logo
२०८० चैत्र १६ शुक्रवार



दुवै मैत्रीखेल जित्ने नेपालको दावी

फुटबल |
खेलकुद |


दुवै मैत्रीखेल जित्ने नेपालको दावी


काठमाडौँ, माघ १५ गते । अफ्रिकी देश मोरिससविरुद्ध पहिलो खेलमा नेपालले शनिबार (आज) दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । साँझ ४ः४५ बजे हुने खेलमा नेपालले स्पस्ट जितको अपेक्षा राखेको नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले बताउनुभएको छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक श्रेष्ठले मोरिसससँगको खेलका लागि नेपाली टोली सबै हिसावले तयार भएको बताउनुभयो । ‘पहिलो खेलका लागि हामीले सबै तयारी गरिसकेका छौँ । पुरानो गल्तीहरुलाई सुधार गरेर राम्रो प्रदर्शन गर्नेछौँ । नेपालले यस खेललाई एसियन कप छनोटको तयारीका रुपमा लिएकोको छ,’ प्रशिक्षक श्रेष्ठले भन्नुभयो । नेपालले आगामी जुनमा एसियन कप छनोटको तेस्रो चरणका छनोट खेल्दैछ । त्यसका लागि नेपाली प्रशिक्षकहरु युवा खेलाडीहरुलाई अहिले प्रयोग गर्ने रणनीतिमा छन् ।

यसैगरी कप्तान चेम्जोङले मोरिससविरुद्ध खेल अफ्रिकन राष्ट्रसँग पहिलो अनुभव हुने बताउनुभयो । ‘हामी मोरिसससँगको खेल इतिहासमै अफ्रिकन राष्ट्रविरुद्ध पहिलो पटक खेल्दैछौँ । मैले हाम्रो टिमका सबै खेलाडी मेन्टल्ली र फिजिकल्ली फिट देखेको छु । मैत्रीपूर्ण खेल हो भन्दैमा जे पनि गर्न मिल्दैन । निश्चय नै हामीले जितको अपेक्षा गर्नुपर्छ । यो केही सिक्ने र अनुभव बटुल्ने अवसर हो । हामी जितकै लागि खेल्नेछौँ,’ चेम्जोङले भन्नुभयो ।

यस्तै मोरिससका प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताउनुभयो । ‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । नेपाल बलियो टोली हो । नेपालसँग खेल्न हामीले ४५ दिन मात्र तयारी गरेका छौँ । तरपनि नेपाल विरुद्ध खेल्न त्यति सहज छैन,’ फ्रानइसले भन्नुभयो ।

फिफा वरीयतामा नेपाल बलियो

मोरिससविरुद्ध दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा दुई फरक टोली घोषणा गरिसक्नुभएको छ । नयाँ खेलाडीलाई पनि अन्तर्राष्ट्रिय खेलको अनुभव दिने उद्येश्यले अल्मुताइरीले दुई टोली बनाएको बताउनुभएको छ । फिफा वरीयतामा मोरिसस नेपालभन्दा पछाडि छ । नेपाल वरीयतामा एक सय ६९औँ र मोरिसस एक सय ७२औँ स्थानमा छ ।

अखिल नेपाल फुटलब संघ (एन्फा) ले नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालामा दर्शकलाई समेत प्रवेश दिने भएकोछ । एन्फाले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै कूल दर्शक क्षमताको एक तिहाइ दर्शकलाई मात्र प्रवेशको अनुमति दिन लागेको हो । एन्फाले दर्शकका लागि साधारण प्यारापिटको पाँच सय र भिआईपी प्यारापिटको शुल्क एक हजार रुपियाँ कायम गरेको छ । मोरिसससँगको दोस्रो खेल मंगलबार हुनेछ ।

पहिलो खेलका लागि नेपाली टोली :

किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु र जगजित श्रेष्ठ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?