logo
२०७७ श्रावण ३० शुक्रवार
‘साउदीमा कम्पनीहरू सुचारु भइसके, हामी काममा छौँ’
श्रावण ३०, २०७७ शुक्रबार - गोरखापत्र अनलाइन

पाँच वर्षदेखि म साउदी अरबको दम्माम शहरमा रहँदैआएको छु । वैदेशिक रोजगारीको सिलसिलामा विगत आठ वर्षमा यूएई, सिङ्गापुर, बहराइन, मोरक्कोलगायत देशमा गएको छु । अहिले साउदी अरबमा एक प्रतिष्ठित ट्रेडिङ कम्पनीमा सेल्स कोअर्डिनेटरको रुपमा काम गर्छु । विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव साउदी अरबमा पनि परेको छ । यहाँको सरकारले कोरोना सङ्क्रमण थप फैलन नदिन कडा सतर्कता अपनाएको छ । यद्यपि साउदीमा एक महिनादेखि लकडाउन भने खुला भएको छ । लकडाउन खुलेसँगै यहाँको जनजीवन सामान्य अवस्थामा फर्किएको छ । सडकमा गाडी पहिलेकै अवस्थामा चलेका छन् ।

कर्णालीमा रात्रि प्रवेशमा रोक, पीसीआर रिपोर्ट अनिवार्य
श्रावण ३०, २०७७ शुक्रबार - रासस

कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बिहीबार मृत्यु भएका बाराका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि
श्रावण ३०, २०७७ शुक्रबार - गोरखापत्र अनलाइन

वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बारा जिल्लाका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान बाराको प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनी टोलका ६५ वर्षीय एक पुरुष र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ सिमराका ५० वर्षीय पुरुषको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबार बिहान मृत्यु भएका दुवैको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा बिहीबार राति कोरोना सङ्क्रमण पोजिटिभ रिपाेर्ट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । बुधबार अस्पताल भर्ना भएर बिहीबार बिहान साढे ८ बजे मृत्यु भएका ६५ वर्षीयमा चार/पाँच दिनदेखि ज्वरो र खोकीको समस्याले ग्रसित भई श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो । ज्वरो र खोकी लागेर सिकिस्त भएका ५० वर्षीय अर्का व्यक्तिलाई बुधबार दिउँसो उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरियो र स्वास्थ्यमा सुधार नदेखिएपछि बुधबार साँझ नारायणी अस्पतालमा ल्याइएको थियो ।

सातै प्रदेशमा युवा नवप्रवर्द्धन केन्द्र स्थापना हुँदै
श्रावण ३०, २०७७ शुक्रबार - रासस

स्वदेशमा रोजगारी नपाएर युवा विदेशिनु परिरहेको स्थितिमा युवाको समग्र क्षमता अभिवृद्धिका लागि सातै प्रदेशमा नवप्रद्र्धन केन्द्र स्थापना शुरु भएको छ । कोभिड– १९ का कारण श्रमका लागि विदेश गएका युवाहरु स्वदेश फर्कन थालेका बेला सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा राष्ट्रिय युवा परिषद्बाट उक्त कार्य अघि बढेको हो । परिषद्ले हाल बागमती प्रदेशका लागि काभ्रेस्थित काठमाडौँ विश्वविद्यालय र नमोबुद्ध नगरपालिकाको सहकार्यमा काभ्रेमा र प्रदेश नं. १ का लागि प्रदेशको सामाजिक विकास मन्त्रालय, मोरङस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको सहकार्यमा केन्द्र स्थापनाका लागि जग्गा प्राप्ति र अन्य काम अघि बढाएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले अन्य प्रदेशमा केन्द्र स्थापनाका लागि पनि पहल भइरहेको जनाउनुभयो ।

मास्कका सारथि वीर, जसले बाडेँ २७ हजार मास्क
श्रावण ३०, २०७७ शुक्रबार - गोरखापत्र अनलाइन

जेठ दोस्रो सातादेखि उहाँको दैनिकी फेरिएको छ । जब कोभिड १९को सङ्क्रमण देशभर फैलन थाल्यो अनि ३३ वर्षीय युवा वीरबहादुर खत्री बजार क्षेत्रमा, सडकमा मास्क बाँड्न थाल्नुभयो । बुवा आमाको आशिर्वाद लिएर मास्क बाँँड्न हिँडेका वीर अझै थाक्नुभएको छैन । जिल्लाको पूर्वी बजार भालुवाङदेखि पश्चिमी क्षेत्रमा रहेको अर्को बजार हापुरेसम्म पुगेर त्यहाँका बटुवा, किसान, गृहिणी समाजका सबै तह तप्काका व्यक्तिहरूलाई मास्क बाँड्नुभएको छ । हालसम्म सर्जिकल र के एन ९५ सत्ताइस हजार मास्क बाँड्नुभएको छ । वीर भन्नुहुन्छ ‘ सुरु सुरुमा घर परिवारको सहयोगमा मास्क बाँडियो अहिले साथीभाइ, अग्रजहरूले समेत सहयोग गर्नुभएको छ ।’  सबैभन्दा बढी गुनासो उहाँको समाजमा पढे लेखेका जाने बुझेका तप्कामा रहेका व्यक्तिहरूसँग छ । वीर भन्नुहुन्छ, ‘नाम नभनौँ केही स्वास्थ्यकर्मीहरू जो संवेदनशील क्षेत्रमा काम गर्नुहुन्छ, उहाँहरू नै मास्क नलगाएर हिँड्नुहुन्छ, मास्क लगाउनुस् भन्दा तपाईंले सिकाउनुपर्दैन भन्नुहुन्छ’ उहाँको अभियानमा सबैभन्दा बढी माया आर्थिकरुपले कमजोर रहेका वर्गबाट पाउनुभएको छ ।