logo
२०८१ बैशाख ७ शुक्रवार



छाउपडीविरुद्ध ‘हराएकी म’

कला |


छाउपडीविरुद्ध ‘हराएकी म’


गोरखापत्र समाचारदाता

काठमाडौं, भदौ ३० गते । पश्चिम नेपालको कुनै एउटा गाउँको विद्यालयमा शिक्षक सुशिल विक आफ्ना विद्यार्थीलाई रजस्वलाबारे पढाइरहनु भएको छ । रजस्वला नियमित प्राकृतिक प्रक्रिया भएकोले यस्तो अवस्थामा स्वास्थ्यमा थप ख्याल गर्नुपर्ने र तागतिलो खानेकुरामा जोड दिनुपर्ने उहाँको सन्देश छ । तर उहाँकै छोरीको भूमिकामा रहनुभएकी पुष्पा बीसी भने रजस्वला भएपछि आफ्नै घरमा परिबन्धमा पर्नुहुन्छ । आफ्नो आमाको हठी स्वभावका कारण घरबाट बाहिर जाने उहाँलाई छुट छैन ।

कतिसम्म भने रजस्वला भएको समय पुरुषको अनुहार हेर्नुहुँदैन भन्ने उहाँको मान्यताका कारण पुष्पा आफ्नै बुवासँग पनि भेटबाट बञ्चित बनाइनुहुन्छ । यो सबै परिस्थिति बुझेपछि शिक्षकको भूमिका रहनुभएका विक भन्नुहुन्छ ‘आधा उमेर समाज परिवर्तन गर्न हिंडेको म तर आफ्नै घर भने बदल्न सकिन ।’ नाटक ‘हराएकी म‘ रजस्वलाको समयमा प्रचलित छाउपडी प्रथाको यस्तै कथा वरपर केन्द्रित छ ।

यो सबै दृश्य कीर्तिपुरको थिएटर मलमा आइतबारदेखि मञ्चन भइरहेको सोही नाटकको हो । नेपाली समाजमा कुप्रथाको रुपमा रहेको छाउपडी प्रथाविरुद्ध बालबालिकामा चेतना जगाउने लक्ष्यसहित नाटकमा सबै बालकलाकार प्रयोग गरिएका छन् । निर्देशक पुष्पराज अवस्थी नाटकलाई समाजका गलत प्रथाविरुद्धको एउटा अभियानको रुपमा लिनुहुन्छ । मंगलबारसम्म सञ्चालन हुने नाटकको लेखन विजयराज आचार्यले गर्नुभएको हो ।

होराक नेपालले तयार गरेको नाटकमा शुभकामना एकेडेमीका विद्यार्थीहरु गीता मल्ल, कलाशा वि.क, श्याम कुँवर, मात्रिका शाही, आदित्य मल्ल, कमल बस्नेत, दिपेन्द्र मल्ल, सिता वि.क, कविता बस्नेत, रेवन्त कुँवर, अर्जुन मल्ल र मदन बस्नेतको जीवन्त अभिनय रहेको छ । तत्काल छोटो समयका लागि प्रदर्शन गरिएपनि मङ्सिरमा लामो समयका लागि यहिं नाटक प्रदर्शनमा ल्याइने निर्देशक अवस्थीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?