logo
२०८० चैत्र १६ शुक्रवार



१५ वर्षदेखि ६० वर्षका महिलाले तयार पारे मिथिला लोकचित्र

कला |


१५ वर्षदेखि ६० वर्षका महिलाले तयार पारे मिथिला लोकचित्र


गोरखापत्र अनलाइन
जनकपुर, कातिक २५ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा पाँच दिवसीय लोक चित्रकला कार्यशाला एवम् प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले आयोजना गरेको कार्यशालामा उक्त गाउँपालिकाका ३५ जना महिला कलाकार सहभागी थिए ।
कार्यशाला कात्तिक २० गते बुधबार एक कार्यक्रमकाबीच आरम्भ भएको थियो जसको उद्घाटन प्रदेश दुईका प्रदेश सभा सदस्य रामआशिष यादवले गर्नुभएको थियो ।
कार्यशालामा १५ वर्षदेखि ६० वर्षसम्मका सहभागी महिला कलाकारले मिथिला लोक चित्र तयार पारेको लोककला विभागकी प्रमुख मिथिलादेवी यादवले बताउनुभयो ।
प्रतिष्ठानका सभा सदस्य रामपुजन ठाकुरको संयोजकत्वमा सम्पन्न कार्यशालामा मिथिला चित्रकारद्वय लक्ष्मण मण्डल र पुनमकुमारी दासले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
एउटा गैरसरकारी संस्थामार्फत् उक्त क्षेत्रमा सामाजिक कार्यमा संलग्न चार जना जर्मन नागरिकले समेत कार्यशालामा स्वेच्छिक रुपमा सहभागी भएर चित्र कोरेका थिए ।
समापन कार्यक्रममा बोल्दै उक्त गाउँपालिकाका अध्यक्ष बद्रीनारायण सिंहले मिथिला चित्रकलाको विकासका लागि आगामी आर्थिक वर्षदेखि बजेट छुट्टयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै, लोककला विभागकी प्रमुख यादवले ग्रामीण भेगका कलाकार र विशेषगरी महिला कलाकारको सीप विकासका लागि प्रतिष्ठानले आगामी दिनमा मुलुकको अन्य भागमा समेत यस्तै प्रशिक्षण एवम् कार्यशाला आयोजना गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?