logo
२०८१ बैशाख ८ शनिवार



नेपाल आर्ट फेस्टिभलमा एक सय चित्रकला प्रदर्शन

कला |


नेपाल आर्ट फेस्टिभलमा एक सय चित्रकला प्रदर्शन


गोरखापत्र समाचारदाता
काठमाडौं कात्तिक २१ गते । नीलो आकाशमा सेताम्य हिमाल र बादलको कुहिरो मण्डलको चित्रले भारतीय कलाकारको कौतुहलता बढाइदियो ।
उनीहरूले नेपाली कलाकार नरबहादुर बिकेलाई सोध्न भ्याए, के यति साहे हिउँ देखिन्छ त ? भारतका विभन्न शहरबाट नेपालमा कला प्रदर्शनी गर्न आएका कलाकारहरू आफूले चित्र बनाउन छाडेर बिकेको चित्र हेर्न मख्ख देखिन्थे । धेरै जसो पहिलो पल्ट नेपाल आएका र चित्र देखेरै हिमाल हेर्न लालायित भएको बताउँदै थिए ।
बिके आर्ट ग्यालरीले आयोजना गरेको कला कार्यशाला नेपाल आर्ट काउन्सिलमा सम्पन्न भएको छ । भारतीय कलाकारहरुले अमुर्त र बुद्धका चित्रलाई प्राथमिकता दिएका थिए भने नेपाली सहभागी कलाकारले नेपाली परिवेशलाई चित्रण गरे ।
११ जना कलाकार सहभागी रहेको कार्यशालाको समापनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नेपाल आर्ट काउन्सिलमै ५६ जना नेपाली तथा भारतीय कलाकारको करीब एक सयवटा चित्रहरू प्रदर्शनीमा रहेका छन् । कला आकार फाउन्डेशन भारतले आयोजना गरेको ‘नेपाल आर्ट फेष्टिभल’मा कलाकारले भारतीय साथै नेपाली विषयका साथै विविध विषय र माध्यममा कला प्रदर्शनी गरेका छन् । प्रदर्शनी शुक्रवारसम्म संचालनमा रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?