प्रदेश |

ताप्लेजुङमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङमा आइतबार एकैदिन दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दुईजना वृद्धाको मृत्यु भएको हो ।
फुङ्लिङ नगरपालिका–४ बालमन्दिर टोलकी ६९ वर्षीया वृद्धाको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो भने सिरिजङ्घा गाउँपालिका–४ तेल्लोककी ८० वर्षीया वृद्धाको बिहान करिब ११ बजेतिर मृत्यु भएको हो । आफन्तका अनुसार फुङ्लिङ नगरपालिकाकी वृद्धामा शंकास्पद लक्षण देखिएपछि शनिबार मात्र जिल्ला अस्पताल ताप्लेजुङमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि वृद्धालाई थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । यस्तै तेल्लोककी वृद्धामा पनि केही दिनयता स्वास्थ्यमा समस्या देखा परेको र आइतबार बिहान मात्र प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा एन्टिजेन परीक्षण गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको केही घन्टा नबित्दै बिहान करिब ११ बजे वृद्धाको मृत्यु भएको हो ।
यता कोरोना सङ्क्रमणका कारण मृत्यु भएका दुवैजना वृद्धाको दाहसंस्कार आफन्तले नै गरेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिकामा जिल्ला प्रशासन कार्यालयबाटै र तेल्लोकमा सम्बन्धित गाउँपालिकाको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अन्त्येष्टि गर्नेगरी स्वास्थ्य सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराइएको प्रजिअ पाण्डेले बताउनुभयो । यससँगै जिल्लामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको बताइएको छ ।