logo
२०८० चैत्र १५ बिहीवार



त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माणको अन्तिम चरणमा

खुला |


त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माणको अन्तिम चरणमा


काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले अर्काे तहको कालोपत्र भइरहेको छ ।

बाइस मिटर चौडाइ कायम गर्ने गरी सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि सडकसँगैका घरधनीले घर भत्काउन र जग्गा छाड्न नमान्दा सडक निर्माणको काम लामो समयसम्म ठप्प थियो । गत वर्ष मन्त्रिपरिषद्को बैठकले ‘उपलब्ध चौडाइमा सडक निर्माण गर्ने’ भनी निर्णय गरेसँगै सडक निर्माण अघि बढेको सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । गत कात्तिक मसान्तसम्म सडकको भौतिक प्रगति ९० प्रतिशत रहेको थियो । बाँकी काम छिट्टै सम्पन्न हुने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माण सम्पन्न हुने क्रममा छ, बाँकी काम गर्न कुनै पनि अवरोध छैन ।”

त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको यो सडकको अधिकार क्षेत्र (राइट अफ वे) अनुसार २२ मिटर कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर सबै क्षेत्रफलमा त्यो चौडाइ कायम हुन सकेको छैन । थानकोट बजार, कालीमाटी, सोल्टीमोड, सतुङ्गललगायत स्थानमा मापदण्डभन्दा कम चौडाइमा सडक निर्माण भइरहेको छ । यीबाहेक पहिले नै चौडाइ पर्याप्त (२२ मिटर) भएका वा सार्वजनिक जग्गा भएका ठाउँमा मापदण्डअनुसार चौडाइ कायम भएको उहाँले बताउनुभयो । झण्डै ६५ प्रतिशत तोकिएको चौडाइ कायम भए पनि बाँकी सडक त्योभन्दा कम चौडाइमा कालोपत्र भएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कुनैकुनै ठाउँमा १०÷११ मिटर चौडाइमा कालोपत्र भइरहेको छ । उहाँले भन्नुभयो, “कति सडकमा डिजाइनअनुसारको काम भयो भन्ने विस्तृत विवरण हामीले काम सम्पन्न भएपछि नै निर्माण व्यवसायीबाट पाउनेछौँ ।”

सरकारले विस्तारका क्रममा रहेका सडकमध्ये चाबहिल–साँखु र त्रिपुरेश्वर–नागढुङ्गामा निर्माण अघि बढाउन सहज बनाउने गरी निर्णय गरेको थियो । चाबहिल–साँखु सडकभन्दा यस सडकमा प्रगति बढी रहेको छ । यो सडकमा विस्तार गर्नुभन्दा पहिले नै चौडाइ उपत्यकाका अन्य सडकमा भन्दा बढी भएकाले यहाँ कम समस्या आएको श्रेष्ठको भनाइ छ । “कलङ्कीबाट नागढुङगा राजमार्ग भएकाले फराकिलो थियो” उहाँले भन्नुभयो, “अरु स्थानमा पनि कम्तीमा आठ÷नौ मिटरसम्म चौडाइ थियो ।”

आयोजनाले विसं. २०७२ मा काठमाडौँ उपत्यकाका नौ सडक विस्तार शुरु गरेको थियो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले चिह्न लगाएसँगै आयोजनाले सडक निर्माणका लागि ठेक्का सम्झौता गरे पनि सडक खाली हुन नसक्दा लामो समयसम्म निर्माण ठप्प थियो । सडक क्षेत्रमा परेका घर भत्काउन प्रक्रिया अघि बढाउँदा स्थानीयवासीले विरोध गरेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो । अहिले गतिमा काम भइरहेकाले सम्पन्न हुन लामो समय नलाग्ने आयोजनाले जनाएको छ ।

कतिपय साँघुरा सडकमा काम गर्दा वर्षाको पानी जाने पाइप (स्ट्रङ वाटर ड्रेन सिस्टम) जडान गर्न गाह्रो भएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कालीमाटीदेखि सोल्टीमोडसम्मको सडकमा ढल हाल्न समस्या भएको छ । उहाँले भन्नुभयो, “चौडाइ पर्याप्त भएका सडकमा जसरी फुटपाथ, पाइपलगायतका संरचना बनाउन सकिन्छ, साँघुरा सडकमा सकिँदैन ।”

काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको हो । त्यससँगै सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन सम्बन्धित कार्यालयहरुलाई पटकपटक ताकेता गर्नुपरेको उहाँको भनाइ छ । विद्युत्, खानेपानी, वन कार्यालयलगायतले सडकमा रहेका संरचना हटाउन पर्याप्त सहयोग नगरेको आयोजनाले बताउँदै आएको छ ।

त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक निर्माणको जिम्मेवारी तीन निर्माण कम्पनीलाई दिइएको थियो । सबै कम्पनीले काम गरिरहेको क्षेत्रफलमा भौतिक प्रगति ९०÷९० प्रतिशत छ । विसं २०७२ असारमा दुई र असोजमा एउटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मेवारी दिइएको हो । तीमध्ये दुईवटा कम्पनीको अवधि गत असारमा सकिएको छ भने एउटा कम्पनीको पुसमा सकिँदैछ । बज्रगुरु बिरुवा सिएम जेभी, शर्मा शैलुङ कान्छाराम जेभी र लुम्बिनी शैलुङ साप जेभीले सडक निर्माण गरिरहेका छन् ।

आयोजनाले काठमाडौँमा तीन, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये कतिपयमा निर्माण सुस्त छन् भने कति त ठप्प नै छन् । ललितपुरका पाँच सडकमध्ये चार सडकको काम सुस्त छ भने ढोलाहिटि–सरस्वतीकुण्ड सडकमा यथास्थितिमा कालोपत्र भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?