logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रभक्ति चेतना अभिवृद्धि गर्न सरकारको भूमिका आवश्यक - राष्ट्रपति

मुख्य समाचार |


राष्ट्रभक्ति  चेतना अभिवृद्धि गर्न सरकारको भूमिका आवश्यक - राष्ट्रपति


 
हेटौंडा, माघ १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल र मनमोहन अधिकारीको पूर्ण कदको शालिकको आज अनावरण गर्दै ती सरकारले राष्ट्रभक्ति, शहीदका योगदान, गणतन्त्र एवं लोकतन्त्र आदि विषयमा सबैलाई प्रशिक्षित तुल्याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले मानवअधिकारको सम्बद्र्धन, विकासको पूर्वाधार, सामाजिक न्याय वितरण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन तथा उद्योगमैत्री र ऊर्जा उत्पादनमा निजी क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने दिगो कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।    
 समारोहमा राष्ट्रपति भण्डारीले स्मारक समितिको प्रवेशद्वारमा नवनिर्मित रजतस्तम्भको पनि आजै अनावरण गर्दै शहीद स्मारकमा स्थापित जननेता मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले स्मारकको निर्माणका क्रममा शहीदको आकृति कुँद्ने कलाकार कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै शहीद स्मारक विकास समितिमा कार्यरत प्रमुख रामचन्द्र न्यौपानेलाई दीर्घसेवा पदक तथा शहीद स्मारक स्थापना गर्ने क्रमका प्रथम उपभोक्ता समितिका उपाध्यक्ष हरिशरण सुवेदीलाई पनि सम्मान गर्नुभयो ।    
 सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री तथा शहीद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले प्रदेश सरकार अब भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहन गर्दै जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र उद्योगमैत्री वातावरण तयार गर्ने काममा लागेकाो बताउनुभयो । उहाँले हेटौंँडामा २०५१ साल माघ १७ गते प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्झनामा एउटा ठूलो ढुङ्गामा कुँदिएको भक्ति थापालगायत अन्य १२ शहीदको आकृति रहेको शहीद स्मारक स्थापना भएको र अब त्यो पर्यटन गन्तव्य रहेको पनि जानकारी दिनुभयो ।    
 मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा राष्ट्रको गौरव आयोजनाको छनोट गरी कार्यान्वयन गर्दै हेटौंँडा–काठमाडौं सुरुङ मार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग र हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जोड्ने मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिन अनुगमन शुरु गरिसकेको पनि जानकारी दिनुभयो ।    
 वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा दिगो विकास गर्न ११९ स्थानीय तहमा रु एक अर्ब ६५ करोड विनियोजन गरिएको, मकवानपुरको इन्द्रसरोवर, दोलखाको गौरीशङ्कर हिमाललगायत अन्य क्षेत्रमा दिगो पर्यटन विकासका लागि गुरुयोजना तर्जुमा भएको र पर्यटकलाई विभिन्न स्थानको भ्रमण गराउने लक्ष्य रहेको जानकारी दिनुभयो । वाग्मती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जनताप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दै प्रदेशमा औद्योगिक क्षेत्रको विस्तार, पर्यटनको गुरुयोजना, ऊर्जा उत्पादन र जनतालाई आत्मनिर्भर हुने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न जोड दिनुभयो । त्यस अवसरमा शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले स्मारकका शालिक शहरी विकास मन्त्रालय र शहिद स्मारक विकास समितिबाट संयुक्त रुपमा रु एक करोड पाँच लाखको लागतमा स्थापना गरिएको जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?