खुला |

कमला नदीको नवनिर्मित पुल भासियो


धर्बेन्द्र झा
जनकपुरधाम, असार १७ गते । धनुषा र सिरहा जिल्लाको बीच सिमानामा रहेको कमला नदीमा बाढी आएपछि संचालनका लागि तयारी अवस्थामा रहेको कमला नदीको नवनिर्मित पुल भासिएको छ । बिहीबार नदीमा बाढी आएपछि पानीको सतह बढेको बेला पुल निमार्णको काम सम्पन्न भई संचालनको तयारी भइरहेको समयमा पुल भासिएपछि पुनः सो क्षेत्रका बासिन्दालाई समस्या भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनुभयो । नदीमा बाढी आएको समयमा आज विहान पूर्वबाट पश्चिमको दोस्रो स्पान (पिलर) भासिएको उहाँले बताउनुभयो । लम्बाइ ४७० मिटर र चौडाइ औसतमा ९ मिटर रहेको सो नवनिर्मित पुलमा १३ वटा स्पान रहेको छ ।
जसमध्ये एउटा स्पानसहित एक फिट भासिएको उहाँले बताउनुभयो । उहाँले भनुभयो – ‘पुलको स्पान भासिनुको दुइटा कारण हुनसक्छ । पहिलो डिजाइन नै गलत भएको होला, दोस्रो डिजाइन अनुसार काम नै नभएको हुन सक्छ । यस विषयमा स्थलगत निरीक्षण गरी छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आजै प्रतिवेदन पनि बुझाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरको थियो । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि सो कामबाट हात झिकेको थियो । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको थियो । भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको स्थानीयको भनाइ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी कणेलका अनुसार लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको छ । पुलको निमार्ण ४२ महिनामा हुनुपर्ने थियो । तर झण्डै १० वर्षपछि पुलको निर्माण पुरा भएपछि नदीमा बाढी आएको बेला पुल भासिएको हो । पुल निर्माण भएमा धनुषा र सिरहाका स्थानीयलाई आवतजावत गर्न सहज हुने स्थानीयमा विश्वास जागेको बेला पुलको स्पान भासिएपछि स्थानीय बासिन्दामा पुनः निरासा छाएको छ । हुलाकी सडक अन्र्तगत पर्ने सो पुल निमार्णको काम हेर्ने जिम्मा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर, धनुषाको रहेको छ । भ्याटसहित २४ करोड ६२ लाख रुपियाँको लागतमा निर्माण भएको सो पुल के कारणले भासिएको हो भन्ने विषयमा छानविन हुने भन्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर, धनुषाका प्रमुख कृष्णकुमार महतोले भासिएको ठाँउमा पुनः निमार्णको काम अगाडि बढ्ने बताउनुभयो ।