logo
२०८१ बैशाख ८ शनिवार



ग्रामीण सडक खुल्न नसक्दा स्थानीयलाई समस्या

खुला |
प्रदेश |


ग्रामीण सडक खुल्न नसक्दा स्थानीयलाई समस्या


हिक्मत सिंह
डडेल्धुरा, मङ्सिर १३ गते । गत कात्तिक पहिलो साता आएको अविरल वर्षासँगै अवरुद्ध भएको डडेल्धुरा जिल्लाको अधिकांश ग्रामीण सडक अहिले ठप्प छन् । पहिरो खसेर अवरुद्ध आन्तरिक सडकहरू खुलाउन अझै पहल भएको छैन ।

सडक नखुल्दा जिल्लाको नवदुर्गा गाउँपालिका –५ ठाटा चामाचौड, बेलापुर सिरौल, गन्यापधुरा गाउँपालिका – ३ सकायल गन्याप सडक, परशुराम नगरपालिका –७ साँदनी बसेनी सडकलगायतका स्थानमा सवारी साधन चल्न सकेका छैनन् । यातायात रोकिँदा कृषिउपज तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको छ ।

सडक अवरुद्ध भएपछि स्थानीय जनतालाई स्वास्थ्य उपचार र खाद्यजन्य सामग्रीका लागी समस्या भएको नेपाली काँग्रेस नवदुर्गााका सभापति भोजराज भट्टले बताउनुभयो । स्थानीयस्तरमा उत्पादित तरकारीलगायत खाद्यवस्तु बजार पुगाउन नसक्दा कुहिन थालेको गुनासो नवदुर्गा गाउँपालिकाका स्थानीय डम्बर लुहारले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा गाउँमा खाद्यन्न महँगिएको स्थानीय टेकबहादुर शाहीले बताउनुभयो । वर्षाले ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएकाले मुख्य सडकखण्ड सञ्चालनमा ल्याएको नवदुर्गा गाउँपालिका डडेल्धुराका अध्यक्ष कबिन्द्र बिष्टले बताउनुभयो ।

प्राथमिकताका आधारमा सबै सडकहरु सुचारु हुन्छन्, अध्यक्ष बिष्टले भन्नुभयो । ‘गाउँमा पुग्ने सडक मर्मत नहुँदा आवश्यक सामान किनमेल गर्न समस्या भएको छ ।’ उहाँले भन्नुभयो, ‘तत्काल सडक मर्मत गरी सुचारु गर्न काम अगाडि बढाइएको छ ।’

गाउँमा गरिने कुलो निर्माण, खानेपानी मर्मत तथा अन्य विकासका लागि हार्डवयरका सामान ढुवानीमा कठिनाइ भएको परशुराम नगरपालिका –७ का स्थानिय जनक बमले बताउनुभयो । सडक अवरुद्ध भएसँगै भौतिक पूर्वाधारका योजना अलपत्र परेकाले विस्तारै समस्या समाधान हुँदैजाने गन्यापधुरा गाउँपालिका डडेल्धुराका अध्यक्ष नवल मल्लले बताउनुभयो । सडक र खानेपानी मुख्य समस्या रहेकाले पालिकाले प्राथमिकताका साथ योजना निर्माण गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?