logo
२०८१ बैशाख ७ शुक्रवार



निर्मला कुर्मीको मृत्यु प्रमाणपत्र र तस्विर भेटिएपछि रहस्यमय बन्यो घटना

विदेश |
खुला |
समाज |


निर्मला कुर्मीको मृत्यु प्रमाणपत्र र तस्विर भेटिएपछि रहस्यमय बन्यो घटना
भारतबाट प्राप्त भएको मृत्यु दर्ताको प्रमाणपत्र, र निर्मलाको मृत्युको तस्विर



सिराज खान
नेपालगञ्ज, कात्तिक २४ गते । करोडौंको जग्गा हडप्नका लागि बेपत्ता पारिएको बताइएकी नेपालगञ्ज–१७, परसपुरकी निर्मला कुर्मीको मृत्यु प्रमाणपत्र र मृत्युको तस्विर प्रहरीलाई प्राप्त भएपछि सो घटना झन् रहस्यमय बनेको छ । निर्मलाले भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेकी र उहाँको भारतमा नै मृत्यु भएको प्रमाण प्रहरीलाई प्राप्त भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ ।

प्रहरीलाई भारत नानपारा तहसिलको बलहाबाट जारी गरिएको निर्मलाको मृत्यु दर्ता प्रमाणपत्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले मृत्यु भएको तस्विर पनि प्राप्त भएको बताउनुभयो ।

निर्मलाको मृत्यु भारत नानपारा जगन्नाथपुरको बलहामा भएको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले नेपाल प्रहरीलाई पठाएका छन् । उक्त कागजात अनुसार, निर्मलाको मृत्यु वि.सं. २०७६ चैत १४ मा भएको देखिन्छ । निर्मलाले भारतीय नागरिकसँग २०६९/७० सालमा नै विवाह गरेको पाइएको प्रहरीले जनाएको छ । उहाँको विवाहको तस्विर, प्रमाणित मृत्युदर्ता, भारतीय आधारकार्ड समेत प्रहरीले संकलन गरेको छ । प्रहरीले भारतमा निर्मलाले दोस्रो विवाह गरेको र मृत्यु भएको कागजात अब अदालत पु¥याउने भएको छ ।

निर्मलाका श्रीमान् अर्जुनले पनि निर्मलाको मृत्यु कालगतिले भएको बयान दिएको जानकारी प्राप्त भएको डीएसपी न्यौपानेले बताउनुभयो । तर, निर्मलाले सम्पत्ति हडप्ने तथा आफ्नो ज्यानकै असुरक्षा महसुस गरेर नेपाल मुस्लिम चेतना विकास केन्द्रमा २०६६ सालमा नै निवेदन दिएको केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान बताउनुहुन्छ । उहाँका अनुसार पूर्वगाविस अध्यक्ष तथा संविधानसभाका सदस्य बादशाह कुर्मीले सोही बेला निर्मलालाई जबर्जस्ती आफ्नो घर लगेको र अर्को दिन प्रहरीले उद्दार गरेको थियो ।

महिला अधिकार मञ्चले गत वर्ष मंसिर १६ गते निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको आठजनालाई किटानी जाहेरी दिएको थियो । सुरुमा दर्ता नभएको जाहेरी सरकारी वकिल कार्यालयमार्फत् दर्ता भएको थियो । अहिले आएर उनै आठजनालाई नै कानुनको दायरामा ल्याइएको छ ।
निर्मलाका श्रीमान्को ०६२ सालमै मृत्यु भएको थियो । उनका दुई छोराको पनि १५ दिनको फरकमा भएको मृत्यु रहस्यमय नै छ । तर, ती दुई छोराको मृत्युको रेकर्ड प्रहरीमा छैन ।

महिला अधिकारकर्मी रुबी खानले भारतबाट प्राप्त भएका कागजपत्रहरुको वैधानिकता छानविन गरिनुपर्ने बताउनुहुन्छ । संविधानसभाका सदस्य कुर्मीले भने आफूले निर्मलाको जग्गा संरक्षण गर्न खोजेको जनाउँदै जग्गा नाममा गराउनेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुहन्छ । सो घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनले आठजनालाई पक्राउ गरी तत्काल अनुसन्धान गर्न सिफारिस गरेकाले अहिले छ जनालाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । तर, अझै पनि मुख्य दोषीलाई कानुनी दायरामा ल्याउन नखोजिएको आरोप अधिकारकर्मीले लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?