logo
२०८० चैत्र १५ बिहीवार



जमुनाहा नाकाबाट जनशक्ति अभावमा परीक्षण विना नेपाल भित्रिँदै

विदेश |
राष्ट्रिय |


जमुनाहा नाकाबाट जनशक्ति अभावमा परीक्षण विना नेपाल भित्रिँदै
नाकामा रहेको हेल्थ डेस्कमा परीक्षण गराउनेको भीड । तस्विर - सिराज खान ।



सिराज खान
नेपालगञ्ज, पुस २६ गते । यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कमा जनशक्ति अभावका कारणले भारतबाट आउने अधिकांशको परीक्षण हुन सकिएको छैन ।
भारतबाट फर्किने नेपाली र काम विशेषले नेपाल आउने भारतीय नागरिकको कोरोना परीक्षणका लागि सञ्चालन गरिएको हेल्थ डेस्कमा १३ जना मात्र स्वास्थ्यकर्मी रहेको हुँदा अधिकांशको परीक्षण गर्न नसकिएको हो ।

दैनिक पाँच हजारमा आठ सयको मात्रै परीक्षण

अहिले रहेको जनशक्ति भन्दा दोब्बर जनशक्ति आवश्यक रहेको जनाउँदै हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले सोही कारणले अझै पनि धेरैजनाको परीक्षण गर्न नसकिएको बताउनुभयो ।
उहाँले भारतबाट दैनिक पाँच हजार भन्दा बढीको संख्यामा मानिसको आवागमन भैरहेकोमा बढीमा आठ सयको मात्रै परीक्षण गर्न सकिएकाले धेरै सङ्क्रमित परीक्षण विना नेपाल भित्रिरहेको आशङ्का व्यक्त गर्नुभयो ।

नेपालगञ्ज र रुपैडिहाका स्थानीय व्यक्तिहरुको हुलमा भारतका ठूला शहरबाट आउनेहरु समेत नेपाल भित्रिने गरेकाले पनि समस्या भैरहेको ज्ञवालीले बताउनुभयो । उहाँले पछिल्लो तीन दिन यता दैनिक ४० जनाको हाराहारीमा सङ्क्रमितहरु नाकामा भेटिन थालेको जनाउँदै यसले निकै गम्भीर सङ्केत गरिरहेको बताउनुभयो । अहिले भारतका विभिन्न ठूला शहरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यहाँबाट नेपालीहरु घर फर्किने क्रम बढेर गएको छ । ठूलो सङ्ख्यामा एकै पटक नाकामा पुग्दा हालको सुरक्षाकर्मी तथा स्वास्थ्य जनशक्तिले ती सबैको व्यवस्थापन र परीक्षण गर्न सक्ने अवस्था छैन ।

कोरोना परीक्षणमा ३९ जनामा सङ्क्रमण पुष्टि

यसैबीच, आइतबार भारतबाट आउनेहरु मध्ये ६७५ जनाको एन्टिजेनमार्फत् कोरोना परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको नाकाको हेल्थ डेस्कले जनाएको छ । यसअघि शनिबार ४६ जना र शुक्रबार ३७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार भने २७ जना सङ्क्रमित फेला परेका थिए । कोभिड महामारीको शुरूवात भएदेखि हालसम्म ५५५ जनामा जमुनाहा नाकामा कोभिड सङ्क्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?