logo
२०८० चैत्र १६ शुक्रवार



जेसुम अभियानकाे दशौं कला शृङ्खला सम्पन्न

कला |


जेसुम अभियानकाे  दशौं कला शृङ्खला सम्पन्न


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १७ गते । कला, साहित्य र रंगमञ्चको सौन्दर्यमामार्फत् सम्पदा र संस्कृतिका विषयवस्तु उजागर गर्दैआएको जेसुम अभियानले सांस्कृतिक नगरी साँखुमा आफ्नौ दशौं शृङ्खला सम्पन्न गरेको छ । तामाङ भाषामा जेसुमको अर्थ सौन्दर्य भन्ने लाग्छ । कला, साहित्य र रंगमञ्चमा सक्रिय युवाको स्वतन्त्र अभियानका रुपमा थालिएको जेसुम अभियानले काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँलगायत स्थानमा यात्रा गरिसकेको छ ।

जेसुम अभियानका कलाकार तथा साहित्यकारलाई शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, वडा अध्यक्ष हितमान तामाङलगायतले स्थानीय कला, सम्पदा र संस्कृतिबारे जानकारी गराउनुभएको थियो । जेसुम अभियानकर्मीहरुले साँखुको पवित्रस्थल शालीनदी, माधवनारायणको मन्दिरहुँदै पुरानो साँखु बजार भएर बज्रयोगिनी मन्दिरसम्मको यात्रा गर्नुभएको थियो ।

संस्कृतिविद् प्रकाशमान सकोका अनुसार, साँखुमा भिन्नै र मौलिक परम्परा छन् । कलाकार र बुहारी भित्र्याउने भिन्नै ढोका छ । छोरी अन्माउने ढोका अर्कै छ । देउतालाई स्वागत गर्ने र मृत्यु संस्कारमा प्रयोग गर्ने ढोका पनि भिन्नाभिन्नै छ ।

प्रकाशमानका अनुसार बज्रयोगिनी मन्दिर स्थापना भएको बेला मञ्जुश्रीले चोभारको डाँडो काटेकै थिएन भन्ने मिथक स्थानीयमा छ । सो अवसरमा कलाकारहरुले क्यानभासमा चित्र उतारे । कलाकार दीपेन्द्रमान बनेपाली, कृष्णगोपाल श्रेष्ठ, अमूल्य डंगोल, स्वयल श्रेष्ठले स्थानीय सम्पदालाई चित्रमा उतार्नुभएको थियो । सो क्रममा संस्कृतिविद् सकोले साँखु क्षेत्रका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक सम्पदाका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार, ‘मणिशैल महाबदान’ ग्रन्थमा साँखुको बस्ती ३३ सय वर्ष पुरानो भएको उल्लेख छ । शिलालेखहरूले पनि त्यो पुष्टि गर्छन् । उहाँले भन्नुभयो, साँखुको पुरानो नाम सको हो । नेवार भाषामा यसको अर्थ तिब्बतमुनिको देश भन्ने लाग्छ ।” अभियानका संयोजक अनिता लामाका अनुसार, साँखु सहरको घुमघामपछि रचिएका रचना वाचन समेत गरिएको थियो । कवि कवि छविरमण सिलवाल, फूलमान वल, गणेश बुढा, रोजिता बज्राचार्य, धर्मानन्द भट्ट, रामेश्वर श्रेष्ठ, मंगल बाडे, रामकृष्ण सिंह, मुकुन्द पौडेल, शंकर सन श्रेष्ठ लगायतले कविता वाचन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?