नियात्रा : टोपीटाले भेट्न खोल्सी !

कला |


2019-11-30-4883


युवराज नयाँघरे

कर्णाली तरेँ बल्ल आज !
हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे ।
सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर बोकेर बेगिइरहेको नदी । तिखो शक्ति र बलवान् ऊर्जामा हुइँकिइरहेको हुम्ला कर्णाली ।
पुल तरेपछि अघि ओर्लेको अप्ठ्यारो हेरेँ । कति ठाउँमा ठाडै, कति ठाउँमा घुम्ती र कति ठाउँमा भीरसँग जोगिँदै झरेको थिएँ म । तीन चार ठाउँमा त म निकै नै सुलुलु–सुलुलु चिप्लिएँ । बुट्यान पनि समात्नै नमिल्ने । साह्रै होचा र भुइँमै मिसिएजस्ता थिए ।
मैले खल्र्यामखुर्लुम हुने त्यो पारिको पाखोलाई निकै खेप हेरेँ । यता मान्छे त बाटोमा हिँड्ने होइनन्– बाटैलाई आपूmसँग हिँडाउँथे । पहिरो नै मान्छेका खुट्टासँग डराउँथे । भीर नै यताका बलियाबाङ्गासँग अत्तालिन्थे ।
माथिको थाप्लोलाई च्यादुक भनिन्थ्यो । दुई–चार घर थिए बाटोमा । च्यादुकको पसलमा हामीले भुँडी चर्किउन्जेल खाएथ्यौँ खाजा र चिया ।
घोडामर्चा चिया खाइरहँदा पाँच सात तन्नेरी खच्चड किनमेलका लागि रस्साकस्सी गरिरहेथे ।
‘दुवै गरी ३८ खच्चड बेचेँ मुइले । माल हेरेँ, मोल गरेँ ।’
बेच्नेले तर्क राख्यो ।
किन्नेले घाँडा र बाखर समेत दिनुपर्ने तर्क राखिरहेथ्यो । खच्चडको घन्टी र ढाड–मुखमा बाधिने अरू डोरी काठ बाखरसमेत पाउनुपर्ने माग थियो किन्न खोज्नेको ।
‘गहनालाई होइन, जखन्या हो ।’
‘बाखर क्या गर्छौ ?’
‘बाखर र घाँडा गहना हुन् खच्चडका ।’
१ लाख २० हजारमा मोलतोल मिल्न खोज्दै थियो । हामी च्यादुकबाट ओरालो झरिसकेथ्यौँ ।
‘बाह्र हातको हगु लगाएर एक हातको छोटो !’
किन्नेले बेच्नेलाई पेलेको पेलेकै थियो ।
०००

२ असार २०६७ ।
यालवाङबाट झिसमिसेमै हामी च्यादुकतिर फर्केका थियौँ । बाटोका सल्लेरी, केर्मी, ढाँडकेर्मी भएर घामको रापमा पिल्सिएर पुगेथ्यौँ च्यादुक ।
बाटोमा सातो लैजाने च्या छहराको भीरमा समाई–समाई कटाएथे कन्जोकले मलाई । छाँगा र भीर नाघेपछि मैले लामो सास फेरेर भनेको थिएँ– ‘एक दिन आउनेलाई यति धेरै डर !’
‘सधैँ हिँड्नेलाई कस्तो हुँदो हो ?’
‘सधैँ हिँड्नेलाई डर भागिसकेको हुन्छ नि सर । बानी परिसकेको हुन्छ ।’
कन्जोकले मलाई शान्त पारेथे ।
छहरा नाघेपछि पो भोक लागेथ्यो, थकाइ लागेथ्यो र बेलुकीको बासको ख्याल आएथ्यो मलाई । त्यसपछि एकोहोरो तर्पे, उकाली र ओराली हुँदै हामी च्यादुक पुगेका थियौँ ।
०००

‘बढीमा दुई घण्टा लाग्ला अब खोल्सी पुग्न !’
पुल कटेपछिको तर्पायाँ उकालीमा कन्जोकले भने ।
‘त्यसो भए पाइला साह्रै बिस्तारै सारौँ !’
ढुङ्गामा अडिएर म बोलेँ ।
खोल्सी लाग्दा बाटो उकालो–उकालो थियो । घाम कम थियो तर हावा अलिक तिखो थियो । तैपनि झोला र लम्काइले ढाड भिजेथ्यो छपक्कै ।
अघि बाटोमा हुम्लाका देवीदेउता चिनाएथे कन्जोकले । हुम्लातिरको बाहुन, ठकुरी र क्षेत्री समाज निकै पुरानो पाराको छ । टोपीटालेहरू बढी चोखोनीतो गर्छन् । जाडहरू त्यस्ता छैनन् । उनीहरूका आइमाईले महिनावारी बार्दैनन् ।
बाजुरा, बझाङको प्रभाव बढी भए नि हुम्लाको खस समाज निकै कठोर र जब्बर खालको देखिन्थ्यो ।
‘म बाहिर फटकेँ ।’ भनेर मासिक श्राव भएको सूचना दिने महिलालाई ‘छुई’ को पीडा अथाह छ । ती अलग्गै गोठमा बस्छन् अहिलेसम्म । चार दिनसम्म तिनलाई छाउ गोठमै राखिन्छ हिजोआज पनि ।
हुम्लामा देवीदेउता मान्नेहरू घटेका छैनन् । हुम्लाभरि मस्टो र भगवती–भौवानी मानिँदो रहेछ । त्यस्तै ठे गाउँका राम्पाल, सिमिकोटका कालासिल्ता, छिप्राका गुडालाई औधी मान्ने गरिँदो रहेछ । खीर–पुरी चढाएर, बलि दिएर, दमाहा बजाएर देवीदेउता प्रसन्न पारिदिने परम्परा बढिरहेकै छ ।
कर्णालीको गर्जन सुनी–सुनी हामी मास्तिर उक्लिरहेथ्यौँ ।
पातलो–पातलो वन थियो । तल कर्णाली तीरमा खेतैभरि आइमाईहरू थिए । केटाकेटीहरू पनि तिनका आमालाई हात बाँडिरहेथे ।
असार र असोजमा हुम्लीहरू साह्रै व्यस्त हुँदा रहेछन् । ‘असार मासमा मरी सुपा तोडी’ भन्ने भनाइ नै रहेछ । असारमा आमा मर्दा पनि लास उठाउने फुर्सद छैन भन्ने अवस्था हुँदोरहेछ हुम्लीहरूमा ।
असारमा पुरानो बाली टिप्ने र नयाँ लगाउने हतारोले सबैलाई अत्याउँदो रहेछ । असोजमा नयाँ बाली भिœयाउने, हिउँदको ६ महिनालाई चाहिने घाँस–दाउराको जोहोमा पूरै व्यस्त हुँदा रहेछन् हुम्लीहरू । बाँकी ६ महिना हिउँमै पुरिन्छन् गाउँतिर ।
०००

तेर्छो बाटो लागेपछि गफ गर्दै गइरहेथ्यौँ हामी ।
बेला–बेलामा म पानी खान रोकिन्थेँ । खाजा भर्खरै खाएथ्यौँ । बेलुका राम्रोसँग सुत्न पाए हुन्थ्यो भन्ने रहर मात्रै थियो ।
बाटो पूर्व गएथ्यो– खोल्सी गाउँ । तलमाथि भएर बेगिएको छ पूर्व । माथि अक्करे भीर र खोँच टुप्लुकिन्छन् । हामी हिँडेमुनि त्यस्तै कहालीलाग्दो भीर छ ।
कति ठाउँमा त खच्चडले टेक्दा परेका प्वाल धसिएर तल कर्णालीका छाल देखिने भएका छन् । चिसो हुन्छ मन ।
कर्णालीको सङ्लो पानीले छाल, गति र किनारलाई बेगिलो बनाएको देख्छु । नदी किनारका गरामा गाईवस्तु चराइरहेका केटाकेटीको हुल नि जतासुकै देखिन्छन् । मार्सी धान रोपेका गह्रुँगा गराको पानीको टलपल–टलपलले आँत भरिदिन्छ मनग्गे चोटि ।
पारिको च्या छहरा गाउँ सुन्दर देखियो । गाउँभन्दा माथि खर्कहरू झन् सुन्दर देखिन्थे ।
‘यति कमाइले पुग्छ त ?’
मैले तलका गरा हेर्दै भनेँ ।
‘अन्नपात फल्ने जमिन कम छ । निकै थोरै फल्छ । बेलाबखत त पानी नभएर अनि खडेरी परेर त्यै नि फल्दैन । अझ कहिलेकाहीँ त हिउँ बेस्सरी परेर सखापै पार्छ अन्नका बोटबिरुवा ।’
‘त्यै भएर हुम्लामा भोकमरी हुने हो नि !’
कन्जोकले रुखमुनिको स्याँलमा उभिएर भनेँ– ‘माटोमा उम्रिदैन । किनी खाउँ, पैसा छैन । कमाउने उपाय छैन । अनि पो मान्छे मर्ने नि भोकभोकै ।’
रुखैरुखले घेरिएको भीर भए पनि ठाउँ ठाउँमा ठूला ठूला ढुङ्गा पसारिएर बाटो अप्ठ्यारो पारेथे । कति ठाउँमा खच्चडले जथाभावी हिँडिदिनाले बाटो छिरलबिरल भएको लाग्थ्यो ।
निकै लम्केका छौँ हामी । खोल्सी गाउँ पसेर धेरै कुरा बुझ्नु छ ।
‘जाड गाउँ खुबै घुम्नु भो । अब टोपीटाले गाउँ नि घुम्नुस् ।’
कन्जोकले भनिहाले ।
खगाल गाउँ जाने बाटो बटारिएर मास्तिर लाग्यो । हामी पूर्वतिर गइरहेका छौँ एकनासले । एकलास छ । चकमन्नसँग सबै डराउँदा रहेछन् । ढुङ्गा, भीर र रुखपातको जडवत् देखेर कल्पिन्छु ।
‘खुट्टा चिप्ले... !’
हो खुट्टा एकैचोटि कर्णालीमा ।
कन्जोक निकै अघि पुगिसकेका छन् । बाटो खेद्दै कुदेजस्ता लाग्छन् उनी । मलाई चाहिँ बाटोले लखेटिरहेको छ– ‘चाँडो जा, चाँडो जा !’
भीरभीरै लागेका छौँ पूर्वतिर ।
फतक्कै गलाउने बाटो छ ओराली, खोँच, ढुङ्गा र साँघुरो गोरेटोसँग लम्किरहेको छु । धेरैचोटि एक्लै परेको छु । अघि अघि छन् कन्जोक ।
खुइय खुइय गर्छु– चर्कै स्वरले । हो, त्यतिबेला बल्ल फर्केर हेर्छन् र रोकिन्छन् कन्जोक ।
दुई घण्टा नाघेपछि फाट्टफुट्ट घरहरू देखिए ।
‘यो माथिको बाटो लामा खोल्सी जान्छ ।’
अलिक अघि उनले खगाल गाउँ जाने त्यस्तै अर्को गोरेटो देखाएथे ।
हामी हिँडिरहेकै गोरेटो त्यत्तिकै अप्ठ्यारो र अत्यासलाग्दो छ । हामीले हिँडेको बाटोभन्दा नि निकै मास्तिर गएको अर्को बाटोले मुटुमा ढुकढुकाउँछ ।
‘ऊ ऊ लामा खोल्सी !’
एउटा लामो टहरो देखियो । विद्यालय रहेछ त्यो ।
मैले जतिसुकै तन्के पनि मास्तिरका घरहरू प्रस्ट देखिनँ । भीर, झन् झन् अग्लिएका रुख र ठाउँ ठाउँमा गाडिनसम्म गाडिएका खोँचहरू देखेँ ।
छरछारिएको थियो लामा खोल्सी ।
‘कति घर छन् लामा खोल्सीमा ?’
‘२८ घर ।’
रुखको फेदमा अडिए कन्जोक ।
हामी त्यतिन्जेल खोल्सी गाउँभित्र पसिसकेथ्यौँ । ठूला ठूला फाँट र गराले खोल्सी गाउँ अद्भुत लागिरहेथ्यो, भव्य ।
‘भोक, थकाइ कुनै गुनासो ?’
कन्जोकले सोधे ।
‘छैन । कुनै छैन ।’
‘किन होला ?’
‘हुम्लीका दुःखाइ त नहेरिएको बेला । यो ठाउँलाई मैले कसरी उल्टै भोकाएँ, थाकेँ, गलेँ भन्नु ।’
मैले उत्तर दिएँ ।
अरू थपेँ– ‘दुःखमा अरू दुःख थप्नु हुन्छ र ? लडेकोलाई थिच्नु पाप हो ।’
कन्जोकले सुनिरहे ।
यसो भन्नेहरू हुम्लामा अरू नि आए होलान् । अरूले नि यसै भने होलान् । तर खोल्सी गाउँको अनकन्टार भीर छेउमा बोल्ने चाहिँ मै मात्र थिएँ कि ।
घुमी घुमी गएको बाटोले खोल्सी गाउँ पु¥यायो । गाउँ पुगियो भनेको त सानो मस्टोथानबाट घुमेर खोलातिर पो गयो बाटो ।
अघि देखिएको झुरुप्प बस्तीले परीक्षा लिनै बाँकी रहेछ मलाई । मेरो पसिना निचोर्नै बाँकी रहेछ । मेरा पैताला खियाउनै बाँकी रहेछ । मेरा पाँसुलाको तुजुग झार्नै बाँकी रहेछ । मेरो पूmर्ति तौलिनै बाँकी रहेछ खोल्सीले ।
गाउँ पस्ने बेलामा एउटा बूढी लसुन उखेल्दै थिइन् ।
घरको धुरीमा त्रिशूल थियो ।
‘बड्डा काँ जाँदा हौ ?’
‘खोल्सीसम्म होला आज त ।’
‘आज अबेला भइगो । यहीँ भइनो हो क्या ।’
उनी बारीतिरै गइन् यति भनेर । बस भन्यो उनको पाको बोलीले ।
उनको अनुहार, घर, आँगन र पिँढीले बस भनिरहेको थिएन । यी सबैभित्र गरिबी, दुःख, अभाव र भोकले हाब्रो च्यातेर कराइरहेको देखिन्थ्यो ।
अर्को कहालीलाग्दो कुरा– ती दलित थिइन् ।
हुम्लाको खोली गाउँको दलित । खस छेत्री त दुःखमा भासिएर सिद्धिन आँटेका देखेथेँ । दलित त झन्... ।
घट्टे खोलातिर गइरहँदा नि यो त्रिशूूल हेरिरहेको थिएँ ।
०००

एकोहोरो दक्षिण लाग्यौँ ।
तल हुम्ला कर्णाली किनारमा चरेका गाईका बथान घरतिर आइरहेथे । ससाना केटाकेटी ‘नमस्ते, नमस्ते’ भन्दै आफ्नै तालमा कुदिरहेथे ।
तिनका हात कता फर्केका हुन्थे थाहा भएन– बोली चाहिँ कड्केर हाम्रा कानमा ठोक्किन आएका थिए ।
गड्गडाएको खोला दक्षिणबाट उत्तर भएर पूर्व बेगिएको कर्णालीमा मिसिन्थ्यो । सङ्लो खोलाको छाल माथिसम्म आएर चिस्याइरहेथ्यो हामीलाई नि ।
बाटैमा भेटिए बर्खबहादुर शाही । पाठाको छाला खोलामा मिल्काउन हिँडेथे । उनकै अनुहारको छाला समयले उहिल्यै फ्याँकिसकेथ्यो ।
शाही र सिंह मात्र रहेछन्– खोल्सी गाउँमा ।
९० धुरी घर छन् खोल्सीमा ।
‘पाँच माउ सुनार छन् ।’
‘१२–१३ माउ सिंह छन् ।’
शाही हतारिएर खोलातिर गए ।
हामी झमक्क साँझमा पुग्यौँ– खोल्सी गाउँभित्र । तरकारीका लहरा छानामाथि गइरहेका देखिन्थे । माथिको मटानमा उवा चुटिरहेथे गाउँलेहरू ।
हामी नौला देखेर खोल्सी गाउँमा एक खालको तरङ्ग छुट्यो । घरघरबाट हेर्न थाले । उवा चुटिरहेकाहरू तन्की तन्की हेर्न थाले ।
सानो खोँचमा बसेको थियो– खोल्सी । पूर्व, पश्चिम र उत्तरतिर फैलेको खोल्सी गाउँ पूरै ठकुरी गाउँ थियो ।
बाटो दक्षिणको घरमा चार, पाँच जना बसिरहेका देखिए । तीसँग बोलेरै मात्र गाउँ कट्न मन लाग्यो ।
फटाफट लिस्नो उक्लेँ म ।
कन्जोक नि साथै थिए ।
‘कि जङ्गलको सिंह, कि हामी सिंह !’
लामा जुँगा भएका काल्चे सिंह गर्जिए ।
खोल्सी गाउँमा शाही र सिंह मात्रै भएकाले यी दुई समुदायबीच बिहे हुँदो रहेछ । बाहिरको बिहेबारी गर्ने चलनै रहेनछ । शाहीहरू यो ठाउँका रैथाने र सिंह जाजरकोटबाट बिहेबारीका लागि नाता जोड्न ल्याइएका मानिँदो रहेछ ।
‘मेरी छोरी पोइल गयाकी छ !’
पाञ्चु सिंहले नाति खेलाइरहेकी थिइन् । एउटी १४, १५ वर्षकी खिनाउरी केटी आफ्ना सुकेनास स्तन चुसाउन आमाको हातको पिउसोसामु आइपुगिन् ।
दुई घर पर्तिर रहेछ पाञ्चुकी छोरीको घर ।
हेरेको हेरेकै भएँ म ।
पाञ्चुकै घरमा पनि त्यस्तै १५, १६ वर्षकी बुहारी थिइन् ।
‘चार पढ्या हुम् ।’
बुहारीले भनिन् अनि बच्चालाई दूध खुवाउन थालिन् ।
दसैँ, साउन पूर्णे, दुबाटो चाडपर्व मानिँदो रहेछ– खोल्सीमा । तरबार खेल्ने, प्रसिद्ध परम्परा हुँदोरहेछ यहाँ ।
धामीझाँक्रीले पूरै अँठ्याएको थियो खोल्सीको समाज ।
खोल्सी गाउँमा २५, ३० जना लाटागाँडा रहेछन् । हरेक वर्ष यस्तो ३, ४ अहिलेसम्म निरन्तर त्यस्ता सन्तान जन्मिरहेको पाञ्चुले बताइन् । १७ जना त गाँड बोकेर बसेका छन् रे अहिलेसम्म ।
हाम्रा कुरा सुनेर अरू नि थपिए ।
‘आधा नेपाल, आधा चाइनाले पाल्या छ हाम्लाई !’
काल्चेले जुँगा बटारे ।
‘पाँच पाथी खाद्यान्न दिन्छ नेपाल सरकारले ।’
पाञ्चुले भनिन् ।
‘अरू नेपाल सरकारले हे¥या छैन ।’
पर कर्णालीपारि बाटो आइरहेकोमा सबैलाई सपना सरह लागेको रैछ । बिजुली बलेको, स्कुल खुलेको देख्ता नि छक्कै लागेको पटक पटक भन्थे उनीहरू ।
‘सरकार दाहिना भयो ।’
नरबहादुर शाहीले भने ।
२५० रुपियाँमा नेपालगन्जसम्म जहाजमा गएका उनलाई सबै कुरा अचम्म लाग्छ । खुसी भएर भन्थे– ‘गाला मारौँ !’
शाहीले नै भने, ‘जुमाना फरक छ !’
‘ऊ बेला भोट जाने, अब कम भइग्गे ।’
उनैले अरू भने– ‘काम क्यै नाइँ । दलाली गरेँ । फाइदा गर्न जानिनँ ।’
पाञ्चुका छोरी–बुहारी दुवैले बुलाकी लाएथे । उनका नाकमा झन् ठूलो थियो बुलाकी ।
‘यसले अप्ठ्यारो हुँदैन ?’
मैले खसखस पोखेँ ।
‘पोइले लाइदिया बुलाकी ।’
बुलाकीसमेत नकिनिदिने र नल्याइदिने लोग्नेलाई कमजोर मानिँदो रहेछ । बिहे गरेलगत्तै स्वास्नीलाई बुलाकी लाइदिइहाल्ने परम्परा रहेछ– खोल्सीमा ।
०००

मानबहादुर शाहीले ६ कक्षा पढे । अनि साउने पूर्णिमामा पुजारीको काम गर्दा रहेछन् ।
‘पहिला देउताकै भर थियो । अहिले कम छ ।’
शाहीले परिवर्तनको इसारा दिए ।
त्रिशूूल र घण्टी देखाएर गाउँमा उपचार नि उनै गर्दा रहेछन् । उनका भन्दा सिमिकोट अस्पताल जानेहरू बढ्न थालेको अनुभव शाहीलाई रहेछ हिजोआज ।
‘म घट्ट बनाउँछु ।’
प्रेमबहादुर शाहीले भने ।
कालीबहादुर शाहीले खोल्सीमै घामपानी सहेको ३६ वर्ष भयो ।
‘जिरो पनि पढिएन ।’
गाईगोरु हेरेरै जीवन गयो । पारि कर्णाली किनारबाट बाटो गइरहेको देख्दा अहिले अनौठो लाग्छ । यति सानो हेलिकप्टर उडिरहँदा छक्क परेर कति रात नसुतेको सुनाए उनले । उनका छोराछोरी पुस्तक च्यापेर जाँदा आफ्नो उमेर त्यस्तै बनाउने रहर जाग्छ रे शाहीलाई ।
‘केटाकेटी कस्तो पढ्छन् ?’
मैले सोधेँ ।
‘टोकाटोकी ठिकै पढ्छन् ।’
मष्टोका पुजारी रहेछन् प्रेमबहादुर शाही । उनीसँग नि कुरा निकै भए– खोल्सीमा । उवा, चिनु कागुनो, मार्सी र भट्ट उमार्दा रहेछन् खोल्सी गाउँमा ।
गुरा, भुवानी, मदनपाल, मस्टो, हरिपाल, घन्टपाल, हिल्सो, भुम्या देवीदेवता निकै मान्दा रहेछन् खोल्सीमा ।
अझ राम्पाल, कालिका, भुम्यालाई साह्रै भक्तिभाव र श्रद्धासाथ मान्ने प्रचलन रहेछ यहाँ ।
‘राम्पालको थान छ ।’
प्रेमबहादुरले भने ।
‘राम्पालले अहिलेसम्म बचाए । अब नि बचाउँछन् ।’
शाहीले भक्तिभावले भने ।
घरबाट हिँड्ने बेलामा मैले ती बुहारी, छोरी र पाञ्चुलाई हेरेँ ।
ती सबैका शरीरमा कुपोषणले राज गरेथ्यो । शक्तिहीन ती नारी शरीरमा सौन्दर्य, रूप र बैँसको एक थोपो उज्यालो थिएन । थियो त– अभाव, रोग, हेला, उपेक्षा र वेदनाको रुवाबासी ।
पाञ्चुले म लिस्नो समातेर झरिरहँदा भनेकी सुनेँ– ‘फाटेको लुगा सिएर लाउँछौँ । फाँडो बरु खान्छौँ । अक्षर नसिकी नहुने रैछ ।’
मेरा मनभरि उनका कुरा पाकिरहे, छड्किरहे, उम्लिरहे । म भित्रभित्र गुजुमुजु बोली फत्किरहेँ... ।
खोल्सीका सिंह, शाहीको कमाइ हुने अर्को कुनै उद्यम, कला वा पेसा छैन । वर्षको एक चोटि चीनको तिब्बत जान्छन् । उही ताक्लाकोट गएर काम गर्छन् । त्यही पनि चीनको कृपामा भर पर्ने कुरा हो ।
बेलाबखत जडीबुटी खोजेर सुर्खेत, नेपालगञ्ज गए पनि सधैँ त्यता जाने मौका मिल्दो रहेनछ ।
पाञ्चुको घर छोडेर हामी पूर्वतिर लाग्यौँ ।
अलिक अघि पुगेपछि देखियो स्कुले चौर । केटाकेटी खेलिरहेथे ।
कन्जोकका चिनारु यता निकै भेटिए । बोलीचालीमा मग्न थिए उनी ।
एक चोटि पछाडिपट्टि फर्केर हेरेँ– खोल्सी गाउँलाई । चुपचाप र शान्त थियो गाउँ ।
खाली अभाव, रोग र वेदनाले थिचिनसम्म थिचिएर थल्लिएथ्यो खोल्सी गाउँ । गाउँमा भोक, दरिद्र्याइँ र अशिक्षाका पर्दा खप्टिएर अर्को अन्धकार साँझ हेर्नै थियो निरन्तर । जसलाई आफ्नो फुस्रो, खस्रो र रगत सकिएको छालामा खप्टाएर राखिरहेथ्यो खोलीको ज्यानले धेरै युगदेखि... धेरै समयदेखि... धेरै हिउँदबर्खादेखि... ।
घर अगाडिको एक मुढे लिस्नो उक्लिने र आर्लिनेहरूले खोल्सीका साँझलाई घरको पिँढीमा राख्दै थिए ।
तल हुम्ला कर्णालीको गर्जन झन्–झन् चर्किएर मसम्म आइरहेथ्यो निरन्तर... निरन्तर... ।

 

मधुपर्क मङ्सिर २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?