logo
२०८० चैत्र १६ शुक्रवार

  राज्यको आँखा नपरेको सम्बेदनशील पाटो  



जनताको सुरक्षामा खटिने प्रहरी नै असुरक्षित, छाप्रो र पालमा बस्न बाध्य

राष्ट्रिय |


जनताको सुरक्षामा खटिने प्रहरी नै असुरक्षित, छाप्रो र पालमा बस्न बाध्य


काठमाडौं, मघ ३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विदेशी पाहुनादेखि विशिष्ट व्यक्तिको ओहोरदोहोर हुने स्थान । विमानस्थल पुग्ने चक्रपथको छेउमै एउटा टिनको छाप्रो देख्न सकिन्छ । सडकमै जोडिएको टिनको छाप्रोमा २२ महिला र एक पुरुष गरेर २३ जना प्रहरी बस्छन् ।
कठ्याङ्ग्रिदो चिसोमा टिनको छतबाट शीत झर्छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको गेटमै रहेको यो छाप्रो एक प्रतिनिधि उदाहरण मात्र हो । चिसो, गर्मी वा झरी जुनसुकै बेला जनताको सेवामा खटिने प्रहरीका भवन कतै छप्राेमा त  कतै विद्यालय त कतै भाडाका घरमा छन् । कतिपय स्थानमा त पालकाे भरमा छन् । 

‘छाप्रो पनि सडकको जग्गामा छ । कति बेला हटाइदिन्छ त्यो पनि थाहा छैन’, एक ट्राफिक प्रहरी जवानले भन्नुभयो, ‘जागिर खाएको १०–११ वर्ष भयो, जता गए पनि यस्तै हो । अब त बानी परिसक्यो । दुई–तीन जना साथी कोठा लिएर बसेका छन् । अरु त सबै छाप्रोमै बस्छौँ ।’

सुरक्षाका निम्ति २४ घण्टा खट्ने प्रहरीको आफ्नो जमिन छैन । सरकारले उचित व्यवस्थापन गर्न नसक्दा केहीबाहेक उपत्यकासहित देशभरका प्रहरी कार्यालय सडक किनार, जङ्गल, नदी किनार जस्ता असुरक्षित र अव्यवस्थित ठाउँमा बनेका छन् ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय, नक्सालमा व्यवस्थित छ । तर वृत्त, प्रहरी परिसर, प्रभाग, चौकी अव्यवस्थित छन् । प्रहरी एउटा गैर–सैनिक सेवा हो । यो सामाजको लागि राज्यको तर्फबाट काम गर्छ । जसले समाजको पहरेदारको रुपमा काम गर्छ ।


किन हुन सक्दैन कार्यालयको व्यवस्थापन ?

प्रहरी कार्यालयको व्यवस्थापन चुनौतीपूर्ण रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीको भनाइ छ । गिरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तो ठाउँमा ट्राफिक प्रहरीको अवस्था अस्तव्यस्त भएको स्वीकार गर्नुहुन्छ ।
‘धेरैजसो प्रहरी कार्यलयहरु पालमुनी, बिटको रुपमा, अस्थायी चौकी, पुल, खोला, जङ्गलको छेउमा निर्माण हुनु आफैंमा दयानीय विषय हो’, गिरी भन्नुहुन्छ, ‘प्रहरी कार्यलय नै सुरक्षित स्थानमा नभएपछि त्यहाँ कार्यरत प्रहरी कर्मचारीले कति सुरक्षित तरिकाले काम गर्न सक्छन् भन्ने गम्भीर प्रश्न खडा हुनु स्वाभाविक हो ।’

आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्नका लागि नेपाल सरकार गृह मन्त्रालय मातहत रहेको प्रहरीले स्थानीयदेखि केन्द्रीय स्तरमा काम गर्छ तर व्यवस्थापन एकदमै फितलो रहेको उहाँको गुनासो छ ।

‘प्रहरी पनि त मानिस नै हो, न्यूनतम् आवश्यकता पूरा भएको स्थानबाट गरेको काम र अस्तव्यस्त ठाउँबाट गरेको काम फरक हुनसक्छ’, गिरी भन्नुहुन्छ, ‘काममा प्रभावकारिताका निम्ति व्यवस्थापन महत्वपूर्ण हुन्छ ।’

काठमाडौंमा सार्वजनिक जग्गा उपलब्ध नहुँदा अपराधिक घटनाको निगरानीका निम्ति अव्यवस्थित र अस्थायी प्रहरी कायाृलय स्थापना गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । अव्यवस्थित कार्यालयका कारण काम प्रभावकारी नहुँदा समयसमयमा प्रहरी संगठन नै बदनाम हुने गरेको उहाँको भनाइ छ ।

‘डिउटीमा बसेपछि जनताको सुरक्षाको विषयमा सम्झौता हुनसक्दैन । तर प्रहरी कार्यालय स्थापन गर्दा मन लाग्दी गर्नुहुँदैन’, गिरी थप्नुहुन्छ, ‘बिहान ५ बजेदेखि मध्यरातसम्म काम गर्नुपर्ने हुन्छ । प्रहरीका लागि स्राेत, साधनको उचित व्यवस्थापन अनिवार्य छ ।’

प्रहरी कार्यालयको व्यवस्थापनमा सरकार चुक्नुहुँदैन : मल्ल

पूर्वडीआइजी हेमन्त मल्ल प्रहरी कार्यालयको व्यवस्थापनमा सरकार चुक्नु नहुने बताउनुहुन्छ । समाजका आपराधिक घटना, जनतालाई सुरक्षाको प्रत्याभूति गराउने, राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षासँगै सहरी क्षेत्रमा चुनौतीपूर्ण बनेको ट्राफिक व्यवस्थापनमा प्रहरी खट्नुपर्ने बाध्यता छ । गम्भीर जिम्मेवारी बहन गर्ने सुरक्षा निकायको व्यवस्थापनलाई राज्यले कमजोर मान्नुहुँदैन । न्युनतम व्यवस्थापन भन्दा पनि प्रविधिको युग भएकाले प्रहरी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न कारणले प्रहरी युनिट नै असुरक्षित रहेको उहाँको भनाइ छ । ‘प्रहरी युनिटका वरपर ठूलो भवन बनाइ दिने, जनसंख्याअनुसार प्रहरी युनिटको विकास नहुनेजस्ता कारणले प्रहरीलाई काम गर्न समस्या भएको छ’, मल्ल भन्नुहुन्छ, ‘पुरानै संरचनाका कारण प्रहरी असुरक्षित हुने गरेको छ ।’ प्रहरी मातहतका कार्यालयको परिचान, निर्देशन, नियन्त्रण, सुपरीवेक्षण गरेर प्रभावकारी काम गर्ने वातावरण मिलाउनु सरकारको दायित्व रहेको उहाँले बताउनुभयो ।

 

प्रहरीको सङ्ख्याअनुसार स्रोत, साधनको पनि विकास गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
‘प्रहरी हिरासतमा धेरै थुनुवा मरेको खबर आउँछ, यो संरचनाको कारणले पनि हुनसक्छ’, मल्ल भन्नुहुन्छ, ‘यदि प्रहरीको कमीकमजोरीले त्यस्तो हुन्छ भने कारबाही गर्ने छुट्टै कुरा भयो । तर, थुनुवाको आत्महत्या भए त्यसको सुधार आवश्यक हुन्छ ।’ हामीले काम गर्दा भन्दा अहिले प्रहरी भवनको सुधार भएको देखिन्छ । तर, चित्तबुझ्दो नभएको उहाँले बताउनुभयो ।

‘हामीले काम गर्दा भन्दा अहिले प्रहरीका भवनमा अकाश जमिनको परक छ’, मल्ल भन्नुहुन्छ, ‘पहिलेका जिल्ला प्रहरी कार्यालय पनि राम्रो थिएन, अहिले त्योभन्दा राम्रो भवन गाउँको चौकीको हुन्छ, विकास भएको छ । तर, चित्त बुझ्दो अवस्था छैन ।’

उपत्यकामा ७५ वटा प्रहरी कार्यालय

काठमाडौं उपत्यकाका तीन जिल्लामा ७५ वटा प्रहरी कार्यालय छन् । काठमाडौं उपत्यकाको महानगरीय प्रहरी कार्यालय मातहत सात वटा कार्यालय छ । जसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठन महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, विशेष सुरक्षा गार्ड एयरपोर्ट र महानगरीय अपराध महाशाखा, टेकु छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका कार्यालयमा प्रहरी परिसर टेकु, महाराजगञ्ज, बौद्ध, गौशाला, नयाँबानेश्वर, कालीमाटी, कीर्तिपुर, थानकोट, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार, कमलपोखरी, स्वयम्भू वृत्त हुन् । बूढानीलकण्ठ, काेटेश्वर,  काँडाघारी, कपन, नागढुङ्गा, बलम्बु, गाेङ्गबु, साँखु, फर्पिङ्, बालुवाटार, मुड्खु, तिलिङ्गाटार, हात्तीगौडा, चपलिहाइट, टोखा, गोकर्ण, कलङ्की, सीतापाइला, चाल्नाखेल, नैकाप, सुन्दरीजल र ट्याङ्लाफाँट प्रभाग हुन् ।

यस्तै, महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका कार्यालयमा प्रहरी परिसर ललितपुर, वृत्त चापागाउँ, महानगरीय ट्राफिक प्रहरी सातदोबाटो, प्रहरी वृत्त सातदोबाटो, प्रहरी प्रभाग बाँडेगाउँ, मङ्गलबजार, सानेपा, पाटनढोका, पुलचोक, इमाडोल, ट्राफिक कार्यालय जावलाखेल, बल्खु, बुङ्गमतीमा छन् । सानेपा, लुभू र धापाखेलमा बिट गरेर १७ वटा प्रहरी कार्यालय छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका कार्यालयमा प्रहरी परिसर भक्तपुर, ठिमी र जगाती वित्त हुन् । दधिकोट, व्यासी, दरबार स्क्वायर, नगरकोट, सानोठिमी, कटुन्जे, दुवाकोट, सुडाल, खरिपाटी, सिरुटारमा प्रभाग छन् । चाँगुनारायणमा एक प्रहरी चौकी गरेर १४ वटा प्रहरी कार्यालय भक्तपुरमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?