logo
२०८० चैत्र १६ शुक्रवार



तेस्राे विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

विदेश |
स्वास्थ्य |


तेस्राे विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न
लण्डनस्थित नेपाली राजदूतावासमा सम्मेलनको उदघाटन गरिदै


लण्डन, असोज ४ गते । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्राे विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
घोषणापत्रमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र नेपाली नागरिकको प्रसंशा गरिएको छ ।
घोषणापत्रमा नेपालीलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हरेकको महत्वपूर्ण भूमिका रहेको भन्दै सहयोगको प्रतिबद्धता जाहेर गरिएको छ । सम्मेलनले संसारभरी रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सिप, अनुभव एवं सम्पर्क सञ्जाल नेपालको विकासमा उपयोग गर्न नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ ।
समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, दक्षिण कोरियाका डा. देवी बस्नेतलगायतले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताउनुभएको थियो ।
शनिबार लण्डनस्थित नेपाली दूतावासबाट शुरु गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नुका साथै ५० भन्दा बढी कार्यशाला सञ्चालन भएका थिए । नेपालबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तथा लण्डनमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले संयुक्तरुपमा सम्मेलनको उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपालका लागि संयुतm अधिराज्यकी राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, नेपाल नर्सिङ्ग सङ्घकी अध्यक्ष प्रा.मनकुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि लगायतले शुभकामना दिनुभएको थियो ।
एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाले नेपाल बाहिर आयोजना गरिएको यो स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो सम्मेलन भएको जानकारी दिनुभयो । उहाँले महामारीको समयमा नेपालीको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित रहेको बताउनुभयो । सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा. पदम सिम्खडा तथा डा. बोधराज सुवेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?