logo
२०८० चैत्र १६ शुक्रवार



सवारी दुर्घटनाबाटै १७ दिनमा दोलखाका १८ जनाको मृत्यु, ६३ घाइते

पढ्नै पर्ने |
राष्ट्रिय |


सवारी दुर्घटनाबाटै १७ दिनमा दोलखाका १८ जनाको मृत्यु, ६३ घाइते


कैलाश लामा

चरिकोट दोलखा मङ्सिर ५ गते । पछिल्लो समय दोलखाबाट राजधानी तथा छिमेकी जिल्ला जाने सवारीसाधनहरु दुर्घटनामा पर्न थालेसँगै ज्यान गुमाउने र घाइतेको संख्या बढेको छ ।

कच्ची सडक, पुराना सवारीसाधन, क्षमता भन्दा बढि यात्रु कोच्ने र चालकको लापरबाहीले यात्रु वाहक सवारीहरु दुर्घटना परेसँगै मुत्यु हुने र घाइते हुनेको संख्या बढेको हो ।

पछिल्लो १७ दिनमा मात्रै सार्वजनिक र निजी सवारी साधन गरी तीनओटा दुर्घटनाबाट दोलखा जिल्लाका १८ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्याङ्क अनुसार २०७२ सालको आमविनासकारी भुकम्प पछि दोलखा जिल्लामा यो नै ठूलो मृत्युको घटना हो ।

गत कात्तिक १७, मङ्सिर २ र मङ्सिर ४ गते भएको सार्वजनिक र निजी सवारी दुर्घटनामा १४ महिला र ४ पुरुष गरी १८ जनाले ज्यान गुमाएका छन् । यी तीन दुर्घटनाबाट ६३ जना घाइते भएका थिए । शैलुङ्गेश्वरी यातायातको बस गत कात्तिक १७ गते दुर्घटना हुँदा दोलखा जिल्लाका मात्र १५ जना, मंसिर २ गते निजी बोलेरो दुर्घटनामा दुईजना र मंसिर ४ गते बुधबार गौरीशंकर यातायातको बस दु्र्घटना हुँदा एक जना गरी कूल १८ जनाको मृत्यु भईसकेको छ ।

गत कात्तिक १७ गते आइतबार दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा दोलखाको शैलुङ गाउँपालिकाको १४ र भीमेश्वर नगरपालिको १ गरि १५ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा ५१ जना घाइते भएका थिए । कतिपय घाइते उपचार पछि घर पुगे भने कतिपय घाइते अझै अस्पतालमै उपचाररत छन् ।

एकमहिना नबित्दै १८ जनाको मृत्युले दोलखा जिल्ला शोकै शोकमा डुबेको छ । सवारी दुर्घट्नामा परि दुई बालबालिकादेखि ७० बर्षसम्मका ज्येष्ठ नागरिकको ज्यान गएको छ । मृतकको परिवारको आँशु ओभाउन अझै कति समय लाग्ने हो भन्ने कल्पना गर्न सकिने अवस्था छैन ।

मंसिर २ गते सोमबार शैलुङ गाउँपालिका–८ झोरमनगाउँबाट रामेछापको दोरम्बाको दहपताल जाँदै गरेको निजी सवारी साधन बालेरो दोरम्बाको डढुवामा दुर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको थियो । दुर्घटनामा परि झोरमनगाउँका करिब ११ बर्षिय दिलकुमारी श्रेष्ठ र करिब ७ बर्षिय सुवानी श्रेष्ठको मृत्यु भएको थियो । घटनामा चालक सहित ११ जना घाईतेहरूको काठमाण्डौँमा उपचार भईरहेको छ ।

मङ्सिर ४ गते बुधबार डिजेल सकिएर रोकिराखेको बा ३ ख २९९७ नम्बरको बस पछाडी गुडेर दुर्घटना हुँदा बैत्यश्वर गाउँपालिका –३ मिर्गेकी ७० बर्षिय कुमारी तमाङको मृत्यु भएको छ । दुर्घटनामा दुई महिने शिशु घाइते भएको प्रहरीले जनाएको छ ।

बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौं जाँदै गरेको गोरीशंकर यातायातको उक्त बसको भीमेश्वर नगरपालिका–८ बोच ठुल्नागीमा डिजेल सकेको र उकालोमा रोकिराखेको बस ओत नाघेर पछाडी गुड्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

बसमा करिब १० जनाले यात्रा गरेको भए पनि रोकेको बेला भएर आफूहरु बस बाहिर टहलिएर बसेको बेला गाडी आफै पछाडी गुडेको यात्रु सुरेश तमाङले बताउनुभयो । ओरालो तर्फ पछाडि गुड्दै गरेको बसबाट दुई महिने शिशु सहित दुई जनाले ढोकाबाट हामफाले भने ढोकामा आइपुग्ने वित्तिकै गाडी पल्टिएर वृद्धा तामाङलाई थिचेको प्रत्यक्षदर्शी यात्रु तामाङले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?