logo
२०८१ बैशाख ८ शनिवार

  किन आत्महत्या गर्छन् सुरक्षा अधिकारी ?  



'संगठनमा कामको मूल्याङ्कन हुँदैन, परिवारबाट टाढा रहनु पर्छ'

मुख्य समाचार |
समाज |


'संगठनमा कामको मूल्याङ्कन हुँदैन,  परिवारबाट टाढा रहनु पर्छ'


काठमाडौं, पुस २२ गते । कानुन कार्यान्वयनमा पहरेदारी गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर, अपराध नियन्त्रण गर्ने प्रहरी संगठनभित्र कहिलेकाही नसोचिएका घटना हुन्छन् । नागरिकको सुरक्षामा खटिने प्रहरी संगठनभित्रका घटनाले नागरिकको सुरक्षा चासोमाथि नै गम्भीर प्रश्न उठ्ने गरेका छन् ।
...
रुपन्देहीको भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादवको आत्महत्या घटनाले प्रहरीको मानसिकता र नागरिकको सुरक्षामाथि प्रश्न उठेको छ । माघ १५ गते ५५ वर्ष उमेर हदका कारण अवकाश पाउने एसएसपी यादव राम्रो प्रहरी अधिकारीका रुपमा परिचित हुनुहुन्थ्यो । डीआईजी बढुवाको प्रमुख दाबेदार यादवले जीवनमा सयौँ घटना र दुर्घटनालाई नजिकबाट नियाल्दै अन्यायमा परेकालाई न्यायको निम्ति अदालतको ढोका पटकपटक ढकढक्याउनुभयो । तर, आफैंले भने आत्महत्याको बाटो रोज्नुभयो ।
...
मोरङको उर्लावारी घर भएर सुनसरी जिल्ला अदालतमा कार्यरत प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैँले बोकेको पेस्तोलले आफैंलाई गोली हान्नुभयो । २०७७ साल असार १६ गते गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्युभयो ।

प्रहरी भित्र देखिएका आत्महत्याका यी दुई प्रतिनिधि उदाहरण हुन् । समाजका विकृति, विसंगती र अपराधको अनुसन्धानमा खट्ने प्रहरी संगठन भित्रका यस्ता गम्भीर घटनाको भने प्रभावकारी अनुसन्धान हुन् सकेको छैन ।

आत्महत्या आफैँमा भयानाक सोच हो । मानिस किन आत्महत्या सोच्न पुग्छ ? प्रहरी संगठनमा तल्लो तहदेखि उच्च अधिकारीसम्मले किन आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ? यी गम्भीर प्रश्नमाथि अनुसन्धान आवश्यक देखिन्छ । जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी आत्महत्या आफैँमा भयानाक सोच भएको बताउनुहुन्छ । उहाँका अनुसार जीवनमा आइपर्ने समस्या समाधान गर्न नसक्दा मानिसले यस्तो बाटो रोज्ने गर्छन् । तर, समस्याको समाधान खोज्ने कोशिस नगर्नु गलत हुने उहाँको ठहर छ ।

‘आत्महत्या आर्थिक, सामाजिक, मानसिक र वंशाणुगत हुन्छ । यसको ठोस परिभाषा छैन । यो मानिसको व्यक्तिगत भावनाको कुरा हो,’ डा.मरासिनीले भन्नुभयो, ‘आत्महत्या कस्तो अवस्थामा हुन्छ भनेर भन्न सकिँदैन । सामान्यभन्दा सामान्य समस्याको समाधान गर्न नसक्दा अधिकांश आत्महत्याका घटना हुने गरेका छन् ।’

प्रहरी संगठनमा किन हुन्छ आत्महत्या ?
प्रहरी संगठनभित्र आत्महत्याका घटना हुनुका पछाडि थुप्रै कारण हुनसक्ने पूर्वडीआईजी हेमन्त मल्ल बताउनुहुन्छ । कानुन कार्यान्वयन गर्ने राज्यको एउटा ठूलो संगठनभित्र आत्महत्याका घटना पटकपटक हुनुलाई सामान्य मान्नु नहुने उहाँको भनाइ छ । प्रहरी संगठनभित्र हुने यस्ता घटनामा सरकार र कर्मचारी जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो ।

संगठनभित्र थुप्रै प्रकारकार असन्तुष्टि हुनसक्छन् । कामको मूल्यांकन र समस्याको समाधानमा माथिल्लो पदमा रहेका व्यक्तिले चासो नदिए चित्त दुख्नेक्रम सुरुहुन्छ । पूर्वडीआईजी मल्लका अनुसार त्यहीक्रम बढ्दै जाँदा डिप्रेसनको अवस्था सिर्जना हुन्छ । ‘प्रहरी संगठन राज्यको ठूलो निकाय हो । यसमा धेरै मेहनत गरेर जिम्मेवारी पूरा गर्नुपर्छ । प्रहरीमा कार्य दक्षता मूल्यांकन सबैभन्दा महत्वपूर्ण हुन्छ’, पूर्वडीआईजी मल्ल भन्नुहुन्छ, ‘तर, कहिलेकाही सही मूल्यांकन नहुँदा चित्त दुख्छ । चित्त दुख्दै जाँदा आफू काम गर्न लायक नभएको महसुस हुनसक्छ । त्यसले विस्तारै डिप्रेसनमा पुर्याउन सक्छ । जसले गर्दा उसलाई गलत निर्णय गर्न बाध्य पार्नसक्छ ।’

पूर्वडीआईजी हेमन्त मल्ल । तस्बिर फेसबुकबाट

पूर्वडीआईजी मल्लका अनुसार प्रहरीको पेशा एउटा बन्धन पनि हो । जसले परिवारसँग समय बिताउन र परिवारिक कार्यक्रममा सहभागी हुने मौका कहिल्यै प्राप्त गर्दैन । आफ्नो पारिवारिक र सामाजिक दायित्व पूरा गर्न नपाउँदासमेत चिन्ता बढ्ने र आत्महत्याको बाटोतिर धकेल्ने उहाँको भनाइ छ ।

मल्लका अनुसार प्रहरी कर्मचारी लामो समयसम्म परिवार भन्दा बाहिर बस्नुपर्ने बाध्यतामा हुन्छन् । लामो समयसम्म परिवारभन्दा टाढा हुँदा बाहिरी सम्बन्ध मजबुत बन्छन् । तिनै सम्बन्ध विस्तारै तनावको कारण बन्ने र त्यसले मृत्युसम्म पुर्याउनसक्ने उहाँले बताउनुभयो । यो विषयलाई सरकारले व्यवस्थापन गर्नुपर्ने र समययमा बिदा दिनुपर्ने उहाँको भनाइ छ ।

यसका लागि सकेसम्म सरकारले मिलाउने कुराहरु रहेकाले त्यसका लागि सरकार व्यवस्थापनमा चुक्ने गरेको उहाँले अरोप लगाउनुभयो । ‘प्रहरी कर्मचारी लामो समयसम्म परिवारदेखि टाढा बस्नुपर्छ । बाहिर बस्दा त्यहाँ फरकफरक खालका सम्बन्ध बढ्छन् । त्यही सम्बन्ध विस्तारै तनावको कारण बन्छन् र आत्महत्यासम्म पुर्याउन सक्छन्’, पूर्वडीआईजी मल्ल भन्नुहुन्छ, ‘यो विष्यमा सरकार गम्भीर नभए प्रहरी संगठनको समस्या समाधान हुन सक्दैन । यसका लागि समय समयमा परिवारसँग बस्ने प्रबन्ध गर्नुपर्छ ।’

यता महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङ प्रहरी संगठनभित्र हुने आत्महत्यामा प्रहरी संगठनको कुनै सम्बन्ध नरहेको बताउनुहुन्छ । उहाँ आत्महत्यामा संगठनको नभएर नितान्त व्यक्तिगत कारण भएको बताउनुहुन्छ । ‘प्रहरी संगठनभित्र आत्महत्याका एक–दुई वटा केश हुन् । काठमाडौं उपत्यकालाई मात्र हेर्ने हो भने दैनिक चार–पाँच वटा आत्महत्याको घटना हुन्छन्’, खापुङ भन्नुहुन्छ, ‘प्रहरी पनि मानिस हो । उसका पनि व्यक्तिगत कुरा हुन्छन् । प्रहरी संगठनभित्र हुने आत्महत्याका घटना नितान्त व्यक्तिगत हुन् ।’

समाधान के ?
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालकी मनोविद् डा. सजिता पौडेलका अनुसार सानोतिनो कुरामा आवेगमा आउने असफलता, आर्थिक क्षतिले एकाएक एकदम निराश हुने व्यक्तिले आत्महत्या गर्ने सम्भावना हुन्छ ।

आत्महत्या एक जटिल मनोसामाजिक समस्या भएकाले सबैभन्दा पहिले घर परिवारका मानिसले त्यसको पीडाबारे थाहा पाउनुपर्ने उहाँको भनाइ छ । ‘मानसिक पीडाको कारण घर परिवारका सदस्यले थाहा पाउनुपर्छ । पीडाको कारण समयमै पत्ता लगाउन सकेमा कुनै पनि मानिसलाई आत्महत्या गर्नबाट रोक्न सकिन्छ’, डा. पौडेल भन्नुहुन्छ, ‘यो कुनै रोग होइन, अत्याधिक तनावको कारण मानिस डिप्रेसनमा पर्ने र त्यसैको कारण आत्महत्या गर्ने स्थिति बन्छ ।’ प्रहरी संगठनमा हुने आत्महत्याका घटनालाई पनि उहाँले डिप्रेसनपछिको परिणामको रुपमा हेर्नुभएको छ । यसका लागि संगठनभित्र उनीहरुको कुरा सुन्ने वातावरण बन्नुपर्नेमा उहाँको जोड छ ।

प्रहरीको तथ्यांकमा १४ देखि ४४ वर्ष उमेरका मानिसले आत्महत्या धेरै गरेको देखिएको छ । नेपालमा प्रत्येक दिन ७ देखि १० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । जसमा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाकै संख्या बढी देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?