logo
२०७८ कार्तिक ४ बिहीवार



कथा: प्रश्न

कला |


कथा: प्रश्न



शिव प्रकाश

नसोचेको कुरा भएको होइन । मैले र विरेचनाले सोच्न नसकेको मात्र हो ।
त्यो दिन उसले एउटा प्रश्न सोध्यो । ऊ छ वर्षको मात्र थियो । प्रश्न सामान्य थियो तर मेरा लागि जटिल ! प्रश्न सबैले बुझ्ने थियो तर मेरा लागि कठिन ! प्रश्नको उत्तर जोकोहीले दिन सक्थ्यो तर मैले सकिनँ !
मेरा लागि म आफै प्रश्न बनेको थिएँ, के उत्तर दिऊँ ? ऊ मेरो छोरो हो, नभए कुरा बेग्लै हुन्थ्यो, सायद ! उत्तर जे पनि दिन सक्थेँ ।
त्यो दिन, शनिबार थियो ! हिजो शुक्रबारदेखि नै केही दिनका लागि स्कुल छुट्टी भइसकेको छ । स्कुल छुट्टी हुनु केटाकेटीका लागि दसैँतिहार आउनुभन्दा बढी भएको छ । बिन्दास छ ऊ पनि ।
बिहानको ७ बजेको छ । उर्लंदो छ, उदाउँदो घामको जवानी । सडक–गल्लीमा मान्छेको आउ–जाउ बाक्लिँदै छ । अमानवीयताको सिकार भएको कुरूप भासमाण्डुको एउटा स्थायी निर्गमस्थानको धुलेबार्दलीमा बसेको छु । शनिबारका पत्रपत्रिकामा आँखा डुलाउँदैछु ।
विरोचनाको कृपा आज पनि उही छ– ‘डायट चिया ! नो सुगर– नो मिल्क !’ सधैँको जस्तो, सादा– फिक्का ।
बाध्य छु, पिउँदै छु । उस्तै लाग्दैछ, चिया र
पत्रपत्रिकाको स्वाद !
पत्रपत्रिकामा दारुजस्तै स्वादिला र मादक सामग्री छन् तर सधैँको अलिनु चियाले स्वादविहीन बनाइसकेको छ, सबै चिजको स्वाद ।
हुन त सस्तो र नाङ्गो नै मानिसलाई मन पर्छ । सहर त झन् नग्नताको भेलमा डुबेको छ । नाङ्गा शरीरको व्यापार गर्न बाध्य छन्, अखबार पनि । मान्छे नाङ्गिएर वस्तु बनेका छन् । वस्तुु बनेर अखबारमा छापिएका छन् । अखबारमा छापिएर बजारमा बिकेका छन् । नारीको सम्मान कसले गर्ने ? आफ्नो सम्मान आफैँले गर्ने कि अरूसँग खोज्ने ? आफ्नो सम्मान आफैैले गर्न नसक्नेले अरूबाट के सम्मान खोज्ने ? आइमाईलाई आइमाई भन्दा किन रिसाउने ? अखबार हेर्छु, आँखाले अक्षर होइन प्रश्नैप्रश्न मात्र देख्छन् । मेरा आँखा खराब हुन् कि समाजमा प्रश्न धेरै उम्रिएका हुन् ? आफैलाई प्रश्न गर्छु । जमाना छक्कापञ्जाको छ । तर पत्रपत्रिकामा छापिएका हट सुन्दरीलाई पनि म डायट सुन्दरी देख्न थालेको छु । फिका चियाजस्तै पूरै फिक्का । पूरै आकर्षणहीन ।
बुझेको छु तै पनि सधैँ अनुरोध गर्छु, ‘आदरणीय श्रीमतीजी, कहिलेकाहीँ रेगुलर चिया पनि पाऊँ न । अरू बेला नभए पनि कसमेकम शनिबार र चाडपर्वमा । ’
‘श्रीमान्जी, यहाँकी श्रीमतीले जति यहाँको हित अरू कसले चिताउँछ ? यहाँका लागि जे ठीक छ त्यही दिने गरेकी छु । ज्ञानीमान्छे बन्नु, जे पाइयो त्यसैमा सन्तोष गर्नु । ’ मीठो लवजमा उही उपदेश सधैँ दिनुहुन्छ, उहाँ ।
अभ्यस्त भइसकेको छु । सधैँझैँ अस्ताउँदाको घामजस्तो अनुहार लिएर सुन्छु, चिया पिउँछु । बहस गरे उहाँको अनुहारमा बाह्र बजेको घाम उदाउँछ । रौद्र रूपको सामना गर्न सक्दिनँ । चुप हुन्छु ।
कारण अर्को पनि छ । फिक्का चिया सस्तो पर्छ । मध्यम वर्गीयका लागि ठूलो राहत पनि हो । यो गुह्यज्ञान उहाँ श्रीमतीजीलाई छ ।
छोरो भर्खरै ओछ्यानबाट उठेको छ । बाथरुम नछिरी बार्दलीमा आउँछ । छेउमा उभिन्छ । आँखा मिच्दै हाई काढ्छ ।
‘बाबा, एउटा कुरा सोधुम् ?’
‘सोध तर पहिले बाथरुम जाऊ । हातमुख धोएर आऊ, हुन्न ?’ अहिलेसम्म ऊ आज्ञाकारी छ । हस् भन्छ, बाथरुम जान्छ ।
आफ्नो चिया लिएर विरोचना बार्दलीमा आउँछिन् । छेउको कुर्सीमा बस्छिन् । चास्नीमा झिँगा गाडिए जस्तो उनको चियामा मेरा आँखा गाडिन्छन् । आज पनि उनको र मेरो चिया फरक छ ।
चिया देखेर जिब्रो रसाउँछ । खडेरीले खाएजस्ता मेरा ओठमाथि रसिलो जिब्रोले दुई चार चक्कर लगाउँछ, चित्त बुझाउँछ । उदाउँदो घामको सुकुमार उज्यालोमा पनि निम्छरो साँझ जस्तो हुन्छ, मेरो अनुहार । किलकिलेले एक घुट्को थुक घुटुक्क पार्छ । सकिन्छ ।
मेरो बिरसिलो अनुहारप्रति सधैँझैँ आज पनि
दयाहीन हुन्छन् विरेचनाका आँखा । छिमेकीको स्वभाव जस्तै उनका आँखाको आयतन बढेको उनैलाई थाहा हँुदैन । छिमेकीले जस्तै मेरो मलिन अनुहारमाथि ती आँखाले पटक पटक घातक अतिक्रमण गर्छन् । गाउँको छिमेकी सम्झन्छु, देशको छिमेकी सम्झन्छु, सहन्छु । सहनु नै मेरो नियति हो । दुर्गतिको भागेदार किन बन्नु ?
प्याराडक्स पावर छ, उनका आँखामा । एकै पटक आगो र पानी दुवै उर्लन्छ ।
तर्क बलियो छ विरेचनासँग, ‘मलाई त केही भएको छैन नि । चियामा चिनी पनि दुई चम्चा मात्र हालेकी छु । दूध पनि पानीभन्दा बढी छैन । ’
सुरु हुन्छ चिया मिमांसा । पुनर्दीक्षित हुन्छु, चियाको भौतिक दर्शनशास्त्रको महाज्ञान फेरि पाउँछु ।
ठीक–बेठीक छुट्याउनुको अर्थ छैन, व्यर्थ किन हुनु ? चित्त नबुझे पनि बिरलाकोटीको मेरो टाउकाले ठीक–बेठीक दुवै स्वीकार्छ । बानी परिसकेको अद्भुत त्यो टाउको तलमाथि पनि गर्छ । दायाँबायाँ पनि हुन्छ ।
उज्यालो मुख लिएर छोरो पनि आइपुग्छ ।
‘बाबा ! अघिको कुरा सोधुम् ?’ आँखा तेजिला छन् । अनुहार झन् तेजिलो छ । धरतीमा एउटा घाम उदाएको छ । तर लाग्छ, उसका मनमा उत्सुकताका हजारौँ घाम उदाएका छन् । स्कुल छुट्टी भएदेखि खुसीका घाम त अनुहारमा चौबीसै घन्टा छँदै छ ।
‘कुरा के हो ?’ उस्तै, सधैँजस्तै विरोचनाको हार्दिक हस्तक्षेप हुन्छ । म पनि उस्तै, सधैँजस्तै फिस्स हाँस्छु । छोरातिर इसारा गर्छु ।
‘.... . .... ... .. ... ?’ छोरो हातले इसारा गर्छ । अन्तिमको प्रश्नवाचक चिन्हको इसारा बाहेक केही बुझ्दिनँ ।
विरोचना पनि त्यही भन्छिन्, ‘अन्तिमको मात्र बुझँे !’
‘साँच्चै बुझ्नु भएन ?’
‘साँच्चै बुझिनँ । ’
विरोचनाको टाउकाले पनि त्यही सङ्केत गर्छ ।
‘सोच्नु न हिजो–अस्ति म तपाईंहरूसँग क–कसको घर ग’को थिएँ ?’
हामी हिजो–अस्ति सम्झन थाल्छाँैँ । सम्झियौँ तर उसको प्रश्न कसरी बुझ्नु ? ऊ फेरि उही इसारा गर्छ । हामी दुवैको टाउको दायाँबायाँ हुन्छ ।
‘बाबा–ममीले त सबै कुरा बुझ्नुपर्ने हो नि ! म पो सानो बच्चा !’
मानाँै उसका आमा–बाले संसारका सबै कुरा देखेका छन् । सबै कुरा बुझेका छन् । सबै कुरा जानेका छन् । उसको बाल मस्तिष्कले त्यही बुझ्छ, ‘मेरा आमा–बा जस्तो जान्ने–बुझ्ने कोही छैनन् । ईश्वरभन्दा बढी उनीहरूलाई थाहा हुन्छ । ’
सायद त्यसैले हरेक कुरा सबैभन्दा पहिला आफ्नै आमा–बालाई सोध्छन् । आफ्नै आमा–बालाई भन्छन् । आफ्नै आमा–बालाई सुनाऊन्, जबसम्म उनीहरू ढाँट्न जान्ने हुँदैनन् ।
छोरो फेरि उही इसारा गर्छ । हामी फेरि पनि बुझ्दैनौँ ।
ऊ मजाले हाँस्छ । यति पनि नबुझ्ने भन्दै हामीलाई खिस्याउँछ । अब उसले हामीलाई केही नजान्ने, केही नबुझ्ने संसारका सबैभन्दा मूर्ख मान्छे सम्झन्छ । आमा–बाले सबै जानेका हुन्छन् भन्ने भ्रमको पर्खाल ढल्छ ।
‘ल म कानमा भन्छु है त ?’ उसको मुख र मेरो कानमा जोडिन्छ ।
झट्ट सुन्दा प्रश्न सजिलो छ । सजिलो प्रश्नको धेरै सजिला उत्तर हुन्छन् । चलनचल्तीका उत्तर झन् धेरै छन् । ती सबै मसँग छन् तर तीमध्ये कुनै छान्न सक्दिनँ ।
विस्तारै ती सबै मस्तिष्कमा हुँडलिन थाल्छन् । तातेको हाँडीजस्तो हुनथाल्छ टाउको । के उत्तर दिऊँ ? निक्कै बेर सोच्छु । सोच्दा, सोच्दै सोच्नै नसक्ने हुन्छु ।
उत्सुक हुन्छन्, विरोचनाका आक्रमणकारी आँखा । घरी मेरो, घरी छोराको अनुहारमा दौडन्छन् । आँखाभन्दा झन् बदमास छन्, कान ।
छोराले उनका कानमा खुसखुस गर्छ ।
नाबालक छोराको एउटा प्रश्नले उनका आँखामा हजारौँ प्रश्न झुन्ड्याइदिन्छ । लट्टु घुमेजस्तो घुम्छन् गुलेलीका मट्याङ्ग्राजस्ता उनका आँखा । आँठा बाँधेको फगटो जस्तो हुन्छ, खलियान जस्तो विरोचनाको चिल्लो निधार !
छोराको प्रश्नसामु हामी ‘लाटपाका’ हुन्छौँ । दुवै एकतमासले उसको अनुहार हेर्न थाल्छौँ । ऊ झन्झन् हाम्रो खिसी उडाउन थाल्छ, ‘यस्तो नाथे कुरा पनि भन्न नसक्ने पनि बाबा–ममु !’ हा.. हा.. हा.. गर्छ हाँस्छ ।
हाँस्दाहाँस्दै छोरो रिसाउन थाल्छ, ‘यति नाथे नजान्ने पनि बाबा–ममु हुन्छ ?’
खल्तीबाट दस रुपियाँ निकालेर दिन्छु । फकाउन थाल्छु, ‘तिमीले सोधेको कुरा बेलुका भन्छु है, अहिले बिस्कुट किनेर खाऊ, खेल । ’
खुसीको मुन्टो हल्लाउँदै आगाडिको पसलतिर लाग्छ ।
छिनमा रिसाउनु र खुसी हुनु नै बालक हुनु हो, बुढाबुढीजस्तै । बालक र बुढाबुढीले दिने खुसी र आनन्द पनि यही हो । यस्तैयस्तै सोच्दै म उसको प्रश्नका बारेमा सोच्न थाल्छु, ‘हिजोको कुरा सम्झनु भनेर किन भन्यो ? प्रश्नमाथि साङ्केतिक पूरक प्रश्न किन थप्यो ?’
हिजो–अस्ति हामीले उसलाई जहाँजहाँ लग्यौँ, त्यहाँ पनि उसले अनेक प्रश्न गरेको थियो ।
अस्ति बेलुका हामी निर्मलको घरमा गएका थियौँ । उसको घर साह्रै सुन्दर छ । घर देख्नेबित्तिकै छोराले आहा कस्तो राम्रो भनेको थियो । भित्र कोठाहरू त्यस्तै सजाएका । ¥याकमा थरीथरीका सामान । भित्ताभरी ठूल्ठूला तस्बिर । ती पनि धेरै जसो मोडलहरूका । हेर्दाहेर्दै आँखाका ‘अथी’ दुख्ने । देखे पनि नदेखेजस्तो गर्नुपर्ने । हेरे पनि सनग्लास लगाएर हेर्नुपर्ने । ती सबै छोराले एक तमासले हेरेको थियो ।
बैठक कोठामा तीन चार सोकेस । सोकेसमा
खालखालका रक्सी । त्यतातिर पनि उसका आँखा निकै बेर अड्केका थिए । केका बोतल हुन् भनेर सोधेको पनि थियो ।
व्यापारी हो, मेरो पुरानो साथी निर्मल । मान्छे फुस्ल्याउन जति खप्पिस छ, चिप्ल्याउन त्योभन्दा चालु छ । धन्दामा सफल भएको छ । उसका लागि हाइफाई लाइफ स्टाइल नै जीवनको सौन्दर्य हो ।
साथी गजब छ । अनुहार र रूप रङ हेरेर
हाइफाई सङ्घसंस्थालाई कहिलेकाहीँ थोरबहुत चन्दादान गर्छ । दानवीरता देखाउँछ । तर वास्तवमा दान भनेर दाना दिन्छ ।
चन्दाको चमत्कार ! म्याडममैत्री निर्मल ! ‘पार्टटाइम प्रेम’मा व्यस्त रहन्छ । रोमान्सको सोखभन्दा भोकले बाध्य छ, ऊ । लागे लाग नलागे घरमा फुल टाइम छँदैछिन् ।
हिजो दिउँसो धर्मपालको घरमा गएका थियौँ । उसको घर देखेर झन् हेरेको हे¥यै भएको थियो, छोरो । छानामा गजुर । निर्मलको भन्दा पनि ठूलो घर । ठाउँठाउँमा थरीथरीका भगवान्का मूर्ति र फोटा । धेरैजसो लक्ष्मी र गणेशका । नामजस्तै छ घरको बाहिरी सजावट पनि ।
भित्र झन् भव्य सजावट । कोठै ढाक्नेगरी
ऊनका गलैँचा । झन् बढी सोकेस । सोकेसमा झन् बढी सरसामान । झन् बढी, झन् महँगा रक्सी !
धर्मपालको घरका निर्जीव वस्तुुसँग पनि छोराले आफ्नो जिउँदो मन साटेको थियो । तिनै सरसामानका वरिपरि बसिरहेको थियो, खेलिरहेको थियो । ‘कहाँबाट ल्याएको ? कति पैसा पर्छ ? हामी कहिले ल्याउने’ जस्ता प्रश्न बेलाबेलामा सोध्थ्यो ।
धर्मपाल पनि पुरानै साथी । कर्मचारी हो । तह सानै भए पनि सधैँ अन्डर द टेबुल काम गर्न साह्रै सिपालु । लाइनमा बसेर काम तामेल गर्न झन् खप्पिस । जागिर काम होइन कला हो भन्थ्यो । जे भन्थ्यो, त्यो देखाइसकेको थियो । जिउँदो प्रमाण उसको घर थियो ।
यसपालिको छुट्टी मनाउन घरगाम हरैँचातिर जाने हुनाले दुई दिनमा साथीभाइको निम्तो भ्याइसक्नुपर्ने थियो ।
हिजो साँझ हामी वाग्देवको घरमा गयौँ । छोराले वाग्देवको घरबाहिरै उभिएर एक टकले हेरेको थियो ।
भित्र पनि निक्कै बेर एकोहोरिएको थियो वरिपरिका भित्तामा धेरैबेर आँखा डुलाएको थियो । भित्ताभरि अनेक प्रमाणपत्र र सम्मानपत्र देखेर छक्क परेको थियो । यी के हुन् बाबा भनेर सोधेको पनि थियो । लेखक–कवि भएर ठूलो मान्छे भएपछि पाइने पुरस्कार हुन् यी छोरा भनेको थिएँ ।
वाग्देवको घरमा सोकेस थिएन । रक्सीका बोतल पनि थिएनन् । सोफा पनि थिएन । गलैैँचा पनि थिएन । ¥याक थियो तर सिसाबिनाको उदाङ्गो । थोत्रो । अर्को थियो, बाँसको झन् थोत्रो । हाम्रो मित्रता जस्तै । ती ¥याकमा रक्सी र मूर्ति थिएनन् । किताबका टेढामेढा थाक थिए । खाँदाखाँद गरेर प्रमाणपत्र राखिएका थिए । ती पनि उल्टासुल्टा । जे थिए, तिनै थिए सम्पत्ति । बन्झडुका लालपुर्जाजस्ता !
साँघुरो कोठामा काठका चारवटा कुर्सी थिए । छेउमा ऊ र श्रीमतीको ओछ्यान । सायद छोराले निर्मल र धर्मपालको घरभन्दा फरक देख्यो वाग्देवको घर । त्यसैले अनौठो मानेर हेरेको थियो ।
छोरो धेरैबेरपछि बोलेको थियो ‘आहा, वाग्देव अङ्कल त कति धेरै पढ्नु हुँदै रैछ ! कति धेरै किताप ! कति ठूलो मान्छे !
बल्ल छोरो रमाएको थियो । तर वाग्देवको घरबाट फर्किंदा छोराले अर्को प्रश्न सोधेको थियो ‘वाग्देव अङ्कलको घर किन त्यति सानो ?’
के सोचेर यस्तो प्रश्न ग¥यो अनुमान गर्न सकेको थिइनँ । अङ्कलले पछि ठूलो घर बनाउनुहुन्छ भनेको थिएँ । के बुझ्यो ? कति बुझ्यो ? तर बुझे जस्तो गरी टाउको हल्लाएको थियो ।
वाग्देवको घर सानु र साँघुरो मात्र थिएन, कालकोठरीजस्तो अँध्यारो पनि थियो । गल्लीको एउटा सानो घरमा दुई कोठा भाडामा लिएर बसेको थियो ऊ ।
उसको कोठाको थोत्रो ¥याकजस्तै ‘थोत्रो साथी’ हो, ऊ मेरो । ऊ असल कवि हो । एक इमानदार मान्छे पनि हो । उसका दुई जीवनसाथी छन्– अभाव र कल्याणी ! अभावसँग बाँच्छ, पीडामा पनि हाँस्छ । कल्याणीसँग सुत्छ, शरीरसुख प्राप्त गर्छ । खुसी हुन्छ ।
बेलुकी घर आइपुगेपछि मलाई पनि छोराले उस्तै प्रश्न गरेको थियो, ‘बाबा, हामी कहिले ठूलो घर बनाउने, निर्मल र धर्मपाल अङ्कलको जस्तो ?’
म एक आम मान्छे कहाँबाट बनाऊँ त्यस्तो घर ? उसको प्रश्नको पासोमा आफू र श्रीमतीलाई झुन्ड्याएँ तर उसलाई निराश पारिनँ ।
‘भोलिपर्सि बनाउने छोरा’, आश देखाएँ ।
हामीले यी सबै सम्झियौँ तर पनि छोराको प्रश्नको उत्तर फेला पारेनौँ । छोराले यस्तो प्रश्न कसरी सोध्यो ?
‘सायद उसले सपनामा केही देखेको हुनुपर्छ !’
‘तर छ वर्षे बालकले सपना देखे पनि सम्झन सक्दैन । ’ विरेचनाले साइकोलोजी लगाइन् । मैले मुन्टो हल्लाएँ ।
‘ए... हो !’ विरेचना एकछिन् रोकिइन् । ‘अँ ऽऽऽ’ भन्दै मुख खोलिन्, ‘हिजो बेलुकी निद्रामा के के बोल्दै थियो ? हाँस्दै पनि थियो । वाग्देव, निर्मल, धर्मपाल अङ्कल.. घर... मूर्ति.. केके केके !’
‘नाङ्गा आँखामा नाचेका जिउँदा बिम्ब र बन्द आँखामा बसेका सपनाका अमूर्त छायाको फ्युजन हो त, छोराको प्रश्न ?’ आफैलाई प्रश्न गरेँ ।
शून्य हुन्छ भन्छन् आकाश । शून्य आकाशतिर हेरेँ, शून्य मात्र देखेनन् मेरा आँखाले । ‘शून्यमा शून्यसरी’ बिलाएका शून्य हुलहरू देखेँ । ‘शून्यमा शून्यसरी’ फुलेका शून्य फूलहरू देखेँ । शून्यको त्यो हूलमा आफूलाई देखेँ । शून्यका ती फूलमा आफू फुलेको देखेँ ।
‘वाह ! शून्यले भरिएको मेरो जीवन !’ खुसी भएँ ।
आकाशतिर उडेका आँखालाई धरतीमा झारेँ । टेबुलमाथि राखेको छोराको तस्बिरमा रोकेँ । तस्बिर अगाडि छोराको उही प्रश्न अझै देख्छु । हेर्दाहेर्दा अब अपसाइड डाउन मुद्रामा भीमकाय भएर उभिएको देख्न थालेको छु । त्यसको अङ्कुसमा म र विरेचना मूर्त मुद्रामा झुन्डिएको पनि देख्न थालेको छु ।
उसको प्रश्नको दायाँतिर रावणको सुनको लङ्का छ । त्यो लङ्कामा निर्मल र धर्मपालका सुनौला घरहरू छन् । सुखसुविधा र विलासिताहरू छन् ।
देब्रतिर रामको बनवास । त्यो वनवासमा वाग्देका डेराहरू छ । दुःख र अभावका कुटीहरू छन् ।
मास्तिर निर्मल र धर्मपालहरू छिरेको सुखको द्वार छ । तल्तिर वाग्देवहरूको दुःखको दैलो छ । सधैँ खुला छ चौक सबिनाको नियतिको त्यो दैलो । अगाडि स्वर्णमूर्ति छ, पछाडि मानवताको ढुङ्गे सालिक छ ।
‘बाबा म ठूलो भएपछि को जस्तो बनुम्, निर्मल र धर्मपाल अङ्कलजस्तो धनी मान्छे कि वाग्देव अङ्कलजस्तो असल मान्छे ?’ चारै प्रहर छोरोको प्रश्न वरिपरि घुमिरहेको छ । छोरो हुर्किंदै छ । मैले उत्तर फेला पारेको छैन ।
‘छोराले फेरि यही प्रश्न सोध्यो भने...?’ अहिलेसम्म म आफै प्रश्न बनेको छु ।
सायद त्यतिबेला होसमा उसको प्रश्नको उत्तर दिन सक्दिनँ । म बेहोस हुन बाध्य हुने छु ।
समयको क्रूरता !’ दुई गिलास निट पिउँछु । बेहोस हुन्छु । उसको यो गडड्याम प्रश्नको उत्तर दिन्छु ।
भन्छु, ‘तँ ‘तँ ऽऽऽ....... जस्तो हुनु !’

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?