logo
२०८१ बैशाख ८ शनिवार



शुभ मुकारुङ ‘प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत

कला |


शुभ मुकारुङ  ‘प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २० गते । गीतकार एवम् सांस्कृतिककर्मी शुभ मुकारुङ नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत हुनुभएको छ ।

नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोज अन्वेषण गरी उल्लेखनीय योगदान दिएबापत् उहाँलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले उक्त पुरस्कार प्रदान गरेको हो । 

नगद २५ हजार राशिको ‘प्रतिभा सम्मान’द्वारा प्रयोगवादी धाराका स्रष्टा कवि गोपाल पराजुलीलाई सम्मानित गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ बैरागी काइँलाले मुकारुङ र पराजुलीलाई टोपी, माला, नगद, दोसल्ला र सम्मानपत्र अर्पण गरी पुरस्कृत तथा सम्मानित गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि काइँलाले विदेशमा क्रियाशील सङ्घसंस्थाले नेपालका रहेका स्रष्टा र नेपालमा क्रियाशील सङ्घसंस्थाले विदेशमा रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तरदेशीय सम्बन्ध वृद्धि हुने बताउनुभयो ।

प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीबृद्धिमा डायास्पोरामा रहेका सङ्घसंस्था र स्रष्टाहरूको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले डायास्पोरिक साहित्यको प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठानले योजना बनाएरै काम गरिरहेको सुनाउनुभयो ।

प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक तथा मानार्थ सदस्य प्राज्ञ शशी लुमुम्बूले संस्थाको गतिविधिमा प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २४ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी दिनुभयो । ।

प्रतिभा प्रतिष्ठानका महासचिव एवम् समारोहका सभापति मिजास तेम्बेले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि बेलायतमा स्थापित प्रतिभा प्रतिष्ठानले निरन्तर काम गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?