logo
२०७७ जेष्ठ १४ बुधवार

औजार (कथा)

कला |


2020-03-17-10301



इन्दिरा प्रसाईं

पाठकवृन्दसँग एउटा कमलो अनुरोध !
यो कथा के हो मलाई थाहा छैन ! मैले यो कथा आफैले लेखेको पनि होइन, देखेको पनि होइन । यस कथालाई भेटेको भने हुँ । यसलाई मैले जस्तो भेटेँ, तपाईंहरूसमक्ष जस्ताको तस्तै, केही नमिसाई प्रस्तुत गरेकी छु । अर्थात् अग्र्यानिक रूपमा प्रस्तुत गरेकी छु ।
कथा यस्तो छ–
...अनि परमात्मा फेरि चिन्तित भएका थिए । ‘अब के गर्ने ? एउटा एउटा प्राणी बनाउने झ्याउलो सधैँ आफैले बोकिरहने ? कि अधिकार प्रत्यायोजन गर्ने ? केन्द्रीकृत व्यवस्था समग्र विकासको बाधक हो ।
चौरासी लाख प्राणी पुगिसके । भो अब म थप सृष्टि गर्दिनँ ।’
हावा निकै जोडजोडले चलिरहेको थियो । तैपनि प्रकृति मनोरम थियो । मन्त्रोच्चारणको आवाज टाढा टाढासम्म गुञ्जायमान थियो । प्रकृति सुगन्धमय थियो । चारैतिर फलफूलले ढाकिएर वातावरण रहरलाग्दो देखिन्थ्यो । स्वच्छ र सफा खोलानालाहरू कलकल ध्वनिका साथ बगिरहेका थिए । दुःखकष्टको कतै कुनै सूक्ष्मचिह्न पनि थिएन ।
सोही वातावरणमा परमात्माका अपरम्पार सृष्टि चौरासी लाखै स्त्रीलिङ्गी प्राणी निमग्न विचरण गरिरहेका थिए । कुनै पीडाको कतै छायासम्म नपरेका उनीहरू कल्पकल्पसम्म यसरी नै नाचिरहे, बाँचिरहे ।
कोटियौँ वर्षपश्चात् परमात्माले ध्यानबाट केही बेरका लागि विश्राम लिएका थिए । आफैले सृष्टि गरेका समग्र सृष्टि उनैद्वारा सिर्जना गरिएको स्त्रीमय वातावरणमा परमानन्द हुँदै विचरण गरिरहेको देखेर परमात्मालाई पनि अपार तृप्ति भएको थियो । आफ्ना सृष्टिलाई भेट्ने, छुने र उनीहरूबारे उनीहरूसँगै जानकारी लिने इच्छाले परमात्माले आफ्ना कनिष्ठतम सृष्टिलाई आफू छेउ बोलाए । अहँ, उसले त कुनै चालै गरिन । क्रमशः अर्की, अर्की र अर्की... तर कुनैले पनि परमात्माको बोलावटको वास्तै गरेनन् ।
त्यसपछि परमात्माकी सर्वश्रेष्ठ सृष्टि अर्थात् स्त्री देहधारी मानवीको पालो आएको थियो । उसलाई परमात्माले आदेश दिँदा नदिँदै ऊ मृगचालले लचकलचक गर्दै, उसका सुनौला र बाक्ला केशराशीभित्र आफ्ना सुन्दर अङ्गप्रत्यङ्ग लुकाएझैँ परमात्मासामुु उभिएकी थिई । पोटिला सुन्तलाका केस्राजस्ता ओठबाट मोहक मुस्कान पस्किरहेकी नौनीजस्ती रङ भएकी त्यस नारीलाई देखेर परमात्मा स्वयं मुग्ध भएका थिए । परमात्माले त्यस स्त्री देहधारी मोहक मानवीलाई आफैले सृष्टि गरेको हो भन्ने कुराले पनि उनी त्यसबेला अति आनन्दित भएका थिए ।
कोटियौँ वर्ष बितेका थिए । परमात्मा उक्त नारीकै मादक देहमा अलमलिएका थिए । आफ्नै सृष्टिको मोहमा अनन्त समय बितेको हेक्का हुनासाथ परमात्मा झल्याँस्स भए । त्यसपछि उक्त मानवीलाई आफूबाट अलग्याएर परमात्मा पुनः ध्यानमग्न भए ।
कल्पकल्प बिते ।
ध्यानस्थ परमात्माले बेलाबखत आफ्ना सुन्दर सृष्टिमाथि ध्यानपूर्वक विचरण गर्ने गरेकै थिए । कहिल्यै नलगाइएका र पट्ट्याएर दराजमा थन्क्याइएका आफ्नै सुन्दर लत्ताकपडाजस्तो, युगौँयुग पुराना र अविचलित प्रस्तरमूर्ति नै मूर्तिको सहरजस्तो, खोइ कस्तो कस्तो ! सुन्दर भएर पनि एकरस जस्तो ! कतै केही परिवर्तन थिएन । आफ्नै सृष्टि पनि परमात्मालाई निरस लाग्यो । तर चौरासी लाख प्राणी भने लग्गुझैँ उही निमग्नतामा रहेका थिए ।
प्रत्येक प्राणीलाई पूर्ववत् परमात्माले आफूछेउ डाकेका थिए । अहँ कोही आएनन् । त्यसपछि परमात्मालाई कोटियौँ वर्षअघि कोटियौँ वर्षसम्म आफू मोहित भएको स्त्रीदेही मानवीको स्मृति भयो । विगतको स्मृति मात्रले पनि रोमाञ्चित परमात्माले सोही मानवीलाई पुनः आफू नजिक डाके ।
‘अहो ! यसलाई सामुु देख्नासाथ मलाई चुम्बकसँग फलाम टाँसिन खोजेझैँ भइरहेछ । विगतमा पनि सृष्टिको कल्पकल्पसम्म म यसैमा मोहित भएर बिते । अब भने मैले यससँग सावधान हुनै पर्छ ।’ साँच्चै परमात्मा सावधान भएका थिए । किनभने त्यसपछि आफू नजिक पूर्ववत मादक गन्ध छर्दै मुस्कुराइरहेकी स्त्रीदेही मानवीका आँखामा परमात्माले हेर्दै हेरेनन् । आफूसँग आतङ्कित परमात्माको भाव बुझेर स्त्रीदेही मानवी भने परमात्मालाई हेर्दै थप मुस्कुराएकी थिई । परमात्माले स्त्रीको प्रिय मुस्कान पनि अप्रिय मानेझैँ गर्दै, देखेर पनि नदेखेझैँ गरे । प्रतिक्रियामा एक पटक सम्मोहनले भरिएकी स्त्रीका मादक आँखासम्म परमात्माका आँखा पुगेका पनि थिए । त्यहाँ स्त्रीको अदम्य साहस थियो र चुम्बकीय आकर्षण पनि थियो । फेरि परमात्मामा स्त्री मोहमा परिने त्रास देखिएको थियो । मानवीले भने पुनः परमात्मामाथि
व्यङ्ग्यात्मक दृष्टिकै प्रक्षेपण गरेकी थिई ।
‘भन्, मैले यस सृष्टिलाई कसरी एक रस हुनबाट जोगाउन सक्छु ?’ आफैले सृष्टि गरेकी मानवीको–
विवेक
चेतना
बुद्धि
साहस र शक्ति
शान्ति र कान्ति
प्रेम र विनय
ज्ञान र गुण
वात्सल्य तथा
करूणाजस्ता विशेषतासँग प्रभावित भएका परमात्माले स्त्रीलाई आफ्नो सल्लाहकार बनाएका थिए ।
‘तपाईंले सृष्टि गर्नुभएका प्राणीहरूको नियन्त्रण तपाईंले नै आफ्नो हातमा राख्नुपर्छ । विकेन्द्रीकृत व्यवस्थालाई केन्द्रीकृत सुपरिवेक्षण र नियन्त्रणमा नराख्दा स्वेच्छाचारिता बढ्न सक्छ ।’
मानवीले गमेर परमात्मालाई सल्लाह दिएकी थिई । परमात्माले मानवीका आँखामा हेरेका थिएनन् । तर उसका कोमल नग्न अङ्गहरू सुमसुम्याउने लोभ भने उनले त्याग्न सकेका थिएनन् ।
‘तपाईंको सृष्टिमा एक जात मात्र भयो, अब तपाईंले अर्को जात पनि सृष्टि गर्नुपर्ने देख्छु ।’
केही गमिरहेकी मानवीले फेरि पनि परमात्माप्रति लक्षित हुँदै भनेकी थिई । यस कुराले परमात्मा कोटियौँ वर्षपछि फेरि मुस्कुराएका थिए । परमात्माले नवसृष्टिको सूूत्र फेला पारिसकेका थिए । त्यसैले लगत्तै उनी आफ्नो निर्माणमा जुटेका थिए ।
मैले प्रकृति मात्र सृष्टि गरेछु । अब पुरुष निर्माण गर्नुप¥यो । ध्यानस्थ परमात्माले ध्यानभित्रै विचरण गरेका थिए । त्यसपछि उनी पुरुष निर्माणमा लागिपरेका थिए ।
‘अँह, मलाई मन परेन !’ परमात्माले सृष्टि गरेपछि स्त्रीका अघिल्तिर प्रस्तुत पुरुष हेरेर मानवीले परमात्मालाई भनेकी थिई ।
‘हुन्न, यो पनि हुन्न ! यसमा के छ र ?’ दोस्रो पुरुषप्रति स्त्रीको प्रतिक्रिया थियो ।
‘यो त झन् सुकेको काठजस्तो निरस छ !’ तेस्रो पुरुषप्रति स्त्रीको उपेक्षाभाव थियो ।
‘छि... यस्तो अर्थहीन प्राणी पनि परमात्माकै सृष्टि हो र ?’ चौथो पुरुषप्रति स्त्रीको अहंकारमिश्रित घृणाभाव प्रस्तुत भएको थियो ।
‘यसलाई त तुरुन्त फिर्ता लगिहाल्नुस् परमात्मा ! म त यसलाई हेर्न पनि मन पराउन्न ।’ पाँचौँ पुरुषका लागि स्त्रीबाट चरम अनास्था प्रकट भएको थियो ।
‘उफ, यस्तो घिनलाग्दो प्राणी कसरी सृष्टि गर्नुभयो परमात्मा ?’ छैटौँ पुरुषप्रति स्त्रीको तिरस्कार भाव थियो ।
‘भो अब थप सृष्टि नगर्नुस् परमात्मा !’ सातौँ पुरुषप्रति मानवीले चरम उपेक्षाभाव प्रकट गरेकी थिई ।
‘भो परमात्मा भो ! तपाईं किन आफ्नो र मेरो समय पनि बर्बाद गरिरहनु भएको छ ? बरु आउनुस् न मसँग रमाउनुस् ! अब त म तपाईंको नवसृष्टि हेर्दा पनि हेर्दिनँ ।’ आठौँ पुरुषका सन्दर्भमा परमात्माप्रति नै स्त्रीको आवेशात्मक आदेश थियो । क्रमशः एक, दुई, तीन, चार गर्दै परमात्माले आफूले निर्माण गरेका आठ थरिका पुरुष देहधारी मानव स्त्री देहधारी मानवीका अघिल्तिर पठाउँदाको नकारात्मक स्त्री प्रतिक्रियाले अब परमात्मा स्वयं आजित भइसकेका थिए ।
‘तपाईंले नयाँ प्राणी नै सृष्टि गर्ने हो भने मसँग नभएको कुनै विशिष्ट र जुन मेरा लागि पनि उपयोगी र तपाईंका लागि पनि कारक हुन सक्ने विशिष्टताधारी प्राणी आविष्कार गर्नुस् न परमात्मा ! तपाईंले सृष्टि गरेका यी आठैथरीका प्रत्येक पुरुषमा मसँग भएका एकएक गुण मात्र छन् । फेरि मैजस्तो अर्को थप अस्तित्वको पनि तपाईंको सृष्टिका लागि के उपयोगिता हुन्छ र ?” स्त्रीले अलि झोक्किँदै परमात्मालाई सल्लाह दिएकी थिई ।
आफूले परिश्रमसाथ गरेको नवआविष्कारप्रति मानवीबाट प्राप्त एकोहोरो नकारात्मक प्रतिक्रियाका कारण यसपटक परमात्मा हार्नै लागेका थिए ।
‘एक पटक यसलाई हेर् ! तँलाई यो पनि मन परेन भने म पनि अब नवसृष्टि गर्दिनँ ।’ निराश हुनलागेका परमात्माले उनको आविष्कारको नवौँ पुरुष स्त्रीका अघि प्रस्तुत गरेका थिए । परमात्माको नवीनतम सृष्टिरूपी ‘पुरुष’ परमात्माले प्रस्तुत गर्नासाथ स्त्री दौडेर त्यस पुरुषका छेउमा पुगेकी थिई । त्यस पुरुषलाई स्त्रीले निकै महìवसाथ हेरेकी थिई । किनभने यही नै परमात्माको अन्तिम सृष्टि थियो । यसपछि परमात्माका अरू सृष्टि उसले हेर्नु पनि पर्ने थिएन । स्त्री परमात्माको नवआविष्कारलाई गहिरिएर हेरिरहेकी थिई । अरू सबै कुरा त पूर्व आविष्कृत पुरुष र यस नवीनतम पुरुषमा केही फरक थिएन । तर परमात्माले भर्खरै उसका अघि पेस गरेको यस पुरुषका दुई तिघ्राका बीचमा एउटा सानो अन्दाजी तीनचार इन्चको कुनै मांशपिण्ड तुर्लुङ्ग झुन्डिरहेको थियो । साथै एउटा मांशथैली पनि त्यसैको जरामा गाँसिएको थियो । स्त्री अचम्भित भएर पुरुषका उक्त अनौठा मांशपिण्डमै केन्द्रित थिई । पुरुषले पनि स्त्रीका छातीमा पहाडझैँ उचालिएका आफूसँग नभएको अङ्गतिर कौतुहल राखेर हेर्न थालेको थियो । स्त्रीले पुरुषको अङ्ग छोएर हेरी । आफ्नो पनि उक्त स्थलमा छामी । आश्चर्य मानेर नै पुरुषले पनि आफूसँग अभाव भएको स्त्रीका छातीमा स्थापित शिखर सुम्सुम्याएको थियो । पुरुषले आँखा चिम्लेको थियो । सायद ऊ पनि आनन्द बटुल्ने तयारीमा थियो । अर्कातिर स्त्री स्पर्श पर्नासाथ पुरुषको उक्त अङ्गमा पनि प्राण सञ्चार भएझैँ त्यो अङ्ग उभिन खोज्यो । उता स्त्रीलाई पनि पुरुष स्पर्शले अनौठो मादक तरङ्गले छोप्न थालेको थियो । स्त्रीले आफ्नो देहमा पुरुषमा रहेको त्यस्तो अङ्गकै खाँचो रहेको अनुभूत गरिसकेकी थिई । किनभने तत्क्षण उसले आफ्नो उक्त स्थल छामिसकेकी थिई । त्यहाँ त प्वाल मात्रै भएको सत्य पनि ऊसँग साक्षात्कारै थियो । त्यसै क्षण स्त्रीले आफूमा रिक्तताको अनुभव गरी । स्त्रीले आफ्नो सोही रिक्त स्थलमा परमात्माको नवीनतम सृष्टि अर्थात् तथाकथित पुरुषसँग भएको उक्त
अङ्गको तीव्र आवश्यकता महसुस गरी ।
‘हो मसँग यसको मात्र अभाव रहेछ,’ स्त्रीले परमात्मातिर फर्केर भनेकी थिई । त्यसपछि बल्ल परमात्मा पनि आफ्नो नवीनतम आविष्कार सफलीभूत भएको देखेर सन्तुष्टिका साथ मुस्कुराएका थिए ।
‘स्त्री ! तैँले बल्ल मेरो सृष्टि रूचाइस्, म खुसी भएँ । अब तँ यसैसँग रमाउने गर् । म अरू प्राणीका लागि पनि यसै खाले पुरुषको सृष्टिमा लाग्ने छु । सुन् स्त्री ! एउटा कुरा चाहिँ तैँले बुझ्न जरूरी छ ....!’ परमात्मा बोलिरहेका थिए तर स्त्री भने परमात्माका छेउबाटै पुरुषलाई समातेर बगैँचा विहारमा निस्किसकेकी थिई । स्त्रीलाई सावधान पार्न चाहँदा चाहँदै परमात्मा असमर्थ भएका थिए । किनभने पुरुष नसामा परिसकेकी स्त्री परमात्माबाट टाढा पुगिसकेकी थिई । मानवीलाई अल्मल्याउन आफू सफल भएकोमा परमात्मा फेरि पनि मुस्कुराएका थिए ।
‘स्त्री, तैँले मन पराएको हुनाले सोही तेरो विपरीत अङ्गधारी पुरुष अब सदा सर्वदा तेरो हुनेछ । तर अबदेखि तेरो भागमा चाहिँ पुरुषको उक्त अङ्गरूपी औजारले दिन सक्ने सुख र दुःख मात्रै पर्ने छ । किनभने तैँले रूचाएको पुरुषसँग तँसँग नभएको सो औजारबाहेक अरू तैँले पाउने केही हुने छैन । आफ्नो आवश्यकता पूरा नहुन्जेल यो पुरुष पनि बत्तीको उज्यालोमा पुतलीझैँ तेरै वरिपरि झुम्मिरहने छ । आफ्नो औजार तेरा अङ्गमा प्रवेश गराइसकेपछि यस पुरुषलाई पनि पृथ्वीमा त्योबाहेक अरू केही पनि छैनजस्तो भान हुनेछ । तर यस पुरुषले तेरो त्यही अङ्गबाहेक तँमा भएका सम्पूर्ण सुन्दरतम विशेषताहरू भने हत्तपत्त देख्ने छैन, बुझ्ने पनि छैन ।
‘अर्को कुरा तैँले यस औजारको एक पटक प्रयोग गरेपछि नै तँलगायत मेरो यस समग्र सृष्टिमाथि मेरो नियन्त्रण हुनेछ र तिमी प्राणीहरू जरामरणको सिकार हुनेछौ । अर्थात् पृथ्वी चलायमान हुनेछ । हे स्त्री ! त्यसैले अब स्त्री जातिमा नै मेरो सम्पूर्ण सृष्टिको भविष्य गाँसिएको छ ।’ स्त्रीका लागि परमात्माले आकाशवाणी गरेका थिए ।
जुन बेला परमात्माले स्त्रीलाई आकाशवाणी गरेर सतर्क पनि गराउन खोजेका थिए । त्यतिबेलासम्म स्त्रीले आफ्नो रिक्त स्थानमा पुरुषको अङ्ग प्रवेश गराइसकेकी थिई । परमात्माद्वारा नवीनतम आविष्कृत पुरुषमा समाविष्ट उक्त अङ्ग नै परमात्माको सृष्टि विचलनको आवश्यक औजार थियो । परमात्माको नवसृष्टि पुरुष स्त्रीको रिक्त स्थलमा आफ्नो औजारको प्रयोगपछि सन्तुष्ट भएर निदाइसकेको थियो । स्त्री भने सृष्टिपछि प्रथम पटक तृप्त त भएकी थिई तर ऊ असन्तुष्टिको डढेलोमा पनि सल्किरहेकी थिई । ऊभित्र पुरुषको अङ्गका माध्यमबाट परमात्माले सृष्टिको बिजारोपण पनि गराइसकेका थिए । त्यसपछि परमात्मा हाँस्दै सृष्टिको चलायमान स्वरूप हेर्न केही कल्प विश्राममा बसे ।
‘हे स्त्री ! मैले बुझ्नै नसकेको एउटा कुरा तँलाई सोध्नु छ । मैले गरेको अन्तिम सृष्टि अर्थात् उक्त पुरुषलाई तँ आफैले रोजेर आफूसँगै लिएर गएकी थिइस् । अनि किन फेरि सधैँ रोइरहन्छेस् ?’ सृष्टिको कुनै कल्पमा रोइरहेकी कुनै स्त्रीसँग द्रवित हुँदै परमात्माले संवाद गरेका थिए ।
‘तपाईंमा विश्वास गर्नाले म यस भुुमरीमा फसेकी हुँ । तपाईंले मलाई किन एउटा विवेकहीन पुरुषको निर्माण गरेर त्यसैसँग हिँडाउनुभयो ? तपाईंले मलाई आफैसँग किन राख्नु भएन ? अथवा तपाईंले मेरा लागि कुनै अर्की मजस्तै स्त्री देहधारी मानवी नै सृष्टि गरिदिँदा पनि मेरो यस्तो विचलित अवस्था त हुने थिएन,’ स्त्रीले बढो चित्त दुखाएर परमात्मासँग गुनासो गरेकी थिई ।
‘मद्वारा नै आविष्कृत भए पनि तँमा भएको मादकता र सम्पूर्णतामा म आफै हराउन थालेको थिएँ । तँलाई मसँग राख्नाले मेरो सृष्टिले पूर्णता पनि पाउने थिएन । किनभने तँ रमाउन सक्ने औजार पनि त मसँग थिएन । अर्की तँजस्तै स्त्री देहधारी मानवीसँग पनि तँ रमाउने थिइनस्, किनकि ऊसँग पनि त्यो औजार हुने कुरै भएन । तँ जसरी उक्त पुरुष भेटिनासाथ मसँग बिदा पनि नमागी हिँडेकी थिइस् त्यसबाट मैले तँ कल्पकल्पसम्म त्यही औजारधारी पुरुषसँग नै रमाउने बुझेको थिएँ,’ परमात्माले स्त्रीको विरक्तलाग्दो अनुहार हेरेर जवाफ दिएका थिए ।
‘के अब यो व्यवस्था हटाएर पुरानै अवस्थामा फर्काउन सकिँदैन, परमात्मा ?’ स्त्रीले करूणरसमा डुबेर परमात्मासँग अनुनय गरेकी थिई । ‘असम्भव,’ वातावरणमा दृढ आवाज गर्जाउँदै परमात्मा अलप भएका थिए ।  

 

मधुपर्क चैत २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?