logo
२०७८ मंसिर २१ मंगलवार



जोशीलाई चार लाख रुपियाँ राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रदान गरिने

कला |


जोशीलाई चार लाख रुपियाँ राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रदान गरिने


काठमाडौँ, असाेज १ गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई चार लाख रुपियाँ राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ ।

सो पुरस्कार नेपाल प्रज्ञा–प्र्रतिष्ठानद्वारा चार–चार वर्षमा प्रदान गरिन्छ । यसैगरी, प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ । जसअनुसार प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धरलाई प्रदान गरिने भएको छ ।

यस्तै, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार प्र्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरिने जनाइएको छ । यस्तै, एक एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ मदन रेग्मी र नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार–२०७६ भागीरथी श्रेष्ठलाई प्रदान गरिने छ ।

मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य)लाई, २०७६ का लागि अमृत योञ्जन तामाङलाई, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य)लाई, २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य)लाई प्रदान गरिने भएको छ ।

यी पुरस्कारको राशि एक एक लाख रुपियाँ रहेको छ । यसैगरी प्रज्ञा–प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।

नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार, अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि एक एक लाख रुपियाँ रहने छ ।

यसरी नै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापनाको समेत निर्णय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?