logo
२०७७ जेष्ठ १६ शुक्रवार
बजेट सन्तुलित र समयसापेक्ष
जेष्ठ १६, २०७७ शुक्रबार - नारायण काफ्ले

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा राजनीतिक दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तारुढ दलका नेताहरूले बजेट सन्तुलित र समयसापेक्ष भएको बताउँदा प्रतिपक्षले परम्परागत भएको बताएका छन् । बजेटपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो । प्रचण्डले जनतालाई राहत दिने हिसाबले बजेट आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विषम परिस्थितिमा पनि सन्तुलित र जनतालाई राहत दिने किसिमले, जनपक्षीय र समाजवाद उन्मुख बजेट आयो । निम्न वर्गका जनतालाई सम्बोधन गरेको छ । राहत दिने प्रयास पनि बजेटले गरेको छ ।’’

हदम्याद बन्दाबन्दी खुलेको ३० दिनसम्म
जेष्ठ १६, २०७७ शुक्रबार - नारायण काफ्ले

सर्वोच्च अदालतले लकडाउनको अवधिमा म्याद, हदम्याद तथा तारेख गुज्रने मुद्दालाई उक्त अवधि सकिएको ३० दिनसम्म समय कायम हुने फैसला गरेको छ । २०७६ चैत ९ गतेदेखि अदालतले नियमित कार्यसम्पादन नगरेको अवस्थालाई शून्य अवधिमा कायम गर्ने फैसला अदालतले गरेको हो । म्याद र हदम्यादको कानुनी अड्चन फुकाउन गठन भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको १९ सदस्यीय बृहद् पूर्ण इजलसाले लकडाउनलाई ‘शून्य अवधि’ कायम गर्ने फैसला गरेको हो । यो फैसला रिट निवेदन, देवानी तथा फौजदारी मुद्दामा कार्यान्वयन हुनेछ । यस्तै, अदालतसहित न्यायिक तथा अर्धन्यायिक निकायबाट हेरिने मुद्दामा पनि कायम हुने फैसलामा उल्लेख छ ।

स्वास्थ्यमा २२ अर्ब बजेट थप
जेष्ठ १६, २०७७ शुक्रबार - सरोज ढुङ्गेल

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गत वर्षभन्दा स्वास्थ्य क्षेत्रमा यस वर्ष २२ अर्ब रुपियाँ बजेट थप गरिएको छ । कोरोना भाइरस महामारीसँग जुध्न सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा स्वास्थ्य क्षेत्रमा रु. ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गर्नुभएको हो । गत वर्ष रु. ६७ अर्ब ७८ करोड बजेट स्वास्थ्य क्षेत्रमा छुट्याइएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले गत वर्षभन्दा स्वास्थ्य क्षेत्रमा रु. २२ अर्ब बढी बजेट थप गर्नुभएको हो ।

प्रम रोजगार कार्यक्रममा दोब्बर बजेट
जेष्ठ १६, २०७७ शुक्रबार - सीता शर्मा

सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटको तुलनामा दोब्बरभन्दा बढी बनाउँदै ११ अर्ब ६० करोड रकम विनियोजन गरेको जानकारी दिनुभएको हो । सो कार्यक्रमलाई सङ्घ, प्रदेश र स्थानीय तहमा विस्तार गरी श्रममूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । उक्त कार्यक्रममा यस वर्ष थप दुई लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा पाँच अर्ब एक करोड विनियोजन गरिएको थियो ।

निजी क्षेत्रका सुझाव सम्बोधन
जेष्ठ १६, २०७७ शुक्रबार - गोपालचन्द्र सुवेदी

कोरोना प्रभावबाट अर्थतन्त्रका विभिन्न अवयवलाई पुनरुत्थान गर्ने र विकासको गतिलाई निरन्तरता दिने लक्ष्यमा केन्द्रित गर्दै ल्याइएको आर्थिक वर्ष २०७७÷०७८को बजेटले प्रत्यक्ष प्रभावितलाई केही राहत दिने प्रयास गरेको छ । निजी क्षेत्रले स्टिमुलस प्याकेज अपेक्षा गर्दै बुझाएका कतिपय सुझावलाई पनि बजेटमा समेटेको देखिएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा असङ्गठित क्षेत्रका श्रमिकदेखि उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने गरी छुटका व्यवस्था राखिएको छ ।