logo
२०८० चैत्र १५ बिहीवार



पर्यटनको विकास विना मुलुकको आर्थिक सामाजिक विकास हुँदैन– मुख्यमन्त्री पोखरेल

प्रदेश |


पर्यटनको विकास विना मुलुकको आर्थिक सामाजिक विकास हुँदैन– मुख्यमन्त्री पोखरेल


टीकबहादुर बस्नेत

दाङ, फागुन ९ गते । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पर्यटनलाई मुलुकको सामाजिक र आर्थिक विकाससँग जोड्नुपर्ने बताउनुभएको छ । शिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले शुक्रबार घोराही–५ धारापानीमा आयोजना गरेको शिवरात्री महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘मुलुकको सामाजिक, आर्थिक विकास गर्ने माध्यम पर्यटनलाई बनाउनुपर्दछ । पर्यटन क्षेत्रलाई आर्थिक सामाजिक विकासको आधार बनाउनुपर्दछ ।’

विश्वकै अग्लो त्रिशुल रहेको धारापानी धाम विश्वकै आकर्षणको केन्द्र बन्नसक्ने भन्दै मुख्यमन्त्री पोखरेलले यसको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘धारपानी क्षेत्र सबै भन्दा अग्लो त्रिशुल रहेकाले पनि विश्वका हिन्दूहरुको आकर्षणको केन्द्र बन्नसक्छ ।

मन्दिर व्यवस्थापन समिति यस क्षेत्रको विकासका लागि अहोरात्र खटिएको देख्दा यसको भविष्य उज्ज्वल रहेको बुझ्न सकिन्छ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘धारापानी क्षेत्रलाई बृहत धाम बनाउने गरी सरकारले लागनीलाई बढाएको छ । सरकारको लगानीलाई सदुपयोग गर्नतर्फ व्यवस्थापन समिति लाग्नुपर्दछ ।’

धारपानी धामका लागि प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री पोखरेलले चालुआर्थिक वर्षमा पनि प्रदेश सरकारले दुई करोड रुपिया वजेट विनियोजन गरेको बताउनुभयो । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयहरुले त्यसबाट लाभ लिन पुग्ने कुनै व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘स्थानीयस्तरबाटै भएको प्रयास दिगो र प्रभावकारी हुने भन्दै धारापानीको विकासलाई स्थानीयको सम्बृद्धिसँग जोड्नुपर्छ ।’

प्रदेश ५ मुलुककै उत्कृष्ट पर्यटनको गन्तव्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले पर्यटनकै विकासबाट प्रदेशको समृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो । ‘प्रदेश ५ मुलुककै उत्कृष्ट पर्यटनको गन्तव्यका रुपमा रहेको छ । पर्यटनको विकासबाटै प्रदेश ५ लाई समृद्ध बनाउने लक्ष्य लिएका छौं’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘लुम्विनी, वर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, रानी महल, रुरु क्षेत्र, स्वर्गद्वारी, धारपानीलगायतका पर्यटकीय क्षेत्र प्रदेश ५ का समृद्धिका आधार हुन् । यिनको विकासका लागि प्रदेश सरकार लागिपरेको छ ।’

धर्म, संस्कृति समाज सुधारका आधार रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यिनको रक्षाका लागि सबै लाग्नुपर्ने बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघीय सांसद सुजिता शाक्यले पर्व र दिवसहरुले एकता र समृद्धिमा जोड दिने उल्लेख गर्नुभयो । समितिका उपाध्यक्ष शंकर गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विष्णुराम अर्यालले गर्नुभएको थियो । साथै मुुख्यमन्त्रीको उपस्थितिमा घोराहीको रिपुमर्दन गणका नेपाली सेनाले सलामी गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?