logo
२०८१ बैशाख ८ शनिवार



शुभ मुकारुङ र गाेपाल पराजुलीलाई सम्मान गरिने 

कला |


शुभ मुकारुङ र गाेपाल पराजुलीलाई सम्मान गरिने 


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गीतकार शुभ मुकारुङलाई एक लाख रुपियाँ राशिको प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । यस्तै, गोपाल पराजुलीलाई सम्मान गरिने भएको छ ।

संस्थाकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । वि.सं. २००७ साल पुस २ गते काठमाडौँको कोटेश्वरमा जन्मिएका पराजुलीका करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् । कविता, नाटक लगायतका विविध विधामार्फत् नेपाली साहित्यको श्रीबृद्धिमा उल्लेखनीय योगदान पु¥याएबापत पराजुलीलाई उक्त सम्मान दिने निर्णय गरिएको महासचिव मिजास तेम्बेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिअनुसार वि.सं. २०२८ साल साउन १३ गते भोजपुरको दिल्पा अन्नपूर्णमा जन्मिएका मुकारुङका तीन गीति एल्बम, एक गीतसङ्ग्रह, एक परिचयकोश, दुई लोककथा र एक संस्कृति सम्बन्धी पुस्तक प्रकाशित छन् । नेपाली गीतिविधा र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ दिने निर्णय गरिएको हो ।

सन् २००८ मा बेलायतमा स्थापित उक्त संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य र दावा ग्याल्मो (दार्जिलिङ) सम्मानित भइसक्नुभएको छ ।

यसैगरी, ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान बल र बलराम अधिकारी पुरस्कृत हुनुभएको छ । संस्थाका मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बूका अनुसार उक्त सम्मान तथा पुरस्कार आगामी जनवरीको पहिलो साता राजधानीमा एक समारोहको आयोजना गरिने प्रदान गरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?