logo
२०८१ बैशाख ८ शनिवार



हिमाली क्षेत्रका तस्बिरको प्रदर्शनी

कला |


हिमाली क्षेत्रका तस्बिरको प्रदर्शनी


गोरखापत्र समाचारदाता
ललितपुर, असोज २७ गते । फ्रन्सेली फोटोग्राफर मिसेल मेको फोटोहरू प्रदर्शनी पाटन दरबार संग्रहालयमा भइरहेको छ । ६७ वर्षीय मिसेलले विगत १५ वर्षदेखि नेपालका विभिन्न ठाउँमा घुमेर खिचेका उत्कृष्ट १०८ वटा तस्बिर प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीलाई ‘फिफ्टीन इयर्स इन नेपाल’ शीर्षक दिइएको छ । पाटनस्थित योङ पिकासो चित्रकला केन्द्रले फोटो प्रदर्शनी आयोजना गरेको हो । नेपालका विकट हिमाली गाँउँ नारफू लगायत हिमाली क्षेत्रका कसैले नखिचेका ठाउँका फोटोहरुसमेत प्रदर्शनीमा राखिएको कलाकार तथा आयोजक अजय देसारले बताउनुभयो ।
नेपालमा हरेक वर्ष आउँदा खिचेका ३० हजारभन्दा बढी फोटोको संकलन आफूसँग रहेको फोटोग्राफर मेले बताउनुभयो । नेपालका हिमाल, पहाड, नदीखोला, संस्कृति, मन्दिरहरुले आफूलाई मोहित बनाएका कारण हरेक वर्ष नेपाल आएर महिनौं घुमफिर गरी फोटो खिच्ने गरेको फोटोग्राफर मेले बताउनुभयो । सन् २००५ देखि मिसेलले नेपालको फोटो खिच्न थाल्नुभएको हो ।
हिमाली भेग, उपत्यका लगायतका ठाउँका मनमोहक फोटोहरु प्रदर्शनीको तयारी दुई वर्षअघिदेखि नै गरिएको कलाकार देसारले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदर्शनी गरिएको उहाँको भनाइ छ ।
विश्व सम्पदा सूचीमा रहेको पाटन क्षेत्रमा नै फोटो प्रदर्शनी गर्ने मेको धोको रहेकोले यहाँ प्रदर्शनी गरिएको कलाकार देसारले बताउनुभयो ।  प्रदर्शनी कात्तिक ८ गते सम्म जारी रहने उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?