logo
२०८० चैत्र १५ बिहीवार



तनहुँ कारागारमा महिला बन्दीगृह निर्माण

खुला |
प्रदेश |


तनहुँ कारागारमा महिला बन्दीगृह निर्माण


अमरराज नहर्की
तनहुँ, माघ १४ गते । तनहुँ कारागारमा महिला बन्दीगृह निर्माण कार्य पूरा भएको छ । महिला बन्दीगृह बनेपछि महिला कैदीबन्दीलाई पोखरा पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले अनुगमन गरी निर्माण भएको बन्दीगृहमा महिलालाई राख्न उपयुक्त भएको ठहर गरी जिल्ला सुरक्षा समितिले महिला राख्न अनुमति माग्न कारागार विभागलाई पत्राचार गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

एक महिनाभित्रै सञ्चालन ल्याउनेगरी प्रक्रिया अघिबढेको छ । तनहुँ कारागारमा भित्र महिला बन्दीगृह सञ्चालनमा आएपछि बाहिर पठाउनु पर्ने बाध्यता हट्ने उहाँले जानकारी दिनुभयो । यसअघि नै महिला बन्दीगृह निर्माण गरिएको भएपनि पुरुष कैदीबन्दी धेरै हुँदा पुरुषलाई राखिएपछि पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह निर्माण गरिएको कारागारले जनाएको छ । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत २० लाख बजेटको काम भएपनि बजेट अपुगपछि चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले २० लाख बजेट विनियोजन भई निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

एन्जल कन्स्ट्रक्शनले महिला बन्दीगृह निर्माण गरेको कारागारले जनाएको छ । २० जना क्षमताको महिला बन्दीगृह निर्माणको म्याद पुस मसान्तसम्म रहकोे सो अवधिमा पुरा भएकाले फागुन १ गते अघि नै सञ्चालनमा ल्याउने लक्ष्य छ । महिला बन्दीगृह नहुँदा कैद सजाय भुक्तानका लागि पोखरा, वेशीसहर लगायतका स्थानमा पठाउनु पर्ने अदालतमा जानुपर्ने समयमा लैजान र लान समस्या परेकाले अब सहज हुने तनहुँ करागारले जनाएको छ । ‘कारागार सवारी साधन नहुँदा महिलालाई बन्दीगृहबाट अदालत लैजान तथा टाढा हुँदा आफन्त तथा परिवारजनलाई भेटघाटका लागि समस्या परेको थियो, अब सहज हुने भएको छ’ जेल सुवेदीले भन्नुभयो ।

कारागारका अनुसार वार्षिक रुपमा १५ जना महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनु पर्ने बाध्यता थियो । महिला बन्दीगृह निर्माण गरिएको भए पनि पुरुष कैदीबन्दी धेरै हुँदा त्यस ठाउँमा पुरुष राखिएको र हाल पुरानो कार्यालय भवन र सुरक्षा व्यारेकमा महिला बन्दीगृह निर्माण गरिएको हो । ११५ जना क्षमताको तनहुँ कारागारमा हाल ‘ए’ ब्लकमा १४५ जना ‘बि’ ब्लकमा ११२ गरी २५६ जना कैदीबन्दी रहेका कारागारले जनाएको छ ।

सङ्क्रमण बढेसँगै भेटघाट बन्द
यसैबीच जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै तनहुँ कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो । सङ्क्रमणबाट सुरक्षित हुन नयाँ कैदीबन्दी र कोरोना लक्षण देखिएका बिरामीलाई कारागारको पुरानो भवनमा अलग्गै राख्ने गरिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?