logo
२०८० चैत्र १६ शुक्रवार



प्रगतिशील लेखन र सामाजिक रुपान्तरणमा जोड

कला |


प्रगतिशील लेखन र सामाजिक रुपान्तरणमा जोड


काठमाडौँ,  भदौ १६ गते । सामाजिक रुपान्तरणका लागि प्रगतिशील संस्कृतिकर्मी आफैँ उदारहणीय बन्नुपर्नेमा जोड दिइएको छ । सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि साहित्य र सिर्जनाको भूमिका महत्वपूर्ण हुने भएकाले लोकतान्त्रिक गणतन्त्रअनुकूल संस्कृति निर्माणमा लाग्नुपर्ने र राजनीतिक क्षेत्र त्यसका लागि सहयोगी हुनुपर्नेमा जोड दिइएको हो ।

नेपाल प्रज्ञा –प्रतिष्ठान र प्रगतिशील लेखक सङ्घ नेपालले आयोजना गरेको ‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयको अन्तरक्रियामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाजलाई राजनीतिले नै नेतृत्व गर्ने भए पनि त्यसलाई ठीक ढङ्गले संस्कृतिले नै नेतृत्व गर्न सक्नेछ भन्दै नेपाली राजनीतिमा सामन्तवादको अवशेषलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताका आधारभूत समस्याको समाधान भएको छैन । सांस्कृतिक अगुवा आफैँले उदाहरण बनेर रूपान्तरणका पक्षमा लाग्नुपर्छ । सांस्कृतिक रूपान्तरण न त आदेश दिएर हुन्छ, न त कानून बनाइदिएका भरमा हुन्छ, यो त जनताको अन्तस्करणको चेतना जगाएर मात्र हुन सक्छ, त्यसैले यस दिशामा स्रष्टाको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य मणि थापाले लेखक केवल लेखक मात्र नभएर सामाजिक व्यक्ति पनि हुने भएकाले माक्र्सवादी विचारधाराका आधारमा समाजलाई रुपान्तरण गराउनुर्ने बताउनुभयो ।

समालोचक पशुपतिनाथ तिमिल्सिनाले छलफलपत्र प्रस्तुत गर्दै कम्युनिष्ट पार्टीका नेता पैसाको पछि दौडिएकाले अपेक्षाकृत रूपान्तरण हुन नसकेको गुनासो गर्नुभयो । स्रष्टाले समाजका माग र आवश्यकता बुझेर लेख्नु प्रमुख दायित्व हुने टिप्पणी उहाँले गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले आफूहरू रूपान्तरणका पक्षपातीसँग सहकार्य गर्दै कुनै पनि विचारलाई निषेध नगरी वैज्ञानिक र सारभूत कुरामा प्राथमिकता दिने बताउनुभयो । सङ्घका अध्यक्ष जीवेन्द्रदेव गिरीले प्रगतिशील लेखकहरूले रुपान्तरणका लागि सरकारलाई घच्घच्याउनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?