सिन्धुलीमा चार दिने चित्रकला शिविर सम्पन्न 

कला |


2019-10-05-2308


गोरखापत्र समाचारदाता

सिन्धुलीगढी, असोज १८ गते । इष्ट इन्डिया कम्पनीका फौजलाई गोर्खालीले परास्त गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा आयोजित चार दिने चित्रकला शिविर सम्पन्न भएको छ । समृद्ध सिन्धुली अभियानद्वारा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा असोज १४ गतेदेखि चार दिनसम्म गढी क्षेत्रमा आयोजित चित्रकला शिविरमा ऐतिहासिक ठूलोगढी, सानोगढी, पौवागढी, किल्ला, दरबार र त्यस वरपरका सम्पदा क्षेत्रलाई चित्रकलामा उतारिएको थियो ।

शिविरमा आठ जना कलाकारको सहभागिता रहेको थियो । गढीमा तयार भएको चित्रकलालाई राजधानी काठमाडौँमा प्रदर्शन गरिने अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताउनुभयो । विक्रम संवत १८२४ असोज १५ गते कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सघाउन कप्तान किनलकको नेतृत्वमा आएको दुईहजार चार सय अंग्रेज फौजलाई गोर्खालीेले सिन्धुलीगढीमा परास्त गरेका थिए । सो शिविरको प्रदेश सभा सदस्य विनोद खड्काले असोज १५ मा उद्घाटन गर्नुभएको थियो ।

कलाकारले तयार गरेका चित्रलाई सिन्धुलीगढीको प्रचार गर्न चित्र पुस्तिका, पोष्टकार्ड, क्यालेन्डर आदि सामग्री तयार गर्न प्रयोग गरिने अभियन्ता तथा कला शिविरका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा कलाकार तथा प्राज्ञ सुषमा राजभण्डारी, सुदर्शनविक्रम राणा, सुनिता राणा, सुरेम देशार, अश्रुराम खाइजू, अनिल खड्का, अंशु थापा मगर, सुदिप विशंखे, अनुस खाइजूको सहभागिता छ । कार्यक्रममा प्रदेश सभा सदस्य बिनोद खड्काले सिन्धुलीगढी सिन्धुलीको मात्र नभएर नेपाल र नेपालीले गौरव गर्न लायकको ऐतिहासिक स्थल भएकाले यसको संरक्षण र प्रबद्र्धनमा सरकारी स्तरबाट प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि विजय हासिल गरेको दिन असोज १५ गते भन्ने इतिहासविद्हरुले स्पष्ट गरिसकेको अबस्थामा विजय दिवसका बारे कसैले भ्रम राख्न नपर्ने बताउनुभयो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ तथा चित्रकला विभाग प्रमुख शुषमा राजभण्डारीले सिन्धुलीगढीमा आएर कला सिर्जना गर्ने अवसर कलाकारले प्राप्त गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कमलजंग राईले जिल्लामा रहेका गढी किल्लाको संरक्षण र प्रवद्र्धनबाट पर्यटनको विकाससँगै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । कलाकार अश्रुराम खाइजूले ऐतिहासिक सिन्धुलीगढी सम्पदा र युद्धका विषयमा तयार पारिने चित्रले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । सिन्धुलीगढीको प्रवद्र्धनमा समृद्ध सिन्धुली अभियानले हरेक वर्ष राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्दैआएको छ । अभियानले एकीकरण पदयात्राको अभियानसमेत सञ्चालन गर्दैआएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?