ जनालाई सुनसरीमा रहेका क्वारेन्टाइनमा बुधबार राखिएको छ । सुनसरीको भोक्राहा नरसिंंह गाउँपालिका ६ मा रहेको क्वारेन्टाइनमा भारतको दिल्लीबाट आएका चार जनालाई राखिएको भोक्रहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताउनुभयो ।
त्यसैगरी हरिनगर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा दुई जनालाई राखिएको छ । भारतको पञ्जाबबाट आएका तिनलाई सीमाबाट बुधबार नियन्त्रणमा लिएर हरिनगर १ स्थित बिजी अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको हरिनगर स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापाले बताउनुभयो ।

एउटाको पास, अर्कै काममा प्रयोग
खोटाङ– जिल्लामा एउटा प्रयोजनका लागि सवारी साधनको अनुमति लिएर अर्कै काममा प्रयोग गरेको पाइएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन घोषणा गरिएसँगै जिल्ला प्रशासन कार्यालय बाट अत्यावश्यक सामान ढुवानीका लागि भनेर अनुमति लिएका टिपर, ट्रक र र ट्रयाक्टरमा यात्रु तथा निर्माण सामग्री ओसारपसार गरेको पाइएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा सञ्चालित अधिकांश विकासनिर्माणका योजनामा बाहिरी जिल्लाका कामदार ल्याउने गरिएको छ । उनीहरुलाई घर पठाउन निर्माण व्यवसायीले ती साधनको प्रयोग गरेको पाइएको हो ।
निर्माण व्यवसायीले मङ्गलबार मात्रै ना ६ प ६०५३ नम्बरको ट्रयाक्टरमार्फत १५ कामदारलाई घर पठाएका छन् । यात्रुवाहक सवारी नपाएको भन्दै निवेदनसहित अनुरोध गर्न आएपछि मानवीय हिसाबले एउटा ट्रयाक्टरलाई मात्र यात्रु बोक्ने प्रयोजनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बताउनुभयो ।
भोजपुर क्वारेन्टाइनमा १२
भोजपुर– क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १२ पुगेको छ ।
साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा मानिसहरु क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?