logo
२०८१ बैशाख १३ बिहीवार



कार्यशालामा कला प्रदर्शनी

कला |


कार्यशालामा कला प्रदर्शनी


केशव खनाल
काठमाडौं, मंसिर २५ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्रदर्शनी कक्षको एक कुनामा मुखमा ब्रस लिएर रङ चोप्दै हुनुहुन्थ्यो उहाँ । शारिरिक अशक्तताका कारण हात खुट्टाले साथ नदिए पनि मस्तिष्कमा कलाप्रतिको लगाव अमिर बम्जन (वर्ष २०)लाई अथाह रहेछ । उहाँले मुखको सहायताले नै क्यान्भासमा सुन्दर झरना हेर्दै गरेको आफ्नो प्रतिरुप अतार्नुभयो । उहाँलाई पहाडको टुप्पोमा पुगेर सुन्दर दृष्य हेर्ने धोको रहेछ । त्यो धोको शरिरले पूरा हुन नदिए पनि कला मार्फत् उहाँले सो सपना साकार गर्नुभयो । मकवानपुरका स्थायी वासिन्दा कार्यशालामै सहभागी हुन भाइको साथमा काठमाडौं आईपुग्नु भएको हो ।

‘सृजनशील पखेटाहरु’ शीर्षकमा विगत एक हप्तादेखि चलेको कला प्रदर्शनीको अन्तिम दिन आज १३ जना अपाङ्गता भएका कलाकारले चित्रकला कार्यशालामा सहभागिता जनाउनुभयो । पाटन सुन्धाराका रहेश बाराहीले गणेशर शिवलिङ्गको चित्र कोर्दै हुनुहुन्थ्यो । ‘जसरी आफ्नो चित्रमा गणेश पूर्ण नभए पनि सबैले चिन्छन् र आदर गर्छन् त्यसरी नै हामी अपाङ्गता भएकालाई पनि सम्मानको भावले हेर्न मेरो चित्रले अनुरोध गरिरहेको छ’ उहाँले भन्नुभयो ।

नीलहिरा समाजमा जोडिनुभएका मीन राई (परि) तेश्रो लिङ्गी हुनुहुन्छ । उहाँले आफ्नो हातमा भएको समस्यालाई नै चित्रण गर्दै जीवनमा कमलको फूल फुल्न सक्छ भन्ने आशयमा चित्र बनाउनुभयो ।

कलामा स्नातकोत्तर उपाधी प्राप्त सुरक्षा बाग्ले (२७ वर्ष) ले एकतामा बल हुने र यहि बलले समाजमा शान्ति र भातृत्वको विकास हुने आशयमा अपाङ्गता भएका व्यक्तिलाई एकताबद्ध हुन आव्हान गरिरहनु भएको थियो ।

उहाँका साथमा रश्मी अमात्य, लक्ष्मीभक्त भासिमा, शिखा प्रधान, राघव पोखरेल, लक्ष्मी दहाल, अच्युत सार्की, रोशनकुमार श्रेष्ठ, प्रतिज्ञ शाक्य र राजमान महर्जनले कार्यशालामा कला सृजना गर्नुभयो ।

२८औं अन्तराष्ट्रिय अपाङ्गा दिवसका अवसरमा ३८ जना कलाकारका ६० भन्दा बढि चित्र प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी हलमा कलाकार सपना शाहले तेश्रो लिङ्गीको मानसिक समस्यालाई चित्रण गर्नुभएको छ । तेश्रो लिङ्गी भएकै कारण अन्यत्र जागिर वा काम नपाउने हुँदा बाध्यतावश अन्य काम गर्नुपर्ने बाध्यतालाई उहाँले क्यान्भासमा उतार्नुभयो ।
शारीरिक अपाङगता भएका स्टफिन हकिन्सले विज्ञानको क्षेत्रमा दिएको योगदानलाई सुरक्षा बाग्लेले चित्रण गर्नुभयो । उन्मत्त डौडिरहेका घोडाहरु कलाकार संजय बान्तवाले राख्नुभएको छ । प्रदर्शनीमा अपाङ्गता विषयका साथै दृष्यचित्र र प्रकृतिचित्रण गरिएका चित्रहरु पनि राखिएका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ, राष्ट्रिय शारीरिक अपाङ्ग संघ र एविलिपिक्स नेपालले आयोजना गरेको प्रदर्शनी तथा कार्यशालाले अपाङता भएका व्यक्ति पनि बौद्धिक रुपमा गर्न सकिने काममा सक्षम छन् । उहाँहरुलाई पनि अन्य व्यक्ति सरह अवसर दिन जरुरी रहेको कार्यक्रम संयोजक कलाकार प्राज्ञ सञ्जय वान्तवाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?