logo
२०८० चैत्र १५ बिहीवार



नोबेल विजेताको कथा: हत्याराहरू

कला |


नोबेल विजेताको कथा: हत्याराहरू


अर्नेस्ट हेमिङ्वे

(अर्नेस्ट हेमिङ्वे सन् १९५४ को साहित्यतर्फका नोबेल पुरस्कार विजेता हुन् । पूरा नाम अर्नेस्ट मिलर हेमिङ्वे (१८९९ जुलाई २१–१९६१) । उनी अमेरिकी उपन्यासकार, कथाकार, पत्रकार र खेलाडी हुन् । शब्दको
किफायती प्रयोग गर्ने उनको शैली बीसौँ शताब्दीमा निकै प्रभावी रह्यो जसलाई उनी स्वयं आइसबर्ग सिद्धान्त भन्थे । उनका अधिकांश रचना १९२० देखि १९५० सम्ममा लेखिएका हुन् । द ओल्ड म्यान एन्ड सी, फर हुुम द बेल टल्सलगायत उनका सात उपन्यास, छ कथासङ्ग्रह, दुुई गैरआख्यान कृति छन् । उनका अधिकांश कृति अमेरिकी क्लासिक्सका रूपमा अमर छन् । सन् १९५२ पछि उनी अफ्रिका यात्रामा गए जहाँ लगातार दुुई पल्टको विमान दुुर्घटनामा मुुस्किलले बचे र नराम्ररी घाइते भए । उनको बाँकी जीवन पूूरै पीडामा बित्यो । सन् १९६१ मा इडाहो राज्यस्थित केचुुमको घरमा कन्चटमा गोली ठोकेर उनले आत्महत्या गरे । यहाँ प्रस्तुत कथा हेमिङ्वेका दस सर्वाधिक प्रभावशाली कृतिमध्ये एक मानिन्छ । )
!
‘हेनरी भान्साघर’को भान्सा कोठाको ढोका खुल्यो । दुई जना भित्र पसे र काउन्टरमा बसे ।
‘के लिनुहुन्छ ?’ जर्जले उनीहरूलाई सोध्यो ।
‘मलाई थाहा छैन,’ एउटा चाहिँले भन्यो ‘के खाने होला एल ?’
‘मलाई थाहा छैन,’ एलले भन्यो । ‘खै के खाने खाने । ’
बाहिर रात छिप्पिँदै थियो । सडक बत्तीको उज्यालो झ्यालबाहिर आयो । काउन्टरमा बसेका दुई जनाले मेनु सर्सर्ती हेरे । काउन्टरको अर्काे कुनाबाट निक एडम्सले उनीहरूलाई हे¥यो । उनीहरू भित्र छिर्दा निक एडम्स जर्जसँग कुरा गर्दै थियो ।
‘म एप्पल सससँग रोस्ट पोर्क र म्यास्ड पोट्याटो खान्छु,’ पहिलो चाहिँले भन्यो ।
‘यो अहिले तयार भएको छैन । ’
‘नभए किन मेनुमा लेखेको त !’
‘त्यो डिनर मेनु हो’ जर्जले सम्झायो, ‘साँझ छ बजेपछि पाइन्छ । ’
जर्जले काउन्टर पछाडिको भित्तामा झुन्डिएको घडी हे¥यो ।
‘अहिले बल्ल पाँच बजेको छ । ’
‘पाँच बीस भइसक्या छ,’ दोस्रोले भन्यो ।
‘यो घडी बीस मिनेट छिटो छ । ’
‘तिम्रो घडी भुत्रैसिती,’ पहिलोले भन्यो ‘खानेकुरो चाहिँ के छ भन !’
‘तपाईंले भनेजस्तो स्यान्डविच खुवाउन सक्छु,’ जर्जले भन्यो ‘ह्याम र अन्डा, बेकन र अन्डा, वा कलेजो वा स्टिक जे राखेर पनि ल्याउन सक्छु । ’
‘लौ, मलाई हरियो केराउ र क्रिम सस अनि म्यास्ड पोट्याटोसँग चिकेन क्रोकेट ल्याऊ । ’
‘यो त फेरि डिनरको मेनु भयो । ’
‘जे माग्यो त्यही डिनर मेनु भन्छ हँ ! यही हो पारा ?
‘मैले भनिहालँे, म तपाईंहरूलाई अन्डा र बेकन ..’
‘म ह्याम र अन्डा खान्छु,’ एल नामको केटोले भन्यो । उसले डर्बी ह्याट र छातीको वारपार टाँक भएको कालो ओभरकोट लगाएको थियो । अनुहारको मोहोडा सानो र सेतो अनि ओठ कसिला थिए । घाँटीमा सिल्कको मफलर र हातमा पन्जा पनि थियो । ‘मलाई बेकन र अन्डा देऊ,’ अर्काे चाहिँले भन्यो । एल र उसको कद लगभग उस्तै थियो । उनीहरूको अनुहार फरक भए पनि कपडाको हुलिया भने जुम्ल्याहाजस्तो थियो । दुवैको ओभरकोट ज्यानमा एकदम टिमिक्क टाँसिएको थियो । सायद साइज सानो भएर होला । कुहिना काउन्टरमा अडेस लगाएर दुवै जना अगाडि ढल्किएर बसेका थिए ।
‘पिउने चिज के छ ?’ एलले सोध्यो ।
‘सिल्भर बियर, बेभो र जिन्जर ऐल छ,’ जर्जले भन्यो ।
‘हैन, रक्सी कुन कुन छ भनेर सोधेको !’
‘मैले भनेँ त अघि नै !’
‘कस्तो गर्मी सहर,’ अर्काेले भन्यो, ‘यसको नाम के हो ?’
‘समिट । ’
‘ओई, तैँले यसको नाम सुनेको थिइस् ?’ एलले
साथीलाई सोध्यो ।
‘अहँ !’ साथीले जवाफ दियो ।
‘यहाँ राति मान्छे किन आउँछन् ?’ एलले सोध्यो ।
‘के गर्नु, रातको खाना खान्छन्,’ साथीले भन्यो, ‘सबै यता आउँछन् र टन्न डिनर खान्छन् । ’
‘सही कुरो,’ जर्जले भन्यो ।
‘त्यसो भए हामीले ठीक कुरा ग¥यौँ हैन त ?’ एलले जर्जलाई सोध्यो ।
‘पक्कै पनि । ’
‘एकदम चलाख छस् त भाइ तँ, हैन ?’
‘हजुर,’ जर्जले भन्यो ।
‘भुत्रा बाठो हुनुु यो,’ अर्काे चाहिँले भन्यो, ‘ओई एल, यो भाइ बाठो हो त ?’
‘यो लाटो छ,’ एलले भन्यो । ऊ निक एडम्सतर्फ फर्कियो । ‘तिम्रो नाम के हो ?’
‘एडम्स । ’
‘लौ, अर्काे बाठो केटो,’ एलले भन्यो, ‘म्याक्स, हेर त यो केटो बाठो छैन त ?’
‘यो सहर पूूरै बाठा ठिटाहरूले भरिएको छ,’ म्याक्सले भन्यो ।
जर्जले ह्याम र अन्डा भएको एउटा अनि बेकन र अन्डा भएको अर्काे प्लेट काउन्टरमा राखिदियो । उसले छेउमा फ्राइड पोट्याटोको साइड डिस पनि राखिदियो ।
‘ओई, तेरो भाग कुन हो ?’ उसले एललाई सोध्यो ।
‘बिर्सिइस तैँले ?’
‘ह्याम र अन्डा । ’
‘साह्रै बाठो मान्छे,’ म्याक्सले भन्यो । अगाडि ढल्किएर उसले ह्याम र अन्डा खान थाल्यो । दुवैले हातको पन्जा लगाएरै खाए । उनीहरूले खाएको जर्जले हेरिरह्यो ।
‘के हेरेको ?’ म्याक्सले जर्जलाई सोध्यो ।
‘केही हैन । ’
‘फटाहा, आँखा तानेर मलाई नै हेर्दै थियौ त !’
‘म्याक्स, सायद केटोले ठट्टा गरेको होला,’ एलले भन्यो ।
जर्ज हाँस्यो ।
‘भो भो हाँस्नु पर्दैन,’ म्याक्सले भन्यो, ‘हाँस्ने काम छैन । ’
‘हस हजुर,’ जर्जले भन्यो ।
‘लौ, केटोले कुरो बुझ्यो,’ म्याक्स एलतर्फ फर्कियो, ‘हस हजुर भन्छ । राम्रो कुरो । ’
दुवै मज्जाले खान थाले ।
‘त्यो पर काउन्टरमा बस्ने त्यो बाठो भाइको नाम के हो अरे ?’ एलले म्याक्सलाई सोध्यो ।
‘ए, बाठो भाइ !’ म्याक्सले निकलाई भन्यो ‘भाइ, तिमी अर्काे छेउबाट आफ्नो साथी भए ठाउँमा काउन्टर पछाडि जाऊ त । ’
‘किन, के काम होला ?’ निकले सोध्यो ।
‘खास केही हैन । ’
‘तिमी जाऊ न,’ एलले भन्यो । निक काउन्टरको पछाडितर्फ गयो ।
‘किन ? खास के काम हो ?’ जर्जले सोध्यो ।
‘तँलाई के मतलब !’ एलले भन्यो । ‘किचेनमा को छ ?’
‘एउटा हप्सी छ । ’
‘कस्तो हप्सी भनेको ?’
‘खाना बनाउने काले । ’
‘उसलाई यता बोला । ’
‘के काम होला ? ’
‘बोला न केटा । ’
‘तपाईंहरूलाई आफू कहाँ छु जस्तो लाग्छ ?’
‘हामीलाई थाहा छ, हामी कहाँ छौँ,’ म्याक्स नामको मान्छेले भन्यो, ‘के हामी उल्लु ठानेको ?’
‘के वाहियात कुरा गरेको,’ एलले भन्यो । ‘किन यस्ता केटाहरूसँग गलफत्ती गरेको ?’
‘ए भाइ सुन,’ जर्जतिर फर्कंदै उसले भन्यो, ‘जा त्यो भान्सेलाई यता बोलाएर ल्या । ’
‘किन के गर्ने उसलाई ?’
‘हैन, केही हैन । बुद्धि लगा भाइ । हामी त्यो हप्सीलाई के गरौँला त !’
जर्जले भान्सातिर जाने फलेक खोल्यो । ‘साम,’ उसले भन्यो, ‘एकछिन यतातिर आऊ त । ’
भान्साको ढोका खुल्यो र भित्रबाट एक जना काले कुक बाहिर आयो । ‘किन होला ?’ उसले सोध्यो । काउन्टरमा बसेका दुवैले उसलाई हेरे ।
‘ल भाइ, ठीक छ । तिमी यहीँ उभिऊ,’ एलले भन्यो ।
एप्रोन भिरेको साम ठिङ्ग उभियो र काउन्टरमा बसेका दुवैलाई हे¥यो । ‘हस, सर,’ उसले भन्यो । एल कुर्सीबाट उठ्यो ।
‘म यो काले र बाठो निक एडम्ससँग भित्र भान्सामा जान्छु,’ उसले भन्यो । ‘हप्सी भाइ, लौ हिँड भित्र भान्सामा । बाठो भाइ, तँ पनि ऊसँगै जा । ’ त्यो मान्छे पनि भान्से साम र निकको पछिपछि भान्सामा गयो । उनीहरू भित्र पसेपछि एलले ढोका लगायो । म्याक्स भन्ने चाहिँ काउन्टरमा जर्जको अगाडि बस्यो । उसको ध्यान जर्जमा नभएर काउन्टरको पछाडि भएको ऐनामा थियो ।
२.
‘अनि, भन् चलाख केटा,’ ऐनामा हेर्दै म्याक्सले भन्यो, ‘किन चुपचाप बसेको त ?’
‘यो सब के भइरहेको छ ?’
‘ओई, एल,’ म्याक्सले अलि ठूलो स्वरमा भन्यो, ‘यो भाइलाई भन त के भइरहेको छ ?’
‘तँ आफै भन,’ भान्साबाट एलको आवाज आयो ।
‘तँ भन् भाइ, के भएको होला यो सब ?’
‘खै, मलाई के थाहा ?’
‘के भएजस्तो लाग्छ ?’
बोलिरहँदा म्याक्सको ध्यान पूूरै समय ऐनातिर थियो ।
‘म भन्दिनँ । ’
‘ओई एल, यो भाइ त थाहा भए पनि भन्दिनँ पो भन्छ त !’
‘तिमीहरूको सबै गफ म यहाँ सुनिरहेको छु,’ एलले भान्साबाट भन्यो । भान्साबाट खाना पास गर्ने प्वालको पर्दा बोतलले अड्याएर उसले खुलै छाडेको थियो । ‘ए भाइ सुन्,’ भान्साबाटै उसले जर्जलाई भन्यो, ‘तँ बारको सिधा अलि पर गएर उभिएर बस । अनि म्याक्स, तँ अलि देब्रेतिर सर् । ’
मानौँ ऊ सामूहिक फोटो सेसनका लागि मान्छेहरूको पोज मिलाउँदै छ ।
‘ए भाइ भन न,’ म्याक्सले भन्यो, ‘हामीले के गर्न लागेजस्तो लाग्छ तँलाई ?’
जर्ज केही बोलेन ।
‘म भन्छु,’ म्याक्सले भन्यो ‘हामी एक जना स्विडिसलाई मार्न आएको । स्विडेनको एक जना ठूलो मान्छे छ, ओले एन्डर्सन नामको । चिनेको छस् भाइ ?’
‘अँ चिन्छु । ’
‘त्यो यहाँ खाना खान आउँछ हैन ?’
‘अँ कहिलेकाहीँ आउँछ । ’
‘त्यो ठीक छ बजे आउँछ, हैन ?’
‘आउँदा त त्यही बेला आउँछ । ’
‘बाठो छस् भाइ तँ, हामीलाई पनि सब थाहा छ,’ म्याक्सले भन्यो, ‘छाडिदे भाइ, अरू नै कुरा गरौँ । कहिले फिल्म हेर्न गएको छस् ?’
‘कहिलेकाहीँ जान्छु । ’
‘फिल्म त हेरिरहनुपर्छ । तँजस्तो चलाख केटाले धेरै फिल्म हेर्नुपर्छ । ’
‘किन मार्नु प¥यो ओले एन्डर्सनलाई ? तपार्ईंहरूलाई के ग¥यो र उसले ?’
‘हामीले केही गर्ने मौका पनि पाउनु प¥यो नि त्यसले । त्यसले त हामीलाई अहिलेसम्म देखेको पनि छैन । ’
‘त्यसले जीवनमै एक पटक मात्रै हामीलाई देख्ने मौका पाँउदै छ,’ भान्साबाट एलले भन्यो ।
‘त्यसो भए किन मार्नुप¥यो त उसलाई ?’ जर्जले सोध्यो ।
‘एक जना साथीका लागि मार्नुपर्ने भो । बस, एक साथीको गुण तिर्न भनेर बुझ् न । ’
‘ए चुप लाग् !’ एल भान्साबाट करायो, ‘तँ बढ्ता बोलिसकिस् । ’
‘हैन, यो बाठो भाइको मन बहलाउनुप¥यो भनेर हो । कि कसो त भाइ ?’
‘तिमेरु ज्यादै बढ्ता बोल्यौ,’ एलले भन्यो, ‘यहाँ मेरो अर्काे बाठो भाइ र हप्सी चाहिँ एकअर्कालाई मनोरञ्जन दिएर बसेका छन् । महिला सत्सङ्गका दुई सन्न्यासी केटी साथीझैँ मैले बाँधेर राखेको छु यिनलाई । ’
‘तँ पनि पहिले कुनै सत्सङ्गमा गएजस्तो लाग्छ मलाई त !’
‘तँलाई के थाहा ?’
‘तँ यहुदी सत्सङ्गमा थिइस् ?’
जर्जले घडी हे¥यो ।
‘कोही आयो भने कुक बिदामा छ भन्नु । त्यति भन्दा पनि अटेर गरेर बसिरहे भने आफै भान्सामा गएर पकाऊ भन्नूू । कुरो बुझिस् भाइ ?’
‘हस,’ जर्जले भन्यो । ‘त्यसपछि हामीलाई चाहिँ के गर्नुहुन्छ तपाईंहरूले ?’
‘अब त्यो त्यही बेला थाहा हुन्छ,’ म्याक्सले भन्यो । ‘यो त्यही बेला थाहा हुने कुरो हो । ’
जर्जले घडी हे¥यो । सवा छ भइसकेको थियो । गल्लीतर्फको ढोका खुल्यो । स्ट्रिटकार चालक भित्र पस्यो ।
‘हेलो जर्ज,’ उसले भन्यो, ‘के छ खानेकुरो । ’
‘साम एकछिन बाहिर निस्किएको छ,’ जर्जले भन्यो, ‘आधा घन्टा लाग्छ होला । ’
‘ठीकै छ, म अर्काे गल्लीतिर छिरेँ,’ उसले भन्यो । जर्जले घडी हे¥यो । छ बजेर बीस मिनेट गइसकेको थियो ।
‘ठीक गरिस भाइ,’ म्याक्सले भन्यो । ‘तँ पनि भलाद्मी होस् । ’
‘त्यति नगरे त त्यसको टाउको मैले गिँडछु भन्ने थाहा थियो नि त भाइलार्ई,’ एलले भान्साबाट भन्यो ।
‘हैन होला,’ म्याक्सले भन्यो, ‘त्यस्तो हैन । भाइ बाठो छ । सोझो छ । मलाई त मन प¥यो । ’
छ बजेर पचपन्न मिनेट गएपछि जर्जले भन्यो, ‘आज आउँदैन होला ऊ । ’
लन्च रुममा अरू दुई जना थिए । उनीहरूका लागि जर्जले ह्याम र एग स्यान्डविच बनाउन भान्सामा पस्यो । उनीहरूमध्ये एक जनाको त्यो होम प्याक अर्डर थियो । भित्र उसले एललाई देख्यो । ऊ सानो ढोकाछेउमा कुर्सी राखेर बसेको थियो । एक थान सटगन चाहिँ पर्खालको छेउमा राखेको थियो । निक र सामलाई कोठाको एक कुनामा एकअर्कातर्फ ढाड सोझ्याएर बाँधिएको थियो । दुवैको मुखमा रुमाल कोचिएको थियो । जर्जले स्यान्डविच बनाइसकेको थियो । उसले त्यसलाई चिल्लो कागजमा पोको पा¥यो, झोलामा हाल्यो र लन्च रुममा पर्खेर बसेको ग्राहकको हातमा दियो । त्यो मान्छेले पैसा ति¥यो र बाहिर निस्कियो ।
‘बाठो छ भाइ, जे पनि गर्न सक्छ । ’ म्याक्सले भन्यो, ‘पकाउन लगायत जे पनि गर्न सक्छ । स्वास्नी खुसी राख्छस् भाइ तैँले !’
‘हो है ?’ जर्जले भन्यो, ‘तपाईंहरूको साथी त्यो ओले एन्डर्सन आउँदैन होला । ’
‘अब दस मिनेट कुरौँ,’ म्याक्सले भन्यो ।
म्याक्सले ऐना र घडी हे¥यो । घडीले सात बजेर पाँच मिनेट बितेको देखायो ।
‘ओई एल, आइज भो,’ म्याक्सले भन्यो, ‘जाऊँ अब, आज आउलाजस्तो छैन । ’
‘अब पाँच मिनेट कुरौँ,’ एलले भान्साबाट भन्यो ।
पाँच मिनेटभित्रमा एउटा मान्छे आयो । जर्जले कुक बिरामी छ भन्यो ।
‘अनि अर्काे कुक किन नराखेको त ?’ त्यो मान्छे चर्कियो, ‘लन्च काउन्टर चलाउँदै नचलाउने ?’ ऊ बाहिर गयो ।
‘ओई एल, आइज,’ म्याक्सले भन्यो ।
‘अनि यी दुई बाठा केटा र यो हप्सीलाई के गर्ने त ?’
‘यिनलाई केही गर्नु पर्दैन ’
‘हो त ?’
‘हो हो । ’
‘अहँ, मलाई चाहिँ चित्त बुझेन,’ एलले भन्यो, ‘अलि बढ्ता बोल्छस् तँ !’
‘के भन्छ यो,’ म्याक्सले भन्यो, ‘हामीले यसो मन पनि त बहलाउनु प¥यो । ’
‘जेसुकै भन्, तँ बढी बोल्छस्,’ एलले भन्यो । ऊ भान्साबाट बाहिर निस्कियो । उसको टाइट ओभरकोटमा सटगनको ब्यारेल बाहिरबाट पुक्क फुलेको देखिन्थ्यो ।
पन्जासहितको हातले उसले कोट मिलायो ।
‘बाठो भाइ,’ उसले जर्जलाई भन्यो, ‘आज तेरो भाग्य बलियो रैछ । ’
‘सत्य यही हो,’ म्याक्सले भन्यो ।
दुवै जना ढोकाबाट बाहिर निस्किए । उनीहरू आर्क लाइटको मुनिबाट गल्लीको पारिपट्टि गएको जर्जले
झ्यालबाट हेरिरह्यो । भान्साको ढोका अझै हल्लिरहेको थियो । ऊ भान्सातिर पस्यो । उसले निक र सामलाई
बाँधिएको डोरी फुकाल्यो ।
‘झण्डै मरिनँ म,’ कुक सामले भन्यो, ‘झण्डै मरिनँ म । ’
निक उठ्यो । उसको मुखमा पहिले कहिल्यै तौलिया कोचिएको थिएन ।
‘ओले एन्डर्सनलाई मार्न आएका रहेछन्,’ जर्जले भन्यो, ‘खाना खान आएको बेला गोली ठोक्ने योजना रहेछ । ’
‘ओले एन्डर्सन?’
‘हो र !’
कुकले बुढीऔँला मुखमा छिराएर चारैतिर छाम्यो ।
‘ती दुइटै गए ?’ उसले सोध्यो ।
‘अँ गए,’ जर्जले भन्यो ।
‘मलाई चित्तै बुझेको छैन,’ कुकले भन्यो । ‘अहँ मलाई एकरत्ति चित्त बुझेको छैन ।
३.
‘सुन त निक,’ जर्जले भन्यो, ‘तिमी गएर ओले एन्डर्सनलाई भेट । ’
‘ठीक छ । ’
‘तिमेरु बाठो नबन,’ भान्से सामले भन्यो, ‘यो
झन्झटबाट टाढै बस केटा हो । ’
‘मन छैन भने तिमी नजाऊ,’ जर्जले भन्यो ।
‘यो झन्झटमा फसेर केही पाँइदैन,’ कुकले भन्यो, ‘यो सबबाट टाढै बस । ’
‘म जान्छु उसलाई भेट्न,’ निकले जर्जलाई भन्यो, ‘कहाँ बस्छ ऊ ?’
कुक अर्काेतिर फर्कियो ।
‘ठिटाहरूलाई के गर्ने सबै थाहा छ,’ उसले भन्यो ।
‘ऊ हस्र्चको घरमा भाडामा बस्छ,’ जर्जले निकलाई भन्यो ।
‘म त्यहीँ जान्छु । ’
बाहिर सडक बत्तीको उज्यालोमा रुखको नाङ्गो
हाँगा चम्किएको थियो । निक कारको ट्र्याक कटेर गल्लीसम्म बाहिर पुग्यो । अलि पर पुगेर अर्काे सडक बत्तीको छेउबाट अर्काे बाटो लाग्यो । त्यही गल्लीको तीन घरपर्तिर हस्र्चको डेरा लगाइएको घर थियो । निक त्यही घरमा पुग्यो र घण्टी बजायो । एक जना महिलाले ढोका खोलिन् ।
‘ओले एन्डर्सन यहीँ बस्छन्, हैन ?’
‘तिमी उसलाई भेट्न आएको हो ?’
‘हो, छन् भने भेट्नै पर्ने छ । ’
निक ती महिलाको पछिपछि लाग्यो । भ¥याङबाट केही तला उक्लेपछि कोरिडरको पल्लोछेउमा पुग्यो निक । ती महिलाले ढोका ढकढक्याइन् ।
‘को हो ?’
‘तपाईंलाई भेट्न एक जना भाइ आएका छन्,’ ती महिलाले भनिन् ।
‘म हो सर, निक एडम्स । ’
‘भित्र आऊ । ’
निकले ढोका खोल्यो र भित्र पस्यो । ओले एन्डर्सन कपडा लगाएरै ओच्छ्यानमा पल्टिएको थियो । बक्सिङ हेभी वेट फाइटिङ पुरस्कार विजेता ओले ठूलो ज्यानको थियो । ओच्छ्यानमा समेत उसको ज्यान अटेको थिएन । टाउकोमा दुइटा सिरानीको अडेस लगाएर सुतेको थियो ऊ । उसले निकतिर हेर्दा पनि हेरेन ।
‘के भो भाइ ?’
‘म हेनरीको होटलमा थिएँ,’ उसले भन्यो, ‘त्यसपछि दुई जना मान्छे आएर म र कुकलाई बाँधेर राखे । उनीहरूकोे योजना तपार्ईं त्यहाँ खाना खान आएको बेला तपार्ईंलाई मार्ने रहेछ । ’
एकदम बेतुकको कुराजस्तो सुनिने गरी उसले व्याख्या ग¥यो । ओले एन्डरसन केही बोलेन ।
‘उनीहरूले हामीलाई किचेनमा राखे,’ निक भन्दै गयो, ‘तपार्ईं खान आएको बेला गोली हान्ने योजना थियो । ’
ओले एन्डरसनले भित्तामा हेरिरह्यो । केही बोलेन ।
‘जर्जले छिटै गएर तपाईंलाई खबर गर्नु भनेर पठायो । ’
‘अब म के गरौँ त ? म केही गर्न सक्दिनँ,’ ओले एन्डरसनले भन्यो ।
‘म तपाईंलाई उनीहरूको हुलिया भन्न सक्छु । ’
‘मलाई उनीहरूको हुलिया जान्नु पनि छैन । ’ ओले एन्डरसनले भन्यो । उसले भित्तोतिर हे¥यो । ‘मलाई यसको जानकारी दिन आएकोमा धन्यवाद !’
‘केही छैन । ’
त्यो अजङ्गको मान्छे ओच्छ्यानमा लडिरहेको निकले एकटकले हे¥यो ।
‘म पुलिसकहाँ गएर यो कुराको खबर गरौँ ?’
‘अहँ, पर्दैन,’ ओले एन्डर्सनले भन्यो, ‘यसको केही फाइदा छैन । ’
‘मैले केही सहयोग गर्नुपर्छ ?’
‘अहँ केही पर्दैन । ’
‘सायद कसैले तर्साएको हुनुपर्छ । ’
‘हैन, यो तर्साएको हैन । साँच्चिकै हो । ’
ओले एन्डर्सन भित्तातिर फर्कियो ।
‘कुरो के भने,’ भित्तोतिर हेर्दै उसले भन्यो, ‘बाहिर जाने मुड निकाल्नै सकेको छैन । दिनभर म यहीँ छु । ’
‘यो सहर छाडेर भाग्दा हुन्न तपार्ईं ?’
‘अहँ, हुन्न,’ ओले एन्डर्सनले भन्यो । ‘भाग्दा भाग्दा म थाकिसकेँ,’ उसले भित्तोतिर हे¥यो ।
‘अब केही उपाय छैन । ’
‘केही उपाय लगाउन सकिन्छ कि ?’
‘अहँ, म फसिसकेँ । ’ उसले त्यही सपाट आवाजमा भन्यो । ‘अब कुनै जुक्ति छैन । अब एकछिनमा बाहिर निस्कने मुड बनाउँछु । ’
‘हस् त । म जान्छु । अब जर्जलाई भेट्छु,’ निकले भन्यो ।
‘ल त भाइ,’ ओले एन्डर्सनले भन्यो, ‘यहाँसम्म दुःख पायौ । धन्यवाद !’
निक बाहिर निस्कियो । ढोका ढप्काउँदै गर्दा निकले ओले एन्डर्सनलाई कपडासहित ओच्छ्यानमा भित्तो हेरेर पल्टिरहेको देख्यो ।
तल भ¥याङ ओर्लंदा घरबेटी बुढीले भनिन्, ‘आज दिनभर कोठैमा छन् । सायद सन्चो छैन होला । मैले भने पनि ‘एन्डर्सन यस्तो रमाइलो दिनमा त यसो टहलिन निस्कनुपर्छ । ’
‘सन्चो नभएर होला मानेनन् । ’
‘अँ, आज उनलाई बाहिर जान मन रहेनछ । ’
‘अँ, विचरालाई सन्चो रहेनछ,’ ती बुढी आमैले भनिन्, ‘साह्रै असल मान्छे । बक्सिङ खेलाडी हुन् नि उनी त । तिमीलाई थाहा छ ?’
‘अँ मलाई थाहा छ । ’
‘अनुहार हेर्दा मात्रै थाहा हुन्छ,’ उनले भनिन् ।
गल्लीको ढोकानेर पुगरे उनीहरूले बात मारिरहे । ‘साह्रै भद्र मान्छे !’
‘हस् त गुडनाइट, घरबेटी आमा,’ निकले भन्यो ।
‘म घरबेटी हैन,’ ती आमैले भनिन्, ‘म त यसो घरको स्याहारसुसार गर्छु । हस्र्चको घर हो यो । ’
‘हस् त गुड नाइट । ’
‘गुड नाइट । ’
निक अँध्यारो गल्लीको बाटो हुँदै सडक बत्तीमुनिको कुनामा पुग्यो । त्यहाँबाट कार ट्र्याकको सीधै हेनरीको होटलमा पुग्यो । जर्ज भित्र थियो । काउन्टर पछाडि ।
‘ओले एन्डरसन भेट भयो ?’
‘अँ भेट भयो,’ निकले भन्यो, ‘ऊ कोठामै छ । कतै भाग्दैन रे । ’
निकको आवाज सुनेपछि कुकले भान्साको ढोका खोल्यो ।
‘मलाई यिनको कुरा सुन्नु पनि छैन,’ यति भन्दै उसले ढोका बन्द ग¥यो ।
‘उसलाई सबै कुरा भनिस् ?’ जर्जले सोध्यो ।
‘मैले भनेँ । तर उसलाई यसको सब कारण थाहा रहेछ । ’
‘अब के गर्छ अरे त ?’
‘केही गर्दैन अरे । ’
‘अब मार्छन् त्यसलाई । ’
‘मार्छन् होला नि !’
‘सिकागोमा केही लफडा परेको हुनुपर्छ । ’
‘मलाई पनि त्यस्तै लाग्छ,’ निकले भन्यो ।
‘कस्तो डरलाग्दो कुरो !’
‘हो त कस्तो भयानक !’ निकले भन्यो ।
त्यसपछि उनीहरू चुपचाप लागे । जर्जले निहुरिएर रुमाल उठायो र काउन्टर पुछपाछ पा¥यो ।
‘के चाहिँ गरेको होला त त्यस्तो !’ निकले भन्यो ।
‘कसैलाई धोका दियो होला । त्यस्तालाई छाड्दैनन् नि !’
‘म यो सहर छाडेर जान्छु अब,’ निकले भन्यो ।
‘हो र !’ जर्जले सोध्यो, ‘त्यही सही उपाय हो । ’
‘कोठामा आफ्नै हत्या कुरेर बसेको कसरी सम्झनु ? हैट, कस्तो भयानक कुरो !’
‘ठीक छ,’ जर्जले भन्यो, ‘नसम्झिऊँ न त !’

अङ्ग्रेजीबाट अनुवाद : विकास बस्नेत

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?